बिशेस समाचार

स्टालिन र माओबीचको अन्तिम भेटवार्ता

International       ,

जनवादी गणतन्त्र चीनको केन्द्रीय जनसरकारका अध्यक्ष माओ त्से तुङ सन् १९५० को जनवरीमा सोभियत सङ्घको राजधानी मस्को पुग्नुभयो । सोभियत सङ्घमा माओको यो दोस्रो भ्रमण थियो । सो क्रममा सन् १९५० जनवरी २२ को दिन माओले सोभियत सङ्घका राष्ट्रप्रमुख जेभी स्तालिनसँग भेट गर्नुभएको थियो । यो भेटवार्तालार्इ रूसी भाषाबाट अंग्रेजीमा माइकल शातुरिनले अनुवाद गरेका थिए । अंग्रेजीलार्इ भक्तपुर मासिकका लागि नेपालीमा सुमनले अनुवाद गरेका हुन् ।

सो क्रममा दुई नेता तथा साथमा रहेका सोभियत तथा चिनियाँ नेताहरुबीचको छलफलको सार–संक्षेप प्रस्तुत छः

औपचारिक स्वागत र धन्यवाद आदानप्रदान तथा सामान्य विषयको संक्षिप्त कुराकानीपश्चात निम्नानुसारको संवाद भयो
स्तालिनः हामीले छलफल गर्नुपर्ने दुई समूह विषय छन्ः पहिलो, सोभियत सङ्घ र चीनबीचको विद्यमान सहमतिहरु र अर्को विषय मञ्चुरिया, सिनकाङ आदि स्थानको वर्तमान अवस्थाबारे ।

मेरो विचारमा हाम्रो कुराकानी समसामयिक विषयबाट भन्दा पहिले विद्यमान सहमतिको विषयमा आरम्भ गर्नु उपयुक्त होला । दुई देशबीचको सहमतिलाई अहिले जस्तो छ, उस्तै राख्नु उचित हुने हाम्रो विचार थियो । तर अहिले त्यसमा परिवर्तन गर्नु ठीक होला भन्ने हाम्रो धारणा छ । दुई पक्षीय सन्धिसहित ती सहमतिहरुमा परिवर्तन गर्नुपर्छ किनभने ती सहमतिहरु सबै जापानविरोधी युद्धको परिस्थितिमा भएका थिए । अहिले युद्ध पनि सकिएको छ र जापान पराजीत भइसकेको छ । परिस्थिति बद्लिएको छ । तसर्थ विद्यमान सन्धि असान्दर्भिक भएको छ ।
मैत्री तथा एकता सन्धिबारे तपाईका धारणा राख्न अनुरोध गर्दछु ।

माओः नयाँ सन्धिबारे अझै पनि हामीसँग बिस्तृत योजना बनिसकेको छैन । तर हामीसँग सामान्य खेस्रा भने छ ।

स्तालिनः शुरुमा हामी एकआपसमा विचार आदानप्रदान गर्नसक्छौं र त्यसैको आधारमा सन्धि तयार पार्न सक्छौं ।

माओः हाम्रो विचारमा हामीले वर्तमान अवस्थामा आधारित रहेर सहमति र सन्धिहरुमार्फत हाम्रो सहकार्यलाई अझ बलियो बनाउनुपर्दछ । त्यसो गरे चीन र साथै अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्दछ । मैत्री र एकता सन्धिमा दुवै देशको समृद्धि सुनिश्चित गर्ने सबै कुरालाई समावेश गर्नुपर्दछ । साथै जापानले फेरि फेरि पनि गर्न सक्ने हमलाका सबै सम्भावनाको ढोका बन्द गर्नुपर्दछ । हामी दुवै देशको चासो समृद्धि भएका कारण पूँजीवादी देशहरुले यसलाई रोक्न हरेक प्रयास गर्ने सम्भावना छ ।
स्तालिनः ठीक हो । जापानसँग अझै पनि मानवीय स्रोत छ र यदि अमेरिकीहरु उनीहरुको वर्तमान राजनीतिसँग लय मिलाउन पुगे जापानीहरुले पक्का पनि आफ्नो शीर उठाउनेछन् ।
माओः दुई वटा विषयले विद्यमान सन्धि र नयाँ सन्धिबीच तात्विक भिन्न ल्याउनेछ । कोमिङताङहरु मित्रताको कुरा मात्र गर्थे । आज परिस्थिति बद्लिएको छ । आज साँचो मित्रता र सहकार्यको लागि आवश्यक सबै अवस्था विद्यमान छन् ।

त्यसको अतिरिक्त पहिले हामीले जापानविरोधी युद्धको लागि सहमति गरेका थियौं भने अहिले जापानी हमला रोक्न हामीले सहमति गर्नुपर्ने अवस्था छ । नयाँ सन्धिमा राजनीतिक, आर्थिक, साँस्कृतिक र सैनिक सहकार्यका कुरा उल्लेख गर्नुपर्नेछ । आर्थिक सहकार्य नै मुख्य विषय हुनुपर्दछ ।

स्तालिनः विद्यमान सन्धिको तेस्रो धारामा उल्लेख भएको वाक्यलाई हामीले नयाँ सन्धिमा राख्नु उपयुक्त होला कि नहोला रु धारामा लेखिएको छ ‘‘जापानबाट भविष्यमा हुन सक्ने हमला रोक्ने विषयलाई यो सहमतिका दुवै उच्च पक्षले संरा सङ्घको हातमा छोड्ने अवस्थासम्म यो बुँदा प्रभावी रहनेछ ।’

माओः मेरो विचारमा हामीले यो धारा राख्नु उचित हुन्न ।

स्तालिनः हामीलाई पनि त्यही लाग्छ । त्यसो भए नयाँ सन्धिमा कस्ता वाक्य राख्दा उपयुक्त होला त ?

माओः हाम्रो विचारमा नयाँ सन्धिमा अन्तर्राष्ट्रिय सल्लाह लिने भन्ने वाक्य समावेश गर्नु ठीक हुनेछ । त्यो वाक्यले हाम्रो अवस्था बलियो बनाउनेछ किनभने चिनियाँ पूँजीपति वर्गले अन्तर्राष्ट्रिय सम्बन्धको प्रश्नमा सोभियत सङ्घसँग नजिक हुने राजनीतिप्रति आपत्ति जनाउँदै आएका छन् ।

स्तालिनः ठीक छ । मैत्री तथा एकता सन्धिको लागि यस्तै प्रकारको वाक्य आवश्यक हुन्छ ।

माओः सही हो ।

स्तालिनः सन्धिको बिस्तृत खाका तयार गर्न हामीले कसलाई जिम्मेवारी दिनु उपयुक्त होला रु मेरो विचारमा हामीले भिशिन्स्की र चाओ एन लाई जिम्मेवारी दिनु ठीक हुनेछ ।

माओः त्यसमा मेरो सहमति छ ।

स्तालिनः अब चिनियाँ पूर्वी रेलमार्गको विषयमा कुराकानी गरौं । यो विषयमा तपाईको विचार के छ रु

माओः चिनियाँ पूर्वी रेलमार्गको विषयमा र पोर्ट अर्थर सहमतिको सन्दर्भमा आधारको रुपमा पहिलेका सहमतिलाई सैद्धान्तिक रुपमा उस्तै राखेर व्यवहारमा परिवर्तन गर्नु उपयुक्त हुन्छ कि ?
स्तालिनः त्यसो भए तपाई पहिलेका सहमतिहरुलाई सैद्धान्तिक रुपमा परिवर्तन नगरी व्यवहारमा परिवर्तन गर्ने गरी जोगाउने पक्षमा हुनुहुन्छ ?

माओः हामीले दुवै पक्ष चीन र सोभियत सङ्घको हित हुने अवस्थाबाट शुरु गर्नु ठीक हुनेछ ।

स्तालिनः ठीक हो । पोर्ट अर्थर सहमति समान नभएको हामीले महसुस गरेका छौं ।

माओः तर यो सहमतिमा परिवर्तन गर्दा याल्टा सम्मेलनका निर्णयमा असर पर्ने हुन्छ ।

स्तालिनः सही हो, त्यसले असर गर्छ । तर त्यसको के मतलब भयो र १ एक पटक हामीले सहमतिमा परिवर्तन गर्ने निर्णय गरे पछि त्यसलाई अन्तिम निष्कर्षसम्म पु¥याउनुपर्दछ । त्यसो गर्दा हामीलाई केही असजिलो त ल्याउने हो र साथै हामीले अमेरिकीहरुको सामना गर्नुपर्ने हुन्छ । तर हामी यसको निम्ति अभ्यस्त भइसकेका छौं ।

माओः हाम्रो एउटै चासोको विषय भनेको त्यसले सोभियत सङ्घका लागि अनपेक्षित परिणाम निम्त्याउने हो कि भन्ने हो ।
स्तालिनः विद्यमान सहमति जापानसँगको युद्धका क्रममा भएको कुरा सर्वविदित कुरा हो । च्याङ काई शेकले कस्तो चालबाजी खेल्ने हो, हामीलाई थाहा छैन । पोर्ट अर्थरमा तैनाथ हाम्रो फौज सोभियत सङ्घ र चिनियाँ प्रजातन्त्रको लागि हितकारी छ भन्ने हाम्रो बुझाई हो ।

माओः कुरा त प्रष्टै छ नि ।

स्तालिनः त्यसो भए, त्यसलाई यसरी राख्दा कसो होलाः जापानसँग शान्ति सहमति नहुञ्जेल र पोर्ट अर्थरबाट त्यसपश्चात रुसी सेना फिर्ता नभएसम्म पोर्ट अर्थरको सहमति प्रभावी रहनेछ । यसलाई अर्को तरिकाबाट पनि लेख्न सकिन्छः पहिलेको सहमति प्रभावी रहनेछ तर व्यवहारमा पोेर्ट अर्थरबाट सेना फिर्ता गरिनेछ । तपाई जुन तरिकाबाट उपयुक्त लाग्छ, त्यही तरिकाबाट यसलाई राख्न हामी तयार छौं । हामी दुईमध्ये कुनै पनि मान्न तयार छौं ।
माओः हामीले यो विषयमा विचार गर्नुपर्दछ । हामी कामरेड स्तालिनको दृष्टिकोणमा सहमत छौं । जापानसँग शान्ति सम्झौतामा हस्ताक्षर नभएसम्म हामीलाई पोर्ट अर्थर सहमति रहनुपर्छ भन्ने पक्षमा छौं । शान्ति सम्झौतापश्चात जापानले शक्ति गुमाउनेछ र त्यसपछि सोभियत सेना फिर्ता हुनेछन् । तथापि हामी पोर्ट अर्थरमा सैनिक उपस्थितिलाई कायम राख्न चाहन्छौं र त्यसलाई हाम्रो जलसैनिकहरुलाई तालिम दिने अवसरको रुपमा उपयोग गर्न चाहन्छौं ।
स्तालिनः दाल्नेको विषयमा । दाल्नेमा सोभियत सङ्घको अधिकार कायम गर्नेमा हामीलाई कुनै पनि तरिकाबाट सुनिश्चित गर्न सक्दैनौं ।
माओः दाल्नेलाई स्वतन्त्र बन्दरगाहको रुपमा संरक्षण गर्न सकिन्छ कि ?

स्तालिनः हामीले दाल्नेमाथि हाम्रो अधिकार छोड्ने अवस्थामा चीनले दाल्नेको विषयमा निर्णय गर्नुपर्दछ ः दाल्नेलाई स्वतन्त्र बन्दरगाह बनाउने वा नबनाउने । एक पटक रुजवेल्टले दाल्नेलाई स्वतन्त्र बन्दरगाह बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।

माओः त्यसो भए पोर्ट अर्थरलाई स्वतन्त्र बन्दरगाह बनाउनु बेलायत र संरा अमेरिकाको हितमा हुने हो कि ?
स्तालिनः पक्का हुनेछ । त्यो त ढोका खुला छोडिएको घर जस्तै हुनेछ ।
माओः हाम्रो विचारमा पोर्ट अर्थरलाई हाम्रो सैनिक आधार बनाउन सकिन्छ भने दाल्नेलाई सोभियत–चीन आर्थिक सहकार्य केन्द्र बनाउन सकिन्छ । दाल्नेमा त्यस्ता धेरै औद्योगिक बस्तुहरु छन् र सोभियत सङ्घको सहयोग बिना तिनको उपयोग गर्न सकिंदैन । त्यहाँ हामीले हाम्रो आर्थिक सहकार्य केन्द्र बनाउन सक्छौं ।

स्तालिनः त्यसो भए पोर्ट अर्थर सहमति जापानले शान्ति सहमतिमा हस्ताक्षर नगरेसम्म प्रभावी नै रहनेछ । शान्ति सम्झौता पछि जापानले शक्ति गुमाउनेछ र रुसी सेना त्यसपश्चात त्यहाँबाट फर्किनेछ । हाम्रो छलफललाई सारमा यसरी भन्दा म ठीक हुन्छु वा हुन्न ?

माओः यो नै आधार हो र हामीले नयाँ सन्धिमा राख्न चाहेको ठीक यही हो ।

स्तालिनः अब हामी चिनियाँ पूर्वी रेलमार्गको विषयमा कुराकानी थालौं । त्यो विषयमा तपाईले एक जना कम्युनिष्टले कुरा गरे जस्तै बिना अप्ठ्यारो आफ्नो विचार राख्नुहुन्छ कि रु

माओः नयाँ सहमतिमा मुलभूत रुपमा निम्न कुरा रहनुपर्दछः दुई पक्षको उपयोग र सञ्चालन भविष्यसम्म कायम रहनेछ । तथापि त्यसको प्रशासन सञ्चालनसम्बन्धमा चिनियाँ पक्षले नै मुख्य भूमिका खेल्नुपर्दछ । साथै अगाडि हामीले सहमतिको समयावधि छोटो बनाउने विषयमा पनि काम गर्न जरुरी छ र लगानीको विषयमा पनि कुराकानी गर्नुपर्दछ ।

मोलोतोभः दुई वटा देशहरु मिलेर कुनै औद्योगिक परियोजनाको सहकार्यात्मक प्रयोग र सञ्चालन गर्दा सामान्यतः त्यसको सञ्चालनमा दुवै देशको आंशिक संलग्नता हुनुको साथै मुख्य मुख्य पदमा साटफेर पनि हुने गर्दछ । पुरानो सम्झौताअनुसार त्यसको प्रशासन सञ्चालनको जिम्मेवारी सोभियत पक्षलाई थियो । तथापि भविष्यमा यो जिम्मेवारीमा साटफेर हुने कुरामा हाम्रो विश्वास छ । अर्थात यो परियोजनाको प्रमुख व्यवस्थापनको जिम्मेवारी प्रत्येक २–३ वर्षमा परिवर्तन गर्ने गरिरहनु उपयुक्त हुनेछ ।

चाओ एन लाईः हाम्रो कामरेडहरुको विचारमा चिनियाँ पूर्वी रेलमार्गको वर्तमान बन्दोबस्त र गर्भनरको पदलाई खारेज गरी चिनियाँ पूर्वी रेलमार्गको व्यवस्थापन बोर्ड गठन गर्नु उचित हुनेछ । बोर्डको अध्यक्ष र उच्च व्यवस्थापकको जिम्मेवारी चिनियाँ पक्षलाई दिनुपर्दछ । तथापि कामरेड मोलोतोभको धारणालाई ध्यानमा राखी हामीले यसबारे विचार गर्न सक्छौं ।

स्तालिनः यदि तपाई सहकार्यात्मक सञ्चालनको कुरा गरिरहनुभएको हो भने प्रमुख पदको साटफेर हुनु आवश्यक छ । त्यसो गर्दा थप अर्थपूर्ण हुनेछ । सहमतिको समयावधि छोट्याएपश्चात हामीलाई यसमा कुनै आपत्ति हुनेछैन ।

चाओ एन लाईः के हामीले लगानी गरिरहेको हिस्साको अनुपातमा परिवर्तन गर्न सक्छौं कि रु लगानीको अहिलेको अनुपानको सट्टामा हामीले चिनियाँ लगानी ५१ प्रतिशतमा बढाउन चाहेका छौं ।

मोलोतोभः त्यसो गर्नु अहिलेको अनुपातसँग विरोधाभासपूर्ण हुनेछ ।

स्तालिनः वास्तवमा लगानीको हिस्साको सम्बन्धमा हामीले चेक र बुल्गेरियासँग सम्झौताहरु गरेका छौं । ती सम्झौताहरुमा हामीले समान लगानीको प्रावधान राखेका छौं । यदि हामी सहकार्यात्मक सञ्चालनको पक्षमा भए हामी दुवैले समान सहभागिता जनाऔं ।

माओः यो विषयमा हामीले थप अध्ययन गरेर दुवै पक्षको हितलाई सुनिश्चित गर्न आवश्यक छ ।

स्तालिनः अब ऋणको विषयमा कुराकानी गरौं । त्यससम्बन्धि सहमति दुई राज्यबीचको सन्धिको रुप्मा हुनुपर्दछ । तपाईको के विचार छ ?

माओः के यो वित्तीय ऋणअन्तर्गत सैनिक सामग्रीको आपूर्ति पनि परेका छन् ?

स्तालिनः त्यो त तपाईमा भर पर्ने कुरा भयो । सैनिक सामग्रीको आपूर्ति यसै ऋण सहायतामा समावेश गर्न पनि सकिन्छ नभए त्यसको लागि अलग सम्झौता पनि गर्न सकिन्छ ।

माओः यदि हामीले सैनिक सामग्रीको आपूर्तिलाई यही ऋणमा समावेश गरे औद्योगिक विकासको लागि आवश्यक पर्ने कोषमा कमी हुनेछ । तसर्थ हामीले सैनिक सामग्रीको केही हिस्सा मात्र यो ऋण सहायतामा समावेश गर्नु उपयुक्त होला । बाँकी सामग्रीलाई व्यापारअन्तर्गत राख्नुपर्छ । औद्योगिक तथा सैनिक सामग्रीको आपूर्ति अवधि पाँच वर्षबाट घटाएर ३–४ वर्षमा कम गर्न सक्छौं वा सक्दैनौं ?

स्तालिनः हामीले हाम्रो क्षमताको मूल्याङ्कन गर्नुपर्छ । मुख्य कुरा त हाम्रो आफ्नै औद्योगिक सामानको भण्डार कति छ भन्ने हो । तथापि हामीले ऋण सहमतिको मिति १ जनवरी सन् १९५० बाट शुरु भएको मान्न सक्छौं किनभने सामान त अहिलेबाट नै आपूर्ति हुनेछ । हामीले ऋण सहमति सन् १९४९ को जुलाईबाट शुरु गरेको भए पनि विश्व समुदाय अलमलमा पर्ने थियोः चीनमा राष्ट्रिय सरकार नै बनिनसकेको अवस्थामा सोभियत सङ्घ र चीनबीच कसरी सहमति भयो भनेर । मेरो विचारमा तपाईहरुले आवश्यक औद्योगिक सामानको सूची तयार गर्नमा हतार गर्नुपर्दछ । जति चाँडो त्यो सूची तयार हुन्छ, त्यति नै परिणाम राम्रो हुने कुरा मनमा राख्नुहोला ।

माओः ऋणको अवस्था चीनको लागि उपयुक्त छ । हामीले एक प्रतिशतमात्र व्याज तिर्नेछौं ।

स्तालिनः जनगणतन्त्र भएका देशहरुको लागि हामीले दुई प्रतिशत व्याजदरमा ऋण सहयोग दिने ऋण नीति बनाएका छौं । तपाईले चाहनुभयो भने हामी त्यो व्याजदरमा वृद्धि पनि गर्न सक्छौं ।(हाँसो) तर चिनियाँ अर्थतन्त्र निकै तल्लोस्तरमा भएको हाम्रो अनुमान छ । टेलिग्राममार्फत जानकारी भयो, चीन सरकारले उद्योग कलकारखानाहरु बनाउन आफ्ना सिपाहींहरु प्रयोग गर्दैछ । यो निकै राम्रो कुरा हो । हाम्रो समयमा पनि उद्योग कलकारखानाको विकासका लागि सेनालाई प्रयोग गर्दा राम्रै परिणाम आएको थियो ।

माओः त्यो सही हो । हामी सोभियत कामरेडहरुको अनुभव उपयोग गरिरहेका छौं ।

स्तालिनः सिङकाङमा चीनले केही मकै प्राप्त गरेको विषयमा कुराकानी भयो ?

माओः अँ, केही गहुँ र तयारी कपडाबारे कुरा गर्नुपर्छ ।

स्तालिनः तपाईले के सामान कति आवश्यक परेको हो, प्रष्ट रुपमा प्रस्ताव गर्नुपर्दछ ।

माओः ठीक छ, हामी त्यसको तयारी गरौंला । व्यापार सम्झौताको लागि हामीले के गर्नुपर्छ ?

स्तालिनः तपाईको के छ धारणा ? हालसम्म त हामीले मञ्चुरियासँग मात्र व्यापार सम्झौता गरेका छौं । हामी भविष्यको अवस्थाबारे जान्न चाहन्छौंःहामीले मञ्चुरिया, सिङकाङ र अरु प्रान्तहरुसँग बेग्लाबेग्लै सम्झौता गर्ने हो वा केन्द्रीय सरकारसँग मात्र एउटै सम्झौता गर्ने हो रु

माओः हामी केन्द्रसँग एउटै मात्र सम्झौता गर्न चाहन्छौं । तर सिङकाङले आफ्नो पालोमा आफ्नो अलग सम्झौता गर्न सक्दछ ।

स्तालिनः सिङकाङले मात्र ? मञ्चुरियाको विषयमा के छ त रु

चाओ एन लाई ः मञ्चुरियासँग अलग सम्झौता असम्भव छ किनभने केन्द्रसँगको सम्झौता मुख्यतः मञ्चुरियाबाट आपूर्तिले सुनिश्चित गर्दछ ।

स्तालिनः सिङकाङ वा मञ्चुरिया जो सँग गरिएको सम्झौता भए पनि केन्द्रीय सरकारले अनुमोदन गरेको हामी चाहन्छौं र ती सम्झौताहरुप्रति उत्तरदायी बनेको चाहन्छौं ।

माओः सिङकाङसँग हुने सम्झौता पनि केन्द्रीय सरकारको नाममा भएको हुनुपर्दछ ।

स्तालिनः ठीक कुरा हो । स्थानीय प्रादेशिक सरकारले धेरै कुरालाई ध्यानमा नराखेको हुनसक्छ तर केन्द्रीय सरकारले सधैं राम्रो विचार गरेको हुन्छ । केही अरु प्रश्नहरु छन् कि रु

माओः अहिलेको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको आर्थिक सहकार्य नै हो । मञ्चुरियाको अर्थतन्त्रको पुनःनिर्माण र विकास ।

स्तालिनः मेरो विचारमा कामरेड मिकोयान, भिशिन्स्की, चाओ एन लाई र ली फु–चुन सम्मिलित तयारी समितिलाई हामीले यसको निम्ति विश्वास गर्नुपर्दछ ।

माओः तपाईले चीनमा पठाउनुभएको वायु सैनिक रेजिमेन्टले हामीलाई निकै सहायता पु¥याएको छ । त्यसले दश हजारभन्दा बढी मानिसहरु ओसारप्रसार गरिसकेको छ । त्यो सहयोगको लागि कामरेड स्तालिन तपाईलाई धेरै धेरै धन्यवाद । साथै त्यो रेजिमेन्ट अब थप केही समय चीनमै राख्ने बन्दोबस्तको लागि तपाईलाई आग्रह गर्दछु । तिब्बततिर अघि बढ्ने लि पो छानका सेनालाई खाद्य सामग्री आपूर्तिको लागि हामी त्यो रेजिमेन्टको थप सहयोग लिन चाहन्छौं ।

स्तालिनः तपाईहरु अघि बढ्ने तयारीमा हुनुहुन्छ । यो राम्रो कुरा हो । तपाईहरुले तिब्बतीहरुलाई हातमा लिनुपर्दछ । वायु सेना रेजिमेन्टको विषयमा हामी हाम्रो सेनासँग सल्लाह गरेर तपाईलाई खबर गरौंला ।

कुराकानी दुई घण्टासम्म चलेको थियो । बैठकमा अन्य सहभागीहरुः मोलोतोभ, मालेन्कोभ, मिकोयान, भिशिन्स्की, रोशचिन, फेडोरेन्को र चिनियाँ कामरेडहरु चाओ एन लाई, ली फु–चुन, भान त्स्या स्या, चेन पो ता र सि चे(कास्र्की)

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations