बिशेस समाचार

जनयुद्ध नभएको भए केपी ओली-शेरबहादुर देउवाहरु आज के गर्दैहुन्थे होलान् ?

मानिस स्वतन्त्र हुन चाहन्छ । स्वतन्त्रताको प्रारम्भिक सर्त हो शान्ति । त्यसैले कुनै मानिस सामान्यतया युद्ध चाहदैन । युद्ध भैहाल्यो भने उ सबभन्दा पहिला आफू बाँच्ने उपाय खोज्छ । औसत मान्छे लाशहरुको बिचमा उभिदा पनि उ आफू मरेको या मर्ने कल्पना गर्न चाहदैन । मृत्युको सर्त तेर्साएर कसैलाई अन्तिम इच्छा सोधियो भने उसले क्षणिक भए पनि जीवन रोज्छ । तर कुनै बेला मान्छे युद्ध गर्न र मर्न तयार हुन्छ । मरिन्छ भन्ने अनुमान र निश्चित प्रायः हुदाहुदै पनि उ युद्धमा सामेल हुन तयार हुन्छ । जब मान्छेले आफ्नो मृत्युमा समाजको जीवन देख्छ, देशको भबिस्य देख्छ, उ बलिदानका निम्ति तयार हुन्छ । २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सुरु गेरेको जनयुद्धमा नेपाली आमाका कैयौं छोराछोरी मर्न तयार भए ।

जनयुद्धको दुरबिनबाट क्षितिजपारिको सुन्दर समाजको चित्र देखाइएको थियो । सुन्दर समाज र समृद्ध राष्ट्र निर्माणका भनेर दशौ हजार मान्छेहरु जनयुद्धमा लामबद्ध भए । पुर्बका राई लिम्बुले जनयुद्धमा आफ्नो अधिकार प्राप्ति हुने अपेक्षा गरे । कर्णालीका दलितले जनयुद्धमा आफ्नो मुक्ति देखे । रोल्पा-रुकुमका मगरले माओवादीलाई आफ्नो वास्तविक प्रतिनिधि ठाने । बाँके-बर्दियाका थारुले जनयुद्धमार्फत आफ्नो गुमेको अधिकार फिर्ता लिने अठोट गरे । लमजुङका गुरुङले जनयुद्धभित्र तमुवानको सपना बुने । चितवनका चेपाङले जनयुद्ध आफ्नै लागि हो भन्ने सोचे । मधेसका मुसहरले जनयुद्धले आफुलाई सामाजिक प्रतिष्ठा र आत्मसम्मान उपलब्ध गराउने आश गरे । सुदुर पश्चिमले काठमाडौसंगको दुरि जनयुद्धले कम गर्ने आँकलन गर्‍यो । काठमाडौका नेवारले जनयुद्धले सामाजिक सांस्कृतिक जागरण पैदा गर्ने अपेक्षा गरे । काठमाडौ वरिपरि छरिएका तामाङले बिभेदकारी काठमाडौ विरुद्ध घेरा हाल्ने अवसरका रुपमा जनयुद्धलाई ग्रहण गरे । समग्रमा राज्यबाट सीमान्तकृत बर्ग, समुदाय र क्षेत्रले राज्यको मुल प्रवाहमा आफ्नो उपस्थितिका निम्ति जनयुद्धमा सहभागीता जनाए ।

सरकारको सुरक्षा बिश्लेषण, संसदबादी दलहरुको आकलन र दरबारको नजरअन्दाज बिपरित जनयुद्ध तिब्र रफ्तारमा अगाडि बढ्यो । तत्कालीन हिसाबमा नेतृत्वको सबलता, कार्यकर्ताको बलिदान र जनताको समर्थनले छोटो अवधीमै जनयुद्ध तिब्रमा बिस्तार हुन पुग्यो । नेपाल प्रहरी सदरमुकाममा कैद हुनुपर्ने, शाहि नेपाली सेना आफ्नो ब्यारेकमा सिमित हुनुपर्ने परिस्थिति सिर्जना भयो । सारा सरकारी संयन्त्र आफ्नो सुरक्षाको बन्दोबस्तमा जुट्नुपर्ने बाध्यता उत्पन्न भयो । मन्त्रीहरु काठमाडौको रिङ रोड क्रस गरेर बाहिर निस्किन नसक्ने अवस्था बनिसकेको थियो । माओवादी बिचार र राजनीतिसंग सहमत नजनाउने, जनयुद्धको उठान र अपरिहार्यलाई स्वीकार नगर्ने मिडियाले पनि लेखे कि तीन चौथाई भुभाग माओवादीको नियन्त्रणमा छ भनेर ।

जनयुद्धको बलमा पछिल्लो दुई दशकमा देशमा ठुल्ठुला राजनीतिक परिवर्तन भए । अढाई सय बर्षदेखी चलिरहेको सामन्ती राजतन्त्रको अन्त्य भएर देश गणतान्त्रिक युगमा प्रवेश गरेको छ । एकात्मक केन्द्रीकृत शासन प्रणालीको विकल्पमा संघीय संरचनामा जादैछ । राज्यका विभिन्न अंग र निकायमा समानुपातिक प्रतिनिधित्वको कम्तिमा संबैधानिक सुनिश्चितता भएको छ । समावेशीकरणको सवाल आज आम बनेको छ । अझ सबैभन्दा महत्त्वपूर्ण कुरा राजनीतिक जागरण र सामाजिक चेतनाको स्तर अभुतपुर्व रुपमा माथी उठेको छ । एउटा सामान्य किसान आफ्नो अधिकार बारे जानकार र जागरुक भएको छ । एउटा मजदुर आफ्नो अधिकारको निम्ति बोल्न सक्ने भएको छ । एउटा सुकुम्बासीले यो राज्यमा आफ्नो पनि हक हुन्छ भन्ने कुरा बुझ्न सक्ने भएको छ । एउटा महिलालाई घर, समाज, कार्यालयदेखि सिंहदरबारसम्म आफुलाई प्राप्त अधिकारको सुची थाहा छ । एउटा मधेसीले आफुलाई काठमाडौको जत्तिकै नेपाली नागरिक भएको महसुस गर्ने परिस्थिति बन्दैछ । कुनै जनजातिले सिमित भएपनि राज्यका निकायहरुमा आफ्नो प्रतिनिधित्व देख्न थालेको छ । कुनै नागरिक आफ्नो अधिकारबारे जानकार र सचेत भएको छ । साथै अधिकार कटौती हुँदा त्यसको विरुद्धमा बोल्न र लड्न सक्ने ठाउँमा उसको चेतनाको स्तर उठेको छ । वास्तवमा यी सबै जनयुद्धका उपलब्धि हुन् ।

जनयुद्धले गाउँबस्ती, समाज, तराई, पहाड, हिमाल, पुर्वपश्चिम सबैतिर परिवर्तन ल्यायो तर सिंहदरबार बदल्न सकेन । जनयुद्ध सुरु गर्नेबेलामा सिंहदरबारको कमान्ड समालेर बसेका शेरबहादुर देउवा घुमिफिरी आज पनि त्यही कुर्सीमा छन् । जनयुद्ध र माओवादीको सबैभन्दा बढ्ता बिरोध गर्ने केपि ओलि आज सिंहदरबारको टिकट लिएर बसेका छन् । अझ अनौठो कुरा त देउवा र ओलि जहाँ छन्, त्यही जनयुद्धका सर्बोच्च कमान्डर प्रचण्डको समर्थनमा त्यहाँ पुगेका छन् । जसको बेवास्ताका कारण जनयुद्ध गर्नुपर्यो, जसको सरकारले यो देशमा संकटकाल घोषणा गरेर मान्छे मार्ने अभियान तिब्र पार्यो, जसका कारण देश प्रतिगमनमा धकेलियो उसैलाई प्रधानमन्त्री बनाउन प्रचण्ड लागिपरे । प्रधानमन्त्रीले बिभागिय जिम्मेवारीबाट हटाइसकेको, प्रमुख प्रतिपक्षसंग तालमेल हुँदै पार्टी एकताको निकट पुग्दा पनि बिना बिभागीय सरकारी जागिरको लोभमा सरकारी झन्डा फहराइरहने कुराले प्रष्ट हुन्छ कि माकेको राजनीतिक नैतिकता कुन हदसम्म गिरिसकेको छ भन्ने कुरा ।

त्यस्तो केही नाटकीय परिवर्तन भएन भने अबको केही दिनमा प्रचण्डको प्रस्तावमा केपि ओलि प्रधानमन्त्री बन्दैछन् । र जनयुद्धबाटै आएको एउटा शक्ति माके राजनीतिक र सांगठनिक रुपमा एमालेमा बिलय हुदैछ । यो समग्र जनयुद्ध, जनयुद्धका सहिद, बेपत्ता योद्धाको अपमान हो । प्रचण्ड यसरी लागिपरेका छन् कि जनयुद्धको प्रमुख ध्यय नै केपी ओलिलाई प्रधानमन्त्री बनाउनु थियो । यदि जनयुद्ध नभएको भए आज देउवा र ओलि के यसैगरी सिंहदरबारको एक्सचेञ्ज यात्राको तयारी हुन्थे होला त ? जनयुद्ध, दशौं हजारको बलिदानबाट ल्याइएको गणतन्त्रमा आज पनि शेरबहादुर देउवा र केपी ओलिको राज चलिरहेको छ । जनयुद्धका प्रमुख नेताहरु नै त्यसको मतियार बनिराखेका छन् ।

जनयुद्धको उपलब्धिको रुपमा आएको समानुपातिक निर्वाचनमार्फत शेरबहादुर देउवाले आफ्नी श्रीमतीलाई दुई दुइपटक सभासद बनाए । जनमुक्ति सेनाको बिरताबाट आएको गणतान्त्रिक नेपालको रास्ट्रपतिजस्तो सम्मानित पदमा कुनै अमुक पात्रलाई दोहोर्याउने अभ्यासमा लागिपरेका छन् तिनै केपि ओलि जसले सधैंभरी जनमुक्ति सेनाको अपमान गरिरहे । यदि गणतन्त्रसम्मको यात्रा तय हुनेगरी जनयुद्ध नभएको भए आज पनि कांग्रेस एमालेका नेताहरु राजाको आशीर्वाद थाप्न नारायणहिटीको गेटमा लाइन बसिरहेका हुन्थे होला । मन्त्री प्रधानमन्त्री बन्नका लागि उत्कृष्ट निवेदन लेख्ने प्रतिस्पर्धा चलिरहेको हुन्थ्यो होला । कैयौं नेताहरु हिरासतमै चिसो रात काटिरहेका हुन्थे होलान् । त्यही पंक्तिमा हुन्थे होला कतै देउवा र ओलि पनि । सिंहदरबार छिर्ने पासका लागि निवेदन लेख्दै हुन्थे या जेलको चिसो भुइँमा बिपि कोइराला र मदन भण्डारीका रचना पढ्दै हुन्थे होलान् ।

आज माओवादीलाई गाली गर्ने पत्रकार र अधिकारकर्मिको बोल्ने अधिकारमाथी भद्रकालीले सेन्सर लगाएको हुन्थ्यो होला । जनयुद्धमा सहभागीता जनाउनेहरुलाई लोकतन्त्रको पाठ पढाउन खोज्नेहरुको कलम भाचिएको हुन्थ्यो होला । गणतान्त्रिक नेपालको टाकुरोमा पुग्ने रामबरण यादव हुन् या बिद्या भण्डारी, नेपालको इतिहासमा पहिलो भनेर कीर्तिमान राख्ने उच्चपदस्थ अन्य कुनै महिला, दलित, जनजाति हुन् या नारायणहिटी संग्राहलय छिर्ने सामान्य नागरिक । यि सबैले प्राप्त गरेको अवसर जनयुद्धकै उपलब्धि हो भन्ने कुरामा कुनै दुबिधामा पर्नु र पार्नुहुदैन ।

जनयुद्धमार्फत जनताले गरेको अभुतपुर्व लगानीको प्रतिफलमा जे अपेक्षा थियो, जे आश्वासन दिइएको थियो, त्यसमा ठूलो धोकाधडी र गद्दारी भएको नेतृत्वपंक्तिबाट । जनयुद्धमा आफ्नो ज्यानको प्रबाह नगरी लडेका योद्धाहरु आज खाडीमा पसिना बगाइराखेका छन् । सहिद परिवार र घाइतेहरुको अवस्था दयनीय छ । प्रचण्ड बाबुराम भट्टराई लगायत दर्जनौं नेताहरु मन्त्री, प्रधानमन्त्री बने, तर कैयौं घाइतेहरुको शरीरमा आज पनि गोलि छन् । बेपत्ता पारिएका छोराछोरी फर्किएर आउने आशामै कैयौं आमाबाबुको निधन भैसक्यो । सुकुम्बासी बस्ती आतंकित र असुरक्षित बनेका छन् । युवाहरुले बिदेशिनु बाहेक अर्को विकल्प देख्न छोडेका छन् । जनयुद्ध लडेको आरोपमा बालकृष्ण ढुंगेलहरु जेल चलान भएका छन् । यी सबै विद्यमान राजनीतिको असफलताका संकेत हुन् ।

अन्त्यमा, फर्किएर हेर्दा आज यो भन्न सकिन्छ कि जनयुद्ध अपरिहार्य, सान्दर्भिक र एउटा राजनीतिक आन्दोलन थियो । जनयुद्ध नेपाली सापेक्षमा सफल पनि भयो । जनताले आत्मीयतापुर्वक समर्थन गरे, कार्यकर्ताले गौरवसाथ बलिदान गरे । तर एकथरी नेताहरूले धोका दिए, आफ्नो ब्यक्तिगत स्वार्थका निम्ति जनयुद्धका मूल्य, मान्यता, मार्गदर्शन, आदर्श र उपलब्धि बेचे । जनयुद्धलाई सत्तामा पुग्ने भर्याङ् बनाउने प्रयत्न गरे । समय रोकिदैन र पछि पनि फर्किदैन । त्यसैले पछाडिको बारेमा धेरै समिक्षा गर्ने भन्दा पनि अगाडिको बाटोको नविनता, सत्यता र सम्भावनाबारे अध्ययन र अन्वेषण गर्न जरुरी छ । आज प्रचण्ड भागेर एमालेमा पुगे पनि, बाबुराम भट्टराईले लेख लेखेर माफी मागे पनि, कृष्ण पहाडीहरुले जति गाली गरे पनि जनयुद्ध अराजनीतिक, अपाराधिकरण र अनावश्यक ठहरिदैन । जनयुद्धमार्फत नेपाली जनताले व्यक्त गरेका कैयौं एजेन्डाहरु आज पनि अपुरा छन् । यात्रामा केही बिचलन, धोकाधडी, अबिस्वास र पलायन देखा परे पनि समाज रुपान्तरण हुँदै बैज्ञानिक समाजबादसम्म्को यात्रा सुन्दर, सम्भव र अवश्यम्भावी छ । त्यसैको निम्ति निरन्तर अघि बढ्ने अठोट गरौं । २३ औं जनयुद्ध दिवसको हार्दिक शुभकामना !

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations