बिशेस समाचार

कविता : मालती फूलहरू

यात्रा हिँड्न
मञ्जुलहरू गीतहरू गाउँथे
पाइला पाइलामा
झन झनाउँने स्वरहरूमा
रामेश रायन झैँ उन्माद बढाउँदै
अमृत वाणी छर्किँदै
अश्लील गाउँहरूका
उनीहरू आँखा खोल्थे
मान्छे मान्छे जस्ता लाग्दैन
आजभोली
सूर्य अस्ताएपछि
वसन्तका
टुहुरा छोरा छोरीझैँ
प्रतीत हुने नयाँशासक
धूवाँ र धूलोझैँ उडिरहेछ
घरका
बगैँचाहरूले पानी पिउन
अझै पाइरहेका छैनन्
उनीहरू
बन्दीहरूको बन्धनमा छन्
समस्त फूलहरूझैँ
कहिले पनि हाँसेका छैनन्
आफैँलाई , आफूले दिन सान्त्वना
पहाड र तराईहरूले
आँगनमा नाच्न सकेका छैनन्
मालती फूलहरू !
रुखा डाँडाहरूमा
रगतहरू बलिरहेछन्
काँसका हाँगाविंगाझैँ
मान्छेहरू
पिठ्यूँ पट्टि हल्लिरहेका
थोत्रा झोलाहरू
उहिले देखिन अहिलेसम्म
उस्तै उस्तै हल्लीरहेछन्
भुँवरी नाचेझैँ नाचीरहेछन्
मालती फूलहरू !
बाँझा पाटाहरूमा
दुनियाँ कुनै पनि
सज्जनहरू छैनन् ।
चल्किएको सौन्दर्यसिन्धु
समुन्द्रको फिँज जस्तो
हुस्सुझैँ उन्मत्ततापूर्वक
बज्रिएका छन्
मालती फूलहरू !
नयाँ नरेशहरू या सर्पहरू
हृदयलाई हरण गरिरहेछन्
आँखी भौँले हिर्काउँछ
वैचारिक क्रीडाहरूमा
अहिले फुर्सत छैन
जुलुसमा देखिन
स्वेच्छापूर्वक हिंडिने गल्लीहरू
मञ्जरीहरूमाथि झम्टिन्छन्
एकनास
छाँया राक्षसीहरू
एका एक बढीरहेछन्
सिँहले आफ्ना डमरूहरूलाई
कैदी जस्तै थुन्न पठाएपछि
युद्धको नीतिमाथि प्रश्नखडा भएको छ
सोच्ता सोच्तै
म ब्यूँझेको छ
आँसुका झर्नामा स्नान गर्दै
आफ्नै दुःखले , अँध्यारो बनाइरहेछ
मान्छेका दृष्टिले
स्वागत गरिरहेको छैन
शरदको चाँदनीमा
मालती फूलहरूलाई !
काग जस्तै कराइरहेका मान्छेहरू
गौँडा गौँडामा उभिरहेछन्
मलाई काग बसेका गौँडाहरू
साह्रै तुच्छ लाग्छ
छैन सजिलो
मालतीसँग प्रेम गर्न
दिनभर ,रातभर
हिँडीरहेको हुन्छ म
उनका छातीमा लागेका छर्राहरू
निकाल्ने आँट नभएकाहरू
चुनावी सभामा दगुरेका छन्
कस्तो ब्रम्हाण्ड !
मनमा तरङ्ग उठ्छ
म एक गरीब
पेट माग्छ धेरै थरी
मालतीको श्रृंगार जटाउँन नसकेर
म छटपटाएको छ
अभिमानका ओइराहरू
झरिरहेछन् फुत्त फुत्त
मालती फूलहरू !

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations