बिशेस समाचार

विप्लव मित्र शक्ति : बैध्य

राजनीति       ,

(नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ सँग वर्तमान नेपाली राजनीतिक परिस्थिति, नेपालकोक्रान्तिकारी आन्दोलन र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूका बीचको एकताका सन्दर्भमा रातो खबर प्रकाशन गृहका निर्देशक गुणराज लोहनी र प्रवन्ध निर्देशक भीमप्रसाद चापाईंद्वारा लिइएको अन्तर्वार्ताका मुख्य अंशहरू प्रस्तुत गरिएको छ ।)

»» संविधानसभाबाट घोषणा गरिएको संविधानको विरोध गर्दागर्दै पनि संसदीय व्यवस्थाको कार्यान्वयन गर्न भन्दै स्थानीय तह, प्रतिनिधि र प्रदेशसभाको चुनाव गराइयो । यी परिघटनाहरूलाई कसरी कसरी हेर्नुभएको छ ?

जुन संविधान बन्यो, त्यो संविधान पश्चगामी संविधान नै हो भन्ने कुरा हामीले भन्दै आएका छौँ । पुरानो संसदीय व्यवस्थाको ठाउँमा त्यही संसदीय व्यवस्था आयो । १९ दिने जनआन्दोलन १० वर्षको महान् जनयुद्ध अब यो प्रक्रियामा जनताले जुन आशा अपेक्षा गरेको हो, नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नु खोजेको हो र त्यो हुन सकेन । एउटा गम्भीर विश्वासघात भयो । अहिले पुरानै व्यवस्था कायम भएको छ । अब त्यसैमा भनौँ, त्यसै व्यवस्थाअन्तर्गतका स्थानीय चुनाव, प्रदेशसभा र प्रतिनिधिसभाका चुनावहरू पनि भइसके । यो प्रक्रिया त्यही परानो पश्चगामी राज्यसत्तालाई अझै बलियो बनाउन दिशातिर स्थापित गर्ने दिशातिर गइराखेको छ । अब हामी यसलाई कसरी हेर्न भन्दाखेरि यसलाई यो व्यवस्थाका विरुद्ध, यो सत्ताका विरुद्ध अब फेरि पनि क्रान्तिको तयारी गर्नुपर्छ नयाँ जनावादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादको दिशामा जानुपर्छ भनेर सोचेका छौँ । मूल कुरा त्यही हो ।

»» जनयुद्ध तपाईंंहरूले जस्तो खालको अवधाराणा बनाउनुभएको थियो, जनयुद्धको विकाससँगै यहीँ पुगिन्छ भन्ने त पक्कै होइन होला रु त्यस समयमा पनि प्रचण्ड नै प्रमुख नेता थिए । जनयुद्धका सुप्रिम कमान्डरसम्म बन्न पुगेका अहिले प्रचण्ड जहाँ पुगे, त्यसको पछाडि मख्य कारण के होला ?

मूलभूत रूपमा भन्दा उनमा विद्यमान निम्न पुँजीवादी मानसिकता हो । निम्न पुँजीवादी मानसिकताले कुनै खास बेलामा चाहिँ क्रान्तिप्रति आए पनि अर्को अवस्थामा प्रतिक्रान्तितिर डोर्‍याउँछ । त्यसकारण उनमा निम्न पुँजीवादी विचारधारा वा निम्न पुँजीवादी मानसिकता त्यो हो । दोस्रो, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा यस्तो हुँदै आइरहेको पनि छ । यो वर्गीय रूपमा भने मैले अब ठ्याक्कै वैचारिक रूपमा भन्दाखेरि संशोधनवाद हो । सबै प्रकारको दक्षिणपन्थी अवसरवादी विचरण हो । तेस्रो कुरा, कम्युनिस्ट नेताहरूलाई भन्नुस्, त्यसप्रकारको निम्न पुँजीवादी मानसिकताबाट त्यसप्रकारको संशोधनवादी चिन्तनबाट फाइदा उठाएर एउटा साम्राज्यवादी विसर्जणवादी शक्तिहरूले पनि के गर्छ भन्दाखेरि एउटा कित्ता परिवर्तनका निम्ति आधर प्रदान गर्ने गर्छन् । तर पनि मुख्य त के हो भने उनीहरूमा एउटा आन्तरिक कमजोरी आन्तरिक विचलन नै हो ।

»» अब अहिले चुनावी परिणाम जे आयो र त्यो परिणामले एक किसिमले सो घोषित वाम पार्टीहरू मूलतः केपी ओली, प्रचण्ड टोली सरकारमा जाँदैछन् । क्रान्तिकारीहरूले यो परिघटनालाई अर्थात् केही समयपछि सरकार पनि बनि हाल्ला हैन अथवा सरकार बन्यो भने त्यसलाई कसरी हेर्ने र अहिलेको यो वाम गठबन्धन भनेर वाम एकताको कुरा पनि आइरा’छ, यो दुई कुरालाई कसरी हेर्दा ठीक हुन्छ ?

चुनावी परिणामको कुरा गर्दाखेरि कस्तो लाग्छ भन्नुहुन्छ भने नेपाली जनता कांग्रेसबाट पनि सन्तुस्ट होइन, अरू राप्रपाहरूबाट पनि सन्तुस्ट होइन । एउटा परिवर्तन जनताले परिवर्तन चाहाने र अहिले जुन वाम–गठबन्धन बन्यो, वाम–गठबन्धन बनिसकेपछि जनतामा के पर्‍यो भने बरु वाम नै हो भन्ने पर्‍यो अथवा जनता भ्रमित भए । जनताले अर्को विकल्प जनताले त्यस्तो देखेनन् । त्यसकारण मत वाम–गठबन्धनको पक्षमा गयो । गए पनि जनताले एउटा कम्युनिस्ट भनेर मत हालेका हुन् । त्यसकारण जनतालाई हामी नकरात्मक रूपमा हेर्न हुँदैन । र, उनीहरूले अहिले खास परिवेशमा भ्रम दिन सफल भए । अर्को कुरा के हो त्यसको विकल्पको रूपमा जुन वैकल्पिक क्रान्तिकारी शक्ति अगाडि बढ्नुपर्ने थियो । त्यो वैकल्पिक शक्ति टुटफुट विभाजन आदिको कारणले गर्दाखेरि अगाडि बढ्न सकेन फेरि १० वर्ष महान् जनयुद्धको प्रक्रियामा गइसकेपछि हाम्रोमा कस्तो भयो भन्नुहुन्छ भने अब विचित्र छ के जनयुद्धको जुन नेता छ अथवा क्रान्तिको नेता छ र प्रतिक्रान्तिकारीको नेता पनि उही बन्न पुग्यो, यो जनतालाई बुझिसाध्य भएन । यसले गर्दाखेरि जनतामा भ्रम पर्न गयो । यस्तो जटिल परिस्थितिमा त्यतापट्टि जनताले किन मत हाले । यो वाम बनेर होइन वा वाम–गठबन्धन होइन । यो एउटा घोर दक्षिणपन्थी–असवसरवादी गठबन्धन हो । यो प्रतिगमनमा गइसकेको छ । बजारको दृष्टिकोणले हेरे पनि विचारको दृष्टिकोणले हेर्नुभयो भने पनि अब कांग्रेस र यिनीहरूमा फरक के छ ? संसदीय व्यवस्था साथ दियो भने त्यही हो । साथ पनि त्यही हो गन्तव्य पनि त्यही हो । समाजवाद भनेर भन्छन्, अब समाजवाद त त्यही संविधानमा लेखेको छ भन्छन् । समाजवादका त के विभिन्न परिभाषा छन् । कम्युनिस्ट घोेषणापत्र पढ्ने हो भने त समाजवाद त प्रतिक्रियावादी समाजवाद पनि हुन्छ भनेर माक्र्सले भनेकै कुरा होे । वैज्ञानिक समाजवाद होइन भनेर भन्नु त्यो त समाजवाद कांग्रेसले पनि भनिररहेकै छ । मात्रमा परक कुरा हो अलि–अलि मात्रामा परक हुन्छन् तर गुणमा के हो भने प्रतिक्रियावादी राज्यसत्ता, प्रतिक्रियावादी व्यवस्था र प्रतिक्रिायावादी विचारधारा यी सबैको संरक्षण गर्ने थलोका रूपमा नेपाली कांग्रेस र अहिलेको वामभित्रका केही छैनन् । विचित्र कुरा के भन्नुहुन्छ भने एउटा कम्युनिस्ट भन्ने द्वन्द्वात्मक भौतिकवाद मान्छौं भन्ने बहुलवाद पनि स्वीकार गर्ने एमाले त थियो नै । त्यसको प्रचण्डजी र हामीसँगै विरोध गरेकै हो । उनीहरूलाई थाहा नभएको कुरा त होइन । सब परिघटना थाहा भईभई बुझीबुझी एउटा वर्गीय रूपमा पनि राष्ट्रिय रूपमा पनि हरेक दृष्टिकोणले पनि यो आत्मसमर्पणको कुराहरू होे । योे कुनै गठबन्धन नै होइन ।

»» अब एमाले–माओवादी केन्द्रको सरकारमा बन्ला । उनीहरूको सरकारोहणले जनतामा वाम सरकार भ्रम पर्छ । सञ्चार–माध्यमले पनि त्यही रूपमा प्रचार गरिरहेका छन् । तर, परिस्थिति जटिल र नाजुक बन्दै गइरहेको छ । यस्तो अवस्थामा यहाँहरूले कसरी सोच्नुभएको छ ?

यिनीहरूको जुन वाम–गठबन्धन बनेको छ, त्यसले जनतालाई भ्रमित पारेको छ । यो क्रान्तिकारीहरूलाई चुनौती त हो किनभने कम्युनिस्टको नाममा बदमासी गरिराख्या’छन्, जनतालाई झुक्याइराख्या’छन् तर पनि जुन विकास, समृद्धि र स्थीरता आशा जनतामा बाँडेका छन्, त्योे वाहियात हो । जुन सक्दैनन् जुन खालको सम्भव छैन । उनीहरूले विकास गर्नका निम्ति त नोकरशाही पुँजीपति, दलाल पुँजीवादको विरुद्ध नै लड्नुपर्‍यो, एउटा नवउदारवादको विरुद्ध नै लड्नुपर्‍यो । यहाँ वैदेशिक प्रतिक्रियावादीहरूसँग गरिएका थुपै असमान सन्धि–सम्झौता खारेज गर्नुपर्‍यो, जनजीविकाको प्रश्नप्रति जनताको जनतन्त्रप्रति एउटा सकरात्मक बाढी जानुपर्‍यो, त्योे सम्भव छैन । त्यसकारण उनीहरूले जनताको समस्या हल गर्न सक्दैनन् । उनीहरूको बीचमा फेरि अन्तर्विरोधहरू चर्किंदै जान्छ ।

सत्ताधारीवर्गका बीचमा नेपालमा लामो समयदेखि एउटा अन्तर्विरोध भइराखेको छ । उनीहरू पनि एक–आपसमा लडिराखेका छन् । त यिनीहरू लड्दै आएका छन् । अहिले पनि लड्छन्, भोलि पनि लड्छन् । क्रान्तिकारीहरूका लागि मैदान खालि हुन्छ । यो स्थितिमा क्रान्तिकारीहरूले वैचारिक रूपमा, सांगठनिक रूपमा र राजनीतिक रूपमा सुदृढ हुँदै फेरि एउटा क्रान्तिको निम्ति एउटा आधार तयार पार्ने गर्नुपर्छ । छोटोमा भन्नुपर्दा नयाँ जनवादी सम्पन्न गर्दै वैज्ञानिक समाजवादीतिर जाने एउटा प्रक्रियालाई व्यवस्थित ढंगले अगाडि बढाउनुपर्छ । वैचारिक–राजनीतिक रूपमा यही भइहाल्यो । सांगठनिक रूपमा भन्नुपर्दाखेरि सच्चा क्रान्तिकारीहरूलाई गोलबन्द गर्नुपर्छ भनेर भन्नुस् । अब यो वाम गठबन्धनले धेरै भ्रम दिइराखेको छ । यी दक्षिणपन्थी अवसरवादी हुन् । यी एउटा अर्को कित्तातिर गइसके । क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर जानुपर्छ भन्ने नै हो । त्यसकारणले हाम्रो प्रयास हाम्रो पार्टीको तर्फबाट लामो समयदेखि एउटा प्रयास गर्दै आइरहेका छौँ । भर्खरै हाम्रो राष्ट्रिय सम्मेलन पनि सम्पन्न भयो । केन्द्रीय समितिको बैठक पनि भयो र हामीले नजिकका फोर्सहरू खास गरी नयाँ जनवाद हुँदै समाजवादमा जान चाहने माक्र्सवाद–लेनिनवाद–माओवाद मान्ने राख्ने शक्तिहरूलाई एकताबद्ध गर्ने दिशातिर जानुपर्छ । संगठनलाई बलियो बनाएर फेरि क्रान्तिको तयारीको दिशातिर दृढतापूर्व लाग्नुपर्छ । सानो–तिनो विषय जनताको तत्कालीन जनजीविका प्रश्नहरू, राष्ट्रियताको प्रश्नहरूलाई लिएर पनि जे–जस्तो सकिन्छ, संघर्षको विकास गर्दै ठूलो संघर्षको विकासको आधार तयार पार्दै जानुपर्छ ।

»» वामको एमाले र माओवादी केन्द्र दुई पार्टी एकता गर्दैछन् भन्ने छ अथवा के हुन्छ थाहा छैन, त्यो भन्न सकिन्न होला । यतातिर तपाईंहरूले अघि भन्नुभएजस्तै सञ्चार–माध्यममा पनि आइरा’छ र पहल पनि भइराखेको छ भन्ने छ । माक्र्सवाद–लेनिनवाद–माओवाद मान्ने नयाँ जनवादी क्रान्ति सम्पन्न हुँदै वैज्ञानिक समाजवादमा जाने भन्नुभयो । अहिलेको परिवेशमा त्यसका आधारहरू के–के हुन र को–कोसँग सम्भावना छ रु नेपालमा भएको वामपन्थी शक्तिहरू र कम्युनिस्ट पार्टीको कुन–कुनसँग एकताको सम्भावना छ ?

एकता आधार मोटामोटी रूपमा एउटा त राजनीतिक रूपमा नयाँ जनवाद भइहाल्यो । बल प्रयोग या कसरी जाने भन्ने कुरा भइहाल्यो । विचार माक्र्सवाद–लनिनवाद–माओवाद र माओविचार मान्नेहरूसँग पनि कुराकानी चल्नुपर्छ भन्ने नै छ । हाम्रो कुाराकानी चलाउने आधार यही हो, मोटामोर्‍टी रूपमा तर फेरि हामीले यसलाई एकदम सङ्कीर्ण बनाएर जाने पक्षमा छैनौँ । अब अलिकति नजिकका शक्तिसँग बसेर कुराकानी गरेर कसरी जाने भन्ने सोचमा पनि छौँ । हाम्रो दृष्टिकोणमा के लाग्छ भने अहिले हेर्दाखेरि हामीसँगै लड्दै आएको कमरेड विप्लवले नेतृत्व गर्नुभएको नेकपा नै हाम्रो सबभन्दा नजिकको शक्ति त्यही हो । कट्टेलजीलाई पनि हामीले नजिकबाटै हेरिरहेका छौँ । मोहनविक्रम सिंहसँग पनि मिहिनेत गर्नुपर्छ, उहाँसँग प्रयास गर्नुपर्छ । यसमा त बसेर अलिकति सरसल्लाह गरौँ, के–के कसरी भन्ने हिसाबमा गइसकेपछि धेरै कुरा मिल्दै जान्छन् ।

»» कति प्रक्रिया कहाँसम्म पुग्यो ?

प्रक्रियामा भन्नुपर्दा प्रक्रियाको रूपमा अब हामी बीचमा अलिअलि संवाद गर्दै आइरहेका छौँ । अब हामी वार्तासमिति बनाएर वार्तामा जाने हो । हामी वार्ता समिति बनाउछौँ । अब हामी बहुपक्ष बस्दैनौँ, अहिले बहुपक्ष बस्ने कुरा हुन्न, दुई पक्ष बस्छौँ । दुईपक्ष कुराकानी गर्दै प्रगति कस्तो हुन्छ, ती चीजहरू हेर्दै अगाडि बढ्ने हुन्छ । त्यसकारणले हामी वार्तासंवादको प्रक्रियालाई हामी अगाडि बढाउछौँ । कुराकानी त भएकै छन् । अब अर्को चरणको अलिकति सैद्धान्तिक, राजनीतिक विषय र रणनीति र कार्यनीतिजस्ता विषयमा पनि आवश्यक छलफल चलाउँदै हामी कसरी एकता गर्न सकिन्छ त भन्ने दिशातिर हामी सकरात्मक ढंगले जान चाहन्छौँ । समस्या आइपर्‍यो भने कसरी समस्याको समाधान गर्ने भन्ने सोच्नुपर्ला । सकरात्मक तरिकाले हामी जान्छौँ ।

»» ठीक छ, अहिले के हो भन्दाखेरि जनताको पनि अपेक्षा छ क्रान्तिकारी एक होऊन् भन्ने छ दुई ओटा समस्या जटिल भएर आएको छ नेपालको अहिले देखेको छ, चुनावपछि को जे बनेको छ राष्ट्रियता असाध्यै बढी खतरामा पर्ने र अर्को वामको नाममा भ्रम सिर्जना हुने यी दुईओटा कुराहरू छन् । यस्ता विषयमा कुनै छलफल भएको छैन, अहिले तत्कालै यो यो गरौँ भनेर हुन्छ नि । पार्टी एकता प्रक्रिया त भइहाल्यो लामै लाग्ला । तत्कालका एजेन्डाहरू लिएर मूल रूपमा एउटा वाम नै सरकारमा छ, त्यसको भण्डाफोर भइहाल्यो हैन । अर्को राष्ट्रियता, जनजीविकाका प्रश्न आइरहेका छन् । भर्खरै मात्र वीरगंजको ५० विगाहा जमिन भारतले कब्जा गरेको छ । महंगीको प्रसंगहरू छन् । यसमा अलिकति सहकार्य गरेको जस्तो देखिएन, यसमा त्यस्तो केही छलफल भइरहेका छ कि छैन ?

हामी विप्लवजीकै कुरा गर्ने हो भने उहाँहरूसँगै बसेर हामी एउटा योभन्दा अगाडि प्रेस विज्ञप्ति निकालेका छौँ । त्यसमा जनयुद्ध दिवस, सहिद–सप्ताह, जनआन्दोलन दिवसलगायत दिवसहरू हामीले संयुक्त मानौँ भन्ने हाम्रो यो समझदारी भइसकेको छ । राष्ट्रिय स्वाधीनताको पक्षमा संयुक्त कार्यक्रमहरू बनाऔँ भन्ने हाम्रो समझदारी भइसकेको छ । राष्ट्रियताका बारेमा संघर्ष गर्नुपर्छ भन्ने कुराहरू हामीले मोहनविक्रम सिंहसँग पनि गरेका छौँ । पहिले पनि हामी संयुक्त भएका थियौँ । त्यो राष्ट्रियताको मुद्दामा उहाँसँग मिल्ने राष्ट्रियताको मुद्दा हो । तपाईंहरू विप्लवजीहरूलगायत कार्यक्रमहरू बनाउनुपर्छ भनेर भनेका छौँ र यो कार्यगत एकताको प्रश्नको कुरा यहाँले राख्नुभयो, त्यो ठीक गर्नुभयो । हामी बसेर यो छिट्टै बनाइहाल्छौँ ।

»» अब अरू केही बताउनुहुन्छ कि ?

सञ्चार–माध्यमबाट भन्नुपर्दा दक्षिणपन्थी अवसरवाद वाम–गठबन्धनका रूपमा देखापरेको दक्षिणपन्थी अवसरवादका विरुद्ध पुरानो प्रतिक्रियावादी राज्यसत्ताको संरक्षणको गर्ने प्रतिक्रियावादी दिशातर्फ गइराखेको दक्षिणपन्थी गठबन्धनको विरुद्ध एउटा विचारात्मक संघर्ष चलाउने कुरा भइहाल्यो । यो सरकारमा जाँदैछ । हामीले संघर्ष गरुन्जेल दमन त भइहाल्छ । त्यसको हामीले संयुक्त प्रतिरोध गर्नुपर्छ । दोस्रो कुरा, क्रान्तिकारी कम्युनिस्टहरू गोलबन्द हुनैपर्छ । यसको विकल्प छैन । सबैले गम्भीरतापूर्वक सोच्नुपर्छ । अलिकति सानो भइयो, कमजोर भयो भन्ने खालको मानिसहरूमा अलिकति निरासा पनि आउने गर्छ । र, हामी त्यो निरासाकोे पक्षमा छैनौँ । सानो र कमजोर भाका इतिहासमा धेरै थिए । हेर्नुस्, हामीले त्यस्ता क्षणहरू भोग्दै आएका पनि छौँ । क्रान्तिकारीहरूलाई गोलबन्द गर्दै र एकताबद्ध हुँदै अब फेरि अर्को क्रान्तिको तयारी गर्ने हो । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादको दिशामा दृढतापूर्वक जाने हो । मूल कुरा यही हो । यसका निम्ति यहाँहरूको सञ्चार–माध्यमले क्रान्तिकारीहरूलाई गोलबन्द गर्ने दिशातिर सच्चा कम्युनिस्टहरूलाई एकताबद्धतिर महत्वपूर्ण भूमिका खेलोस्, हामी यहाँहरूबाट यही आशा र अपेक्षा गर्छौँ । स्रोत : रातो खबर

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations