बिशेस समाचार

राष्ट्रियताबारे विप्लवको ताजा एवम् चर्चित लेख

ब्लग       ,

राष्ट्रियता आफ्नो भूगोल, जनता, भाषा, संस्कृति र सभ्यताको केन्द्रीकृत रूप हो । यसमा राष्ट्रको पहिचान, स्वाभिमान र शक्ति मुखरित हुन्छ । राष्ट्रियता बलियो हुने देशको परिचय, स्वाभिमान र शक्ति बलियो हुन्छ । कमजोर भएमा सबै कुरा जीर्ण हुन्छन । तसर्थ, आफ्नो राष्ट्रियताको संरक्षण, संवद्र्धन र विकास गर्नु राष्ट्रका प्रत्येक नागरिकको प्रथम कर्तव्य र जिम्मेवारी हो । आफ्नो राष्ट्रियताप्रति जुन नागरिकहरू सचेत, सङ्गठित र सक्रिय हुँदैनन् या जुन नागरिकहरू आफ्नो राष्ट्रियताप्रति लापर्बाही हुन्छन्, अरूतिर लहसिन्छन् र फाइदाको निम्ति लेनदेन गर्दछन्, उनीहरूको राष्ट्रियता पनि बलियो हुँदैन ।

राष्ट्रियताको चुनौती
कुनै पनि देशको राष्ट्रियताको चुनौती दुई प्रकारले पैदा हुन्छ– बाह्य र आन्तरिक । बाह्य चुनौती भनेको देश बाहिरको शक्तिले गर्दा खडा हुने गर्दछ । खासगरी आफूभन्दा शक्तिशाली र आफू समानको राष्ट्रबाट यस्तो चुनौती आउने गर्दछ । यो आउँदा राजनीतिक, आर्थिक, सांस्कृतिक, सैन्य आदि क्षेत्रबाट प्रवेश गर्दछ । राजनीतिक रूपले शासन प्रणाली आफूअनुकूल निमार्ण गर्ने, आफ्ना प्रतिनिधिहरू खडा गर्ने, आफ्नैअनुकूलको प्रशासन र नीतिहरू तयार गरेर आउँछ । त्यसैगरी, आर्थिक रूपले राज्यको अर्थतन्त्रमा कब्जा जमाउने, आर्थिक स्रोत साधनमा पकड कायम गर्ने, उद्योग कलकारखाना नियन्त्रण गर्ने, व्यापारी क्षेत्रलाई नियन्त्रण गर्ने र सम्पूर्ण अर्थ उत्पादनलाइ प्रभावित पार्नेगरी पस्दछ । राष्ट्रियतामाथि अतिक्रमण सांस्कृतिक रूपले पनि सशक्त रूपले हुन सक्छ, आफ्नो अनुकूलको संस्कृति हुलेर, आफ्नो हैकम जमाउने र त्यसलाई स्थापित गर्न, नागरिकहरूमा विचलन ल्याउन यो प्रयोग हुन्छ । राष्ट्रियतामाथिको सबैभन्दा ठूलो खतरा त झन् सैन्य हस्तक्षेप हो । यो प्रत्यक्षतः राष्ट्रिय सुरक्षा नीति निर्माणमा आफ्नो हितमा बनाउने, सैन्यप्रशिक्षण र तालिम आफ्नो नियन्त्रणअन्तर्गत गराउने, सैन्यसामग्री र हातहतियार आफैँबाट नियन्त्रित गर्नेगरी आउँदछ ।

राष्ट्रियतामा आन्तरिक रूपले चुनौती आउँदा निरङ्कुशता, फासिवाद, विखन्डन, विग्रह, साम्प्रदायिकता, क्षेत्रीयता आदिको रूपमा आउँदछ । केन्द्रीय राज्यसत्ताको निरङ्कुशता, फासिवादले नागरिकहरूको राजनीतिक, आर्थिक, सांस्कृतिक, आन्दोलन, प्रेस आदि स्वतन्त्रताहरूलाई हरण गरिदिन्छ र पूरै समाजलाई अन्धकारमा धकेलिदिन्छ । यसले स्वभावतः एउटा वर्ग र जातिलाई मात्र राज्यको हर्ताकर्तामा बदलिदिन्छ र अरू सबैलाइ रैती गुलाम जस्तो बनाउन पुग्दछ जसको कारण राष्ट्रियताप्रति प्रत्येक नागरिकको समान जिम्मेवारीबोध हुनुको साटो केही मुट्ठीभर मान्छेको मात्र चिन्ताको विषय बन्न पुग्दछ । परिणामतः राष्ट्रियता नै कमजोर हुन पुग्दछ । त्यसैगरी, विभिन्न शक्ति केन्द्रको घुसपैठबाट पैदा हुने साम्प्रदायिकता, क्षेत्रीयता आदिले पनि जातीय भिडन्त, धार्मिक भिडन्त, क्षेत्रीय दङ्गा आदि निम्त्याउँदछ । यसले पनि स्वभावतः राष्ट्रियतालाइ विखण्डन गर्दछ र कमजोर बनाउँदछ ।

राष्ट्रियताको रक्षा
राष्ट्रियताको रक्षा भन्नाले मुख्यत दुई पक्षमा ध्यान पुर्‍याउनुपर्दछ– १० बाह्य हस्तक्षेप, र २० आन्तरिक विखण्डन । यी दुई खतराबाट जोगाइयो भने राष्ट्रियता मूलतः सुरक्षित हुन सक्दछ । अन्यथा राष्ट्रियता दुई समस्याको चपेटामा पर्न सक्ने स्थिति रहिरहन्छ ।

साना र कमजोर आर्थिक र राजनीतिक अवस्था भएका देशहरूको राष्ट्रियता जहिले पनि बाह्य हस्तक्षेप र अतिक्रमणको जोखिममा रहिरहेको हुन्छ । यो समस्या आर्थिक र सैन्यक्षमतामा सवल, सुदृढ र शक्तिशाली देशबाट पैदा हुने गरेको छ । इतिहासबाट हेर्दा भन्न सकिन्छ कि विश्वमा जति पनि विश्व युद्ध र ठूला युद्धहरू भएका छन् । ती प्रायः शक्तिशाली देशहरूकै गलत रवैयाका कारणले भएका छन । आज पनि महाशक्ति र शक्तिशाली देशहरूबाट यो समस्या जारी राखिएको छ, कमजोर र साना देशहरू पीडित हुनुपरिरहेको छ । यसबाट रक्षा गर्नु भनेको नै राष्ट्रियताको रक्षा गर्नु हो ।

राजनीतिक रूपले राष्ट्रियताको रक्षा भन्नाले शक्तिशाली राष्ट्र वा साम्राज्यवादी र विस्तारवादी शक्तिबाट कमजोर र साना देशहरूमा बलजफ्ती हैकम लादेर आफ्नो अनुकूलको राज्य प्रणाली र शासन प्रणली खडा गर्न चाहने प्रवृत्ति र कार्यलाइ रोक्नुहुन्छ । त्यसैगरी, आर्थिक दृष्टिले कमजोर र साना देशको अर्थतन्त्रलाई पूरै आफ्नो नियन्त्रणमा राख्न खोज्ने र देशलाई पूरै निचोर्ने चुस्ने र नागरिकहरूलाई रैती गुलाम बनाउन चाहने कार्यलाइ रोक्नु हुन्छ । अर्को कुरा साना–मसिना मामिलालाई वहाना बनाएर सैन्य हस्तक्षेपसम्म गर्ने र देशलाई उपनिवेश बनाउन खोज्ने सोचलाई रोक्नु हुन्छ ।

जति विकसित भए पनि, कम विकसित भए पनि आन्तरिक विखन्डन सबैको लागि राष्ट्रियताको समस्या हो । अझ कमजोर र साना देशको लागि यो खतरा बढी नै हुन्छ । त्यसैले राष्ट्रियताको रक्षा गर्नु भनेको आन्तरिक विखण्डन र विभाजन रोक्नु पनि हो । आन्तरिक विखण्डनको समस्या भनेको कुनै फरक जाति, फरक धर्म र फरक सम्प्रदायको बीचमा आउने समस्या मात्र भनियो भने पनि सही हुँदैन । केही मान्छेले यसरी पनि बुझ्दछन्, जो सही होइन । विखण्डन र विभाजन भनेको एउटा शासकीय चिन्तन र प्रवृत्ति हो । जो रूपमा एउटै जाति, रङ्ग, धर्म आदिको बीचमा पनि लागू हुन्छ । यो निकै सानो एकाइमा जाँदासम्म पनि हल हुँदैन । तसर्थ, राष्ट्रियताको हकमा विखण्डन र विभाजनको मनोवृत्तिबाट रक्षा गर्नु निकै महत्वपूर्ण छ ।

हाम्रो राष्ट्रियताको अवस्था
हाम्रो राष्ट्रियता नेपालीको रूपमा संस्थागत भएको धेरै भएको छैन । पृथ्वीनारायणपछि नै यो अगाडि आएको हो तर यो जहिलेबाट अस्तित्वमा आयो, आएदेखि नै दुई समस्याले घेरिँदै आएको छ– बाह्य हस्तक्षेप र आन्तरिक विचलन । दुवैले नेपाली राष्ट्रियतालाई कमजोर र दुर्वल बनाउँदै आएका छन् ।

इतिहास केलाउँदा नेपाली राष्ट्रियता सुरुमा अङ्ग्रेजको बाह्य हस्तक्षेपमा पर्‍यो । अङ्ग्रेज साम्राज्यले पूरै नेपाल निल्न र कब्जा गर्न नभ्याए पनि दोस्रो विश्वयुद्ध नसकिएसम्म र भारतबाट अङ्ग्रेज नफर्किएसम्म नेपाल लगातार अङ्ग्रेजको दबाबमा र हस्तक्षेपमा परिरह्यो । त्यहीक्रममै नेपालका कैयौँ भू–भाग पूर्वमा मेचीदेखि टिस्टासम्मको र पश्चिममा महाकालीदेखि काँकडासम्मको भू–भाग दक्षिणमा गोमतीसम्मको भू–भाग गुमाउनुपर्‍यो । जो नियमतः भारतबाट अङ्ग्रेज फर्किएपछि नेपालले पाउनु पनि पर्दथ्यो । भारतबाट अङ्ग्रेज हटे पनि नेपालप्रतिको अङ्ग्रेज रवैया र हस्तक्षेपकारी प्रवृत्ति भने भारतको आजसम्मै कायम छ । भारत स्वतन्त्र भइसकेपछि र दक्षिण एसियामा सबैभन्दा ठूलो राष्ट्र र शक्तिको रूपमा आइसकेपछि ऊ अङ्ग्रेज साम्राज्यवादसँग जुन प्रवृत्ति र धाराविरुद्ध लडेको थियो, स्वयम् भारत त्यसैको सिकार बनेको छ । उसले आजसम्म नेपालप्रति देखाइरहेको रवैया र व्यवहारले यो सच्चाइलाई सजिलै सावित गर्दछ ।

यतिबेला नेपाल भारत सीमा क्षेत्रको निकै ठूलो भू–भाग भारतमा परेको विवाद छ । भारतले सुने नसुने गर्दै आएको छ । नेपालको राजनीतिमा एक प्रकारले प्रत्यक्ष नियन्त्रण राखिरहेको छ । नेपालका राजनीतिक पार्टीहरूमा समेत हस्तक्षेप गरिरहेको छ । यसप्रति कोही पनि नागरिकहरू सन्तुष्ट छैनन् । नेपालको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी भारतको कब्जा छ । नेपाल भारत व्यापार घाटा अरबौं अरब छ । नेपालको सुरक्षा नीति र प्रविधिसमेत भारतबाटै नियन्त्रित छ । भारतीय सत्ताको रवैया मित्रको नभई मालिकको जस्तो अनुभव हुन्छ । हाम्रो राष्ट्रियतामाथि भारतको मात्र हस्तक्षेप छ भन्ने पनि होइन । सबै शक्ति सम्पन्न राष्ट्रहरूको पनि हस्तक्षेप बढ्दै गएको पाइन्छ, जो आजको विश्व राजनीतिको चित्र पनि हो ।

राष्ट्रियतासम्बन्धी आन्तरिक विचलन अर्को ठूलो समस्या रहिआएको छ । आन्तरिक विचलनको मुख्य पक्ष हेर्दा मूलतः दुई रूपमा व्यक्त भइरहेका छन । पहिलो सत्ता केन्द्रित र दोस्रो सत्ता लक्षित ।

जनता र कार्यकर्तामा रहेको सच्चा राष्ट्रियतावादी सोच र प्रवृत्ति छोडेर सत्तामा पुगेकाले दिने राष्ट्रियताको नारा र सत्तामा नपुगेका तर पुग्न चाहनेले दिने चर्का राष्ट्रियताका नारा दुवै दुर्नियतपूर्ण र अवसरवादी चरित्रका मात्र देखिन्छन् । सत्तामा बसेको एउटा शक्तिले जहिले पनि राष्ट्रियताको नारा त दिने गरेको छ तर त्यो जनतालाई बुझाएर र साथमा लिएर होइन कि आफ्नो सत्ता र सुविधाको कुर्सी रक्षा गर्न र बचाउन उराल्ने गरेको छ । त्यसैगरी, सत्तामा पुग्न चाहने अर्को शक्ति वा पक्षले पनि वास्तविक राष्ट्रियताको रक्षा गर्न वा जनतालाई जागरुक गर्न नभई राष्ट्रियताको नाराबाट लोकप्रियता हासिल गरेर सत्तामा पुग्ने बाटो बनाउन वा सत्तामा पुग्ने भर्‍याङ बनाउन यो नारा उचाल्ने गरेको बुझिन्छ । यसको ज्वलन्त प्रमाण यी छन् कि सत्तामा बस्दा राष्ट्रियताको नारा दिने शक्ति सत्ताबाहिर पुग्दा साथ जसलाई विरोध गरेको हो, उसैको पाउ मोल्न कुदेको प्रस्ट देखिन्छ र वास्तविक राष्ट्रवादी शक्तिसँग भागेर हिँडेको पाइन्छ अनि जसले सत्ताको लागि राष्ट्रियता उचालेका हुन्, उनीहरू सत्तामा पुगे पनि तिनको मुख बुजो मात्र लगाएका छैनन् कि आवश्यकताको नाममा झन् ठूला राष्ट्रघाती सन्धि–सम्झौताहरूमा सही धस्काउन पुगेका छन् ।

राष्ट्रियतामा विचलन छन् भन्नुको मतलव नेपालमा राष्ट्रवादी शक्ति नै छैनन् भन्नेचाहिँ होइन । माथि नै भनियो कि सबैभन्दा राष्ट्रवादी शक्ति र प्रवृत्ति भनेको आम जनता हुन् र नेपालमा यो प्रवल रूपमा उपस्थित छ । जनताले जहिले पनि विदेसी हस्तक्षेपविरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा अतुलनीय बलिदान र योगदान गर्दै आएको जगजाहेर नै छ । त्यसैगरी, प्रायः पार्टी र समूहहरूमा प्रशस्त मात्रामा राष्ट्रवादी शक्तिहरू मौजुद छन् जसले परिआएको बेलामा आफ्नो भूमिका पूरा गर्दै आएका पनि छन् ।

आजको आवश्यकता
राष्ट्रियतालाई संरक्षण गर्नका निम्ति हामीले दुईवटा जिम्मेवारी पूरा गर्न आवश्यक छ । पहिलो जागरण र प्रतिरोध अनि दोस्रो राष्ट्रियताको विकास । राष्ट्रहरू भूगोलले सानो र ठूलो हुन सक्दछन्, आर्थिक रूपले धनी र गरिब हुन सक्छन्, सैन्य दृष्टिले बलियो र कमजोर हुन सक्दछन् तर तिनै कारणहरूले गर्दा राष्ट्रियताको मामिलामा पनि ठूलो र सानो वा असमानता हुने भन्ने हुँदैन । आर्थिक र सैन्य हैसियतमा फरक परे पनि राष्ट्रियतामा समान हैसियत नै हुन्छ । राष्ट्रियताको सवालमा कुनै पनि दुई र दुईभन्दा बढी स्वतन्त्र राष्ट्रको आपसी सम्बन्ध समान हुन जरुरी हुन्छ । हामीले यो सच्चाइ हाम्रा छिमेकी राष्ट्रहरूलाई बोध गराउनुपर्दछ र गराइरहन मिहिनेत गर्नुपर्दछ । यो सच्चाइ बुझेर पनि हामीमाथि हस्तक्षेप हुन्छ भने त्यसरी हुने र भइरहने बाह्य हस्तक्षेपको हामीले विरोध र प्रतिरोध गर्नुपर्दछ । हामीले सहअस्तित्व र सहकार्यको आधारमा छिमेकी देशहरूसँग सम्बन्ध निमाण गर्न र एकले अर्काको राष्ट्रियतालाई सम्मानजनक बोध गर्न र गराउनुपर्दछ ।

राष्ट्रियतालाई आन्तरिक रूपले सुदृढ गर्न राष्ट्रियतासम्बन्धी पुरानो मान्यतालाई बदलेर नयाँ आधारमा विकास गर्नुपर्दछ । हाम्रो देशको पुरानो आधार भनेको एकात्मक, अति केन्द्रीकृत र सत्तामुखी खालको मात्र देखिन्छ । यसले राष्ट्रियतालाई व्यक्ति केन्द्रित, दल केन्द्रित र सत्ता केन्द्रित मात्र बनायो । हामीले यसलाई बदल्नुपर्दछ र जनआधारित राष्ट्रियता निर्माण गर्नुपर्दछ । जुन राष्ट्रियताले सबै आन्तरिक राष्ट्र, क्षेत्र, वर्ग र समुदायलाई समान ढङ्गले एकताबद्ध बनाओस् र सबै नागरिकहरूलाई गौरवान्वित गराओस् । नेपाल र नेपाली राष्ट्रियता भनेपछि वास्तवमै सबै नागरिकहरू जागरुक बनून्, एकताबद्ध बनून्, सक्रिय होऊन् र समान प्रकारले गौरव गरून् । आजको सन्दर्भमा त्यस्तो राष्ट्रियताको अभिव्यक्ति सङ्घीय राज्य प्रणालीद्वारा नै हुन सक्दछ ।

स्वाधीनता, समृद्धि र नागरिक
राष्ट्रिय स्वाधीनता उन्नति र समृद्धिको आधार हो । स्वाधीन राष्ट्रले मात्र उन्नति र प्रगति प्राप्त गर्न सक्दछ । पराधीन राष्ट्रका नागरिक कहिल्यै पनि सुखी सम्पन्न र स्वाभिमानी हुन सक्दैनन् । स्वाधीन राष्ट्रका नागरिक मात्र सुशिक्षित, आत्मनिर्भर र सुखी सम्पन्न हुन सक्दछन् । स्वाधीन राष्ट्रका नागरिकहरू विशेषतः युवाहरू रसिला, भरिला, फुुर्तिला, आत्मविश्वासले भरिएका र स्वाभिमानी खालका हुन्छन् । उनीहरूले राज्यलाई नयाँ आधारमा रूपान्तरण गर्न सक्दछन् । साथै राज्यका आर्थिक, सामाजिक, राजनीतिक, सुरक्षा, शिक्षा, स्वास्थ्य आदि सबै क्षेत्रमा विकास गर्न सक्दछन् । स्वाधीन राष्ट्रका युवाहरू जेसुकै परे पनि आफ्नै देश र जनताको उन्नति र समृद्धिमा समर्पित हुन्छन् । उनीहरूलाई आफ्नो मिहिनेत र पौरख प्रति गौरव हुन्छ । जब मिहिनेत आफ्नै देशमा पोखिन्छ, देश ह्वात्तै माथि उठ्न कुनै बेर नै लाग्दैन तर जुन देश पराधीन र परनिर्भर प्रकारको हुन्छ, त्यसका नागरिकहरू निरुत्साहित, निरास, अल्छी, कमजोर र चाकरीबाज खालका हुन्छन् । ती देशका युवाहरूलाई देशको जिम्मेवारीप्रति खासै वास्ता हुँदैन । उनीहरूलाई केवल जीवन गुजारा गर्ने र जसरी हुन्छ, आफ्नो स्वार्थ पूरा गर्ने चिन्ता मात्र हुन्छ । जनताले दुःख पाउन, आफ्ना नागरिकहरूको अवस्था बेहाल होस्, देश अन्धकारतिर जाकियोस्, केही खासै सरोकार हुँदैन । विश्व राजनीति र राष्ट्रहरूको इतिहासले यही सच्चाइ व्यक्त गरिरहेको छ । तसर्थ, हामीले स्वाधीन राष्ट्र निमार्णमा खुब जोड दिन जरुरी छ ताकि हाम्रा नागरिक स्वाभिमानी र आत्मविश्वासी बनून् । साथै, हाम्रो देश सुखी समुन्नत र समृद्ध हुने दिशामा अगाडि बढोस् ।
७ जेठ, २०६९ स्रोतः रातो खबर साप्ताहिक

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations