बिशेस समाचार

म अभिनय सिक्न चाहन्छु : अमीताभ बच्चन

मनोरञ्जन       ,
प्रस्तुत छ, ‘इन्डिया टुडे’ मा छापिएको उत्कृष्टतम अभिनेतामध्येका यी दुईबीचको कुराकानीको सम्पादित अंश :
 
रणवीर : म तपाईंका आँखातिर हेर्दिनँ, डर लाग्छ । म तपाईंका कामको ठूलो फ्यान हुँ । सानैदेखि मैले तपाईंलाई आफ्नै वरिपरि पाएँ । मलाई ‘अजूबा’ (शशि कपुर निर्देशित) फिल्मको सेटको सम्झना छ, त्यति बेलैदेखि तपाईंको उपस्थिति, तपाईंको आकर्षण मभित्र टाँसियो । अर्को कुरा अमित अंकल, बीस वर्षयता तपाईंले मेरो जन्मदिनमा शुभकामना नदिएको कुनै वर्ष छैन । न्युयोर्कमा पढिरहेका बेलाको त्यो पल अझै सम्झन्छु । पहिलो सेमेस्टरमा थिएँ म । कलेजबाट घर फर्किंदाखेरि मेरो एन्सरिङ मेसिनमा एउटा सन्देश थियो : ‘हाई रणवीर, म अमिताभ बच्चन बोल्दै छ । तपाईंलाई जन्मदिनको धेरैधेरै शुभकामना ।’ पूरै सेमेस्टरभरि मैले जोकोहीलाई त्यो फोन कल सुनाएँ । आफू लोकप्रिय बन्ने आइडिया थियो त्यो । यसो गर्नाले धेरै केटी मतिर आकर्षित भए । तैपनि, तपाईंसँग जोडिएको मेरो सबैभन्दा मीठो सम्झना त्यति बेलाको छ, जब म ‘ब्ल्याक’ मा सञ्जय (लीला भन्साली) को असिस्टेन्ट थिएँ । मैले तपाईंलाई आफ्नो सामुन्ने देखेर धेरै कुरा सिक्न पाएँ । तपाईं भन्नुस्, कमर्सियल फिल्मका बारेमा के सोच्नुहुन्छ ? कसैले मलाई ‘मसला फिल्म खेल’ भन्दा म पचाउनै सक्दिनँ ।
अमिताभ : यसबारे बहस आवश्यक छ भन्ने म ठान्दिनँ । कुनै पनि फिल्म पैसा कमाउने उद्देश्यले नै बनाइन्छ, चाहे त्यो तथाकथित कला फिल्म होस् कि ‘अलग धारको फिल्म’ । कुनै फिल्म मसला फिल्म हो कि होइन र त्यसलाई दोहोर्‍याएर हेर्न जरुरी छ कि छैन भन्ने कुरो दर्शकहरूले निश्चित गर्ने हुन् । त्यसैले तपाईंले अलग धारको फिल्मको कुरा गर्दा वास्तवमा यसको श्रेय दर्शकलाई दिनुपर्छ, किनभने उनीहरू विश्वसनीय चीज हेर्न चाहन्छन् । तर, ‘मेरा फिल्मले पैसा कमाउन सकेनन्’ भन्नुहुन्छ भने तपाईं गल्ती गर्दै हुनुहुन्छ । तपाईंका धेरै फिल्मले राम्रो व्यापार गरे । दर्शकहरू तपाईंलाई मन पराउँछन् । तपाईंमा एउटा विशेषता छ, तपाईंका आँखामा गजबको हलचल हुन्छ र तपाईं शरीरबाट पनि यस्तै केही गर्नुहुन्छ । तपाईं प्रतिभाशाली हुनुहुन्छ र दर्शकहरू पनि निकै परिपक्व छन् । त्यसैले आफ्ना फिल्म राम्ररी चलेनन् भनेर दु:खी नहुनुस् ।
रणवीर : अमित अंकल, तपाईं मलाई उडाउँदै हुनुहुन्छ । काम नगरेका बेला पनि तपाईं लगातार प्रेरणादायी मुद्रामै बसिरहनुहुन्छ ? विश्व, राजनीति र खेलमा के भइरहेको छ भनेर तपाईं सधैँ चनाखो भइरहनुहुन्छ वा आराम मात्रै गरिरहेको कुनै क्षण पनि हुन्छ ?
अमिताभ : अचेल मोबाइल फोन एउटा आतंक नै बनेको छ । जब तपाईं मोबाइल अन गर्नुहुन्छ, ट्वीटरलगायतमा जान चाहनुहुन्छ । स्क्रोलिङ गर्न थाल्नुहुन्छ, मोबाइल बन्द गर्नै चाहनुहुन्न । स्वास्थ्यका लागि यो ठीक हो कि होइन, म भन्न सक्दिनँ, तर यसलाई बन्द गर्न कठिन छ ।
रणवीर : म सोसल मिडियाबाट परै छु । मैले के पाएको छु भने, सोसल मिडियाका माध्यमबाट विमानस्थलमा पनि कलाकारहरूसम्म सजिलै पुग्न सकिन्छ ।
अमिताभ : त्यही त, यो एउटा समस्यै हो । विमानस्थलतर्फ लाग्नुअघि मैले सोच्नुपर्ने भएको छ, अघिल्लोचोटि के पहिरिएको थिएँ भनेर ।
रणवीर : उसो भए, सोसल मिडियामा नभएर मैले केही गुमाइरहेको छु भन्ने लाग्छ तपाईंलाई ?
अमिताभ : आफूलाई जे महत्त्वपूर्ण लाग्छ, तपाईंले त्यही गर्नुपर्छ भन्ने ठान्छु म । मैले ब्लग सुरु गर्दा पहिलो दिन केवल दुई लाइन लेखेँ : ‘सबैलाई नमस्कार । मैले यो ब्लग सुरु गरेको छु ।’ भोलिपल्ट धेरै प्रतिक्रिया आए अनि मैले ब्लग लेख्नु ठूलै काम रहेछ भन्ने सोचेँ । अब एकतीस सयभन्दा बढी दिनदेखि लगातार मैले ब्लग लेखिरहेको छु । यो काम म आफैँ गर्ने गर्छु । ट्वीटर र फेसबुक पनि आफैँ चलाउँछु ।
रणवीर : सोसल मिडियामा व्यस्त हुनुका अलावा तपाईं अरू के गर्नुहुन्छ ? यात्रा गर्न मन पराउनुहुन्छ ?
अमिताभ : यस्तै गर्छु भनेर भन्न त सक्दिनँ, तर छेउमा कोही भइरह्यो भने रमाइलै लाग्छ । जहाँसम्म यात्राको कुरा छ, अब मेरा लागि घरै बस्नु बढी उचित छ भन्ने ठान्छु ।
रणवीर : तर आफूलाई तरोताजा नराखी तपाईं नयाँ कुरा कसरी गर्न सक्नुहुन्छ ?
अमिताभ : यात्रा गर्दा तरोताजा होइन्छ भन्ने के ग्यारेन्टी छ ?
रणवीर : मलाई सम्झना छ, तपाईंले एकचोटि अभिनय चटक्कै छोड्नुभएको थियो । असफलताका कारण तपाईंले यस्तो गर्नुभएको थियो कि केही समयको विश्राम लिनुभएको थियो ?
अमिताभ : यो एउटा गल्ती थियो । क्यामेरा र स्टुडियोबाट परै बस्नुपथ्र्यो भन्ने मलाई अहिले लाग्दैन । तीन वर्ष विश्राम गरेपछि फेरि अभिनयमा फर्कुंला भन्ने सोचेको थिएँ । तर, यो पेसाले कसै न कसैलाई पर्खिरहेको हुन्छ, तपाईंभन्दा अझ राम्रो, उत्कृष्ट देखिने, केही बढी नै लोकप्रिय व्यक्तिले तपाईंको ठाउँ लिन्छ ।
रणवीर : तपाईंका लागि सबैभन्दा चुनौतीपूर्ण समय कहिले थियो ?
अमिताभ : प्रत्येक दिन चुनौतीपूर्ण हुन्छ, रणवीर । मैले अनेक असफलताको सामना गरेको छु । कहिलेकाहीँ तपाईं आफैँसँग प्रश्न गर्नुहुन्छ, सर्वश्रेष्ठ के गर्न सकिन्छ र कुन कुरा फेरि हासिल गर्न सकिन्छ भनेर । केही काम गर्नुुस्, तालमेल मिलाउनुस् । मैले जुन कर्पोरेसन (एबीसीएल) को सुरुआत गरेको थिएँ, त्यसमा ठूलो असफलता मिल्यो । त्यसले मलाई टाट पल्टाइदियो । मसँग पैसा थिएन, हातमा कुनै फिल्म थिएन, ऋणीहरूले ताकेता गरेका गर्‍यै थिए । यो भयावह अनुभव थियो । म अभिनेता थिएँ, त्यसैले फेरि क्यामेरासामु फर्किन काम माग्दै यश चोपडाकहाँ गएँ ।
रणवीर : त्यसरी काम माग्दा तपाईंको अहंले रोकेन ?
अमिताभ : अहं भनेको के हो भन्ने मलाई थाहा छैन । यदि मैले खाली बस्नुपर्‍यो भने, म कसैकहाँ जान्छु र ‘मसँग काम छैन’ भन्छु । यसै गरेकाले मैले ‘मोहब्बतेँ’ पाएँ । यसमा मलाई अलिकति पनि सरम लागेन ।
रणवीर : ‘ब्ल्याक’ को सेटमा म तपाईंको अभिनय देखेर अवाक् भएको थिएँ । तर, एउटा दृश्यको छायांकनपछि सञ्जय (निर्देशक) छेउ गएर तपाईंले भन्नुभयो, ‘ओह, मैले चिउँडो अलि छिटै भित्र लगेँ ।’ तपाईं रिटेक चाहनुहुन्थ्यो ।
अमिताभ : अचेल ‘ब्ल्याक’ हेर्दा डाइनिङ रुमको दृश्य, जहाँ म चिठी पढिरहेको छु, मलाई पच्दैन ।
रणवीर : चिठी पढ्दा तपाईंको गला अवरुद्ध हुन्छ । यो दृश्य मलाई किन राम्रोसँग सम्झना छ भने, सञ्जयले मलाई यो दृश्य उदाहरणका रूपमा देखाउँदै तपाईं आफ्ना शारीरिक हाउभाउलाई कसरी नियन्त्रण गर्न सक्नुहुन्छ भनी बुझाएका थिए । अभिनेता बन्न चाहने हो भने यस्तो क्षमता हुनुपर्छ भनेर सञ्जयले मलाई सुझाएका थिए ।
अमिताभ : मलाई यो दृश्य आफ्नो गल्तीका कारण याद छ । म चिठी निकाल्छु, चस्मा लगाएर पढ्न थाल्छु । मलाई अल्जाइमर छ भने, चस्मा फुकालेर कहाँ राखेको छु भन्ने मलाई कसरी थाहा हुन्छ ? मैले यसबारे सोच्नुपथ्र्यो । मैले आफ्नै खुट्टामा बन्चरो हानिदिएँ । म यो दृश्यको रिटेक चाहन्छु भनेर सञ्जयलाई भनेको भन्यै गरेँ, तर उनले माने पो । रणवीर, यो फिल्ममा तपाईं सञ्जयको सहायक हुनुहुन्थ्यो र त्यो सानी नानीलाई उसले कसरी नेत्रहीनको भूमिका गर्नुपर्छ भनेर सिकाउने जिम्मा तपाईंको थियो । यदि कसैले त्यो नानीको अभिनयको प्रशंसा गर्‍यो भने त्यसको श्रेय तपाईंलाई नै जान्छ ।
रणवीर : यही प्रसंगमा एउटा सामान्य घटना जोडिहालूँ । मैले अहिलेसम्म केवल एक व्यक्तिका लागि बडी डबलको काम गरेको छु र त्यो तपाईं नै हुनुहुन्छ । ‘ब्ल्याक’ को त्यो दृश्यमा मैले फोहोरानजिक देवराज (‘ब्ल्याक’ को पात्र) को छेउमा बस्नु थियो । मैले ओभरकोट र टोपी लगाएको थिएँ । एक दिनका लागि भए पनि अमिताभ बच्चन बन्न पाउनु मेरो सौभाग्य थियो । अद्भुत थियो त्यो अनुभव । मैले तपाईंतिर बन्दुक तेस्र्याएर सबैभन्दा मन पर्ने फिल्म कुन हो भनेर सोधेँ भने के भन्नुहुन्छ ?
अमिताभ : त्यस्तो भयो भने त्यो बन्दुकले मलाई उडाइदिन भन्छु । किनकि, वास्तवमै म यही फिल्म मन पर्छ भन्न सक्दिनँ । एउटा फिल्मको नाम लिनु भनेको अरू दुई सय फिल्ममा सँगै काम गरेका मानिसहरूको अपमान गर्नु हो भन्ठान्छु म । तपाईं न्युयोर्कमा एक्टिङ स्कुल जानुभयो । अभिनय कसरी सिकाइँदो रहेछ भनेर म जान्न चाहन्छु । किनकि मैले त्यो अवसर पाइनँ । जया (बच्चन, पत्नी) लाई भेट्नुअघिसम्म मलाई एक्टिङ स्कुल हुन्छन् भन्ने पनि थाहा थिएन ।
रणवीर : इमानदारीपूर्वक भन्नुपर्दा, एक्टिङ स्कुल जानु भनेको वाहियात हो । तपाईं नौ महिनामा अभिनय सिक्न सक्नुहुन्न । त्यहाँ तपाईंलाई नाटकीय दृश्यमा सेन्स मेमोरी र इमोसनल मेमोरीलाई कसरी रिकल गर्ने भनेर सिकाउँछन् । कुनै पनि बुज्झकी मानिसले यस्तो गर्न सक्छ । अभिनयको पाठ मैले ‘ब्ल्याक’ को सेटमा तपाईंबाट सिकेँ । म कसैलाई पनि एक्टिङ स्कुल जाने सल्लाह दिन्नँ । तिनलाई म अमिताभ बच्चनको सेटमा जान भन्छु । तपाईंले थिएटरमा काम गर्नुभएन । तपाईं भविष्यमा कहिल्यै थिएटर जान चाहनुहुन्छ ?
अमिताभ : सोखका लागि थिएटर गरेको छु मैले । तर अब म त्यस्तो गर्न सक्दिनँ । थिएटरमा काम गर्न निकै गाह्रो हुन्छ । म संवाद कण्ठ गर्न सक्दिनँ । यस्तो गर्न सक्ने मानिसहरूको म प्रशंसा गर्छु ।
रणवीर : मैले तपाईंलाई चार पृष्ठको एकालाप एक घण्टामा कण्ठ गर्दै गरेको देखेको छु । तपाईं स्क्रिप्टअनुसारै चल्ने गर्नुहुन्छ कि त्यसमा कुनै सुधार पनि गर्नुहुन्छ ?
अमिताभ : म स्क्रिप्ट बमोजिम नै अघि बढ्ने गर्छु । लेखक कुनै पनि फिल्मको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन्छ । ऊ केवल लेखक मात्रै हुँदैन, लेख्ने बेला ऊ निर्देशक, सेट डिजाइनर, संगीत निर्देशक सबै थोक हुने गर्छ । लेखन सबैभन्दा कठिन काम हो । त्यसैले ‘मलाई जे मन लाग्छ, त्यही संवाद बोल्छु’ भन्नु लेखकको अपमान हो ।
रणवीर : तपाईंले कहिल्यै फिल्म निर्देशनमा लाग्नेबारे सोच्नुभएन ?
अमिताभ : अहँ । निर्देशन कसरी गरिन्छ भन्ने नै मलाई थाहा छैन ।
रणवीर : तर निर्देशन त कथा भन्ने तरिका बताउनु हो ।
अमिताभ : यही कुरा लेन्सका माध्यमले भन्न गाह्रो हुन्छ । ट्रली कहाँ राख्ने र कहाँ पैदल हिँड्ने भन्न अनि कलाकारलाई उसबाट म के चाहन्छु भनी अथ्र्याउन तपाईं कसरी सक्नुहुन्छ ?
रणवीर : कुनै कथा लेख्नुहुन्छ त ?
अमिताभ : मैले कहिल्यै कोसिस गरेको छैन ।
रणवीर : मैलेचाहिँ कथा लेख्ने कोसिस गरेको थिएँ । त्यो आइडिया मैले केही व्यक्तिसँग साझा पनि गरेँ । तर लेख्न अल्छी लाग्यो । मसँग त्यस्तो कौशल छैन । यस्तो क्षमता कि जन्मजात हुन्छ कि त हुँदैन ।
अमिताभ : तपाईंलाई कुनै कथा फुर्‍यो भने, आधारातमै भए पनि, रेकर्ड गर्नुस् । कुनै लेखक साथीलाई त्यो दिनुस् । त्यसबाट कुनै मूल्यवान् चीज निस्किन्छ कि, के थाहा ?
रणवीर : तपाईं अभिनेत्रीहरूसँग गरेको नाचगान अहिले मिस गर्नुहुन्छ ?
अमिताभ : नाचगानमा निकै परिश्रम पर्छ र मलाई यस्तो गर्न मन लाग्दैन । आफ्नो पेसाको एउटा हिस्सा भएकाले मात्रै मैले नाचगान गर्दै आएँ । करिअरको सुरुआती चरणमा राम्ररी नाच्नगाउन नजान्दा मलाई कैयौँ फिल्मबाट निकालिएको थियो । यसैले मलाई एउटा धब्बा लाग्यो । नाच्दागाउँदा तपाईंका अङ्ग–प्रत्यङ्ग चाहिँ विभिन्न दिशामा कसरी चल्ने गर्छन् ?
रणवीर : (‘याराना’ फिल्मको) ‘सारा जमाना…’ गीतमा तपाईंले मांसपेशी हल्लाउन कसरी सक्नुभएको थियो ?
अमिताभ : मैले केही गर्नैपरेन । एउटा गिटार समाएँ र कालो रंगको चस्मा लगाएँ, कसैलाई देख्न नसकूँ भनेर । मैले केवल स्ट्रमिङ गरिरहेँ, सिम्पल स्टेप गरिरहेँ ।
रणवीर : मेरो निजी जीवनका बारेमा धेरै कुरा लेखिसकिएको छ । धेरैजसोमा नकारात्मकता बढी छ । मलाई संस्कारहीन, केटीप्रति आसक्त भनिएको छ । यस्ता कुराबाट मैले कसरी
छुट्कारा पाउन सक्छु होला ?
अमिताभ : नकारात्मकता बिकाउ हुन्छ, त्यही भएर यस्तो हुन्छ । मैले अहिलेसम्म पनि नकारात्मक मिडियाको सामना गर्नुपरिरहेको छ ।
रणवीर : तपाईं लामो समयसम्म मिडियासँग बोल्नुभएन ।
अमिताभ : इमर्जेन्सीताका मिडियामाथि प्रतिबन्ध लाग्नुमा मेरो भूमिका छ भन्ने उनीहरू ठान्थे । फोटोग्राफरहरूले मेरो विरोधस्वरूप आफ्ना क्यामेरा भुइँमा राखिदिएका थिए । उनीहरूले मलाई मिडियामा प्रतिबन्ध लगाउने निर्णय गरेपछि मैले पनि ‘तिमीहरूसँग बोल्दै बोल्दिनँ’ भनिदिएको थिएँ । लगभग पन्ध्र वर्षसम्म म मिडियाकर्मीहरूसँग बोलिनँ ।
रणवीर : सम्बन्ध अचेल कस्तो छ ?
अमिताभ : म उनीहरूलाई माया गर्छु । अरू के नै गर्न सक्छु र (अट्टहास) ? यो बेला मैले लन्डनमा तपाईंसँग भएको एउटा भेट सम्झिरहेको छु । हामी एउटै होटलमा बसेका थियौँ । तपाईंको हातमा एउटा किताब थियो र त्यो पढ्न पार्कतिर जाँदै हुनुहुन्थ्यो । तपाईंले भन्नुभएको थियो, ‘मलाई आफ्ना लागि अलिकति ठाउँ चाहिएको छ । मुम्बई एकदम साँघुरो छ । म मुम्बईमा यस्तो गर्न सक्दिनँ ।’
रणवीर : त्यति बेला मेरो जीवन बेग्लै मोडमा जाँदै थियो । गर्लफ्रेन्डसँग ब्रेकअप भएको थियो । म केही समय एकान्तमा बिताउन चाहन्थेँ । त्यसैले मैले तपाईंसँग एक्लोपनका बारेमा कुरा गरेको थिएँ । वास्तवमै मलाई एक्लै बस्न आनन्द लाग्छ । यस्तो क्षण सबैभन्दा रमाइलो हुन्छ । अँऽऽ, तपाईं कसैलाई आफ्नो बायोपिक बनाउन दिनुहुन्छ ?
अमिताभ : अहँ । म साह्रै नीरस मान्छे हुँ । न त आत्मकथा नै लेख्छु ।
रणवीर : तपाईंको ब्लग तपाईंको आत्मकथाको संक्षिप्त रूप हो ?
अमिताभ : यो व्यावसायिक जोखिम हो । मैले अपडेट गरिनँ भने हजारौँ मान्छेले मेरो कठालो समाउँछन् । तर, आत्मकथा लेख्नु साँच्चै डरलाग्दो हुन्छ ।
रणवीर : मैले कहिले तपाईंसँग काम गर्ने अवसर पाउँछु ?
अमिताभ : हामी चाँडै साथै काम गर्छौं भन्ने मेरो आशा छ । किनकि, मलाई तपाईंसँग अभिनयको पाठ पढ्नु छ ।
(कान्तिपुरबाट)

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations