बिशेस समाचार

अस्कल क्याम्पस बजेट नभएर खुम्चियो

देश       गणेश राई ,

पुस २१, २०७४ काठमाडौँ — नेपालका साइन्स क्याम्पस भन्नासाथ ‘अस्कल क्याम्पस’ को नाम अग्रपंक्तिमा आउँछ । अस्कल क्याम्पस स्थापनाको छ दशकमा हजारौं विद्यार्थी उत्पादन भए । शैक्षिक संस्था जति पुरानो हुँदै जान्छ उति अगुवाको भूमिका निर्वाह गर्छ । परिणाम उत्कृष्ट बन्दै जान्छ । तर, अस्कल क्याम्पस परिणाममुखी र अगुवा बन्न सकेको छैन ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६० आंगिक क्याम्पसमध्ये अस्कल एक हो । राजधानी काठमाडौंको लैनचौरमा रहेको अस्कल क्याम्पसले जहिल्यै बजेटको अभाव खेप्दै आएको छ । ‘पुल्चोक क्याम्पसले इन्जिनियरिङ, महाराजगन्जले मेडिसिन र अस्कलले साइन्स विषयको केन्द्र भूमिका निर्वाह गर्छ,’ क्याम्पस प्रमुख राजेश महाजु भन्छन्, ‘तर, दु:खको कुरा त्रिवि पदाधिकारीले प्रवद्र्धन नीति नलिएकाले वर्षौंदेखि बजेटकै अभावमा पिल्सिएका छौं । माथि (केन्द्रमा) जति चिठी पठाउँदा पनि जवाफ पाउन सकेका छैनौं ।’

२०७२ को भूकम्पपछि जीर्ण मुख्य भवनको बीचभागमा रेट्रोफिटिङ हुन सकेको छैन । जसले गर्दा पुस्तकालय, अडिटोरियम हल, स्टोर, शिक्षक कक्षा, केही कक्षाकोठा बन्द छन् । मूल सडक छेउमा रहेको क्याम्पसका कक्षाकोठाहरू धूलाम्मे र अँध्यारा छन् । ट्युबलाइट मुस्किलले पिलपिल बल्छन् । घेरा पर्खाल पुनर्निर्माण नहुँदा क्याम्पस गँजेडीहरूको थलो बनेको जनाइएको छ । यहाँ बीएस्सी चारवर्षे र एमएस्सी दुईवर्षे पठनपाठन हुँदै आएको छ ।
२०६५ सालसम्म प्रमाणपत्र तह (पीसीएल) पढाइ भएसम्म विद्यार्थीको चाप थेगिनसक्नु थियो । अहिले करिब १ हजार ५ सय विद्यार्थी छन् । स्नातकतर्फ बीएस्सी सीएसआईटी र मास्टर्सको पढाइ सेमेस्टर प्रणालीमा सुचारु छ । बीएस्सी फिजिक्स, केमेस्ट्री, बाटानी, जुलोजी, म्याथमेटिक्स, माइक्रोबायोलोजी र इन्भाइरोनमेन्ट विषय वार्षिक प्रणालीमा छन् । एमएस्सीतर्फ फिजिक्स, केमेस्ट्री, बोटानी, जुलोजी, म्याथमेटिक्स सुचारु छ । बीएस्सी र एमएस्सीका दुई प्रयोगात्मक कक्ष (ल्याब) छन् । त्यहाँ राखिएका उपकरणहरू वर्षौं पुराना छन् ।
सेमेस्टर प्रणाली लागू भएपछि विषयअनुसार विद्यार्थी कोटा तोकिएको छ । एमएस्सी फिजिक्समा ६०, केमेस्ट्रीमा ४५, बोटानी, जुलोजी र म्याथमेटिक्समा २४–२४ जनाको कोटा छ । तर यो वर्ष म्याथमेटिक्समा कुनै विद्यार्थी भर्ना नभएको क्याम्पस प्रमुख महाजुले जनाए । बीएस्सी सीएसआईटीमा ६० जनाको कोटा भर्ना लिने बेलामा नौ सय जनाले आवेदन दिएका थिए । डिन कार्यालयबाट प्रवेश परीक्षा लिइने र मेरिटका आधारमा विद्यार्थी भर्ना गरिएको छ । ‘सेमेस्टर पूर्णरूपमा विद्यार्थी उपस्थित भएर पढ्नैपर्ने भएकाले नतिजा उत्कृष्ट छ,’ क्याम्पस प्रमुख महाजु भन्छन्, ‘वार्षिक परीक्षा प्रणालीमा पनि विद्यार्थीका निम्ति प्रयोगशालासमेत रहेकाले नतिजा राम्रो छ ।’
बीएस्सी वार्षिक प्रणालीमा पढ्नेले चार वर्षमा ३२ हजार रुपैयाँ शुल्क बुझाउँछन् । बीएस्सी सीएसआईटी पढ्नेले चार वर्षमा २ लाख रुपैयाँ र एमएस्सी पढ्नेले १ लाख ३० हजार रुपैयाँ शुल्क तिर्छन् । ‘निजी कलेजमा बीएस्सी सीएसआईटी पढेको भए चार वर्षका निम्ति ६ लाख रुपैयाँ तिर्नुपथ्र्यो,’ तेस्रो सेमेस्टरका छात्र गिरिराज खनालले भने । निजी क्षेत्रबाट स्थापना गरिएको नेपालको पहिलो विज्ञान शिक्षालाई जसलाई पब्लिक साइन्स कलेज (पस्कल) भनिन्थ्यो । यस क्याम्पसका संस्थापक अमृतप्रसाद प्रधान हुन् । २०१३ सालमा स्थापित कलेजका संस्थापक प्रधानको निधनपछि उनको योगदानलाई लिएर अमृत साइन्स कलेज (अस्कल) नामकरण गरिएको हो ।
अस्कल क्याम्पस लैनचौर सडक दक्षिणतर्फ साढे ७ रोपनी र उत्तरतर्फ १५ रोपनी क्षेत्रफलमा फैलिएको छ । उत्तरतर्फ चारतले छात्रावास र ११ वटा प्रिफेबका टहरामा कक्षा छन् । यहाँ पढाउने स्थायी शिक्षक १ सय ४० जना, आंशिक १ सय र ७९ कर्मचारी कार्यरत छन् । सहायक क्याम्पस प्रमुख पुष्पलाल होमागाईंका अनुसार ल्याबमा कर्मचारीको अभाव छ ।
‘क्याम्पसको बृहत्तर विकासका निम्ति एक अर्ब रुपैयाँको गुरुयोजना निर्माण गरी बजेटको माग गरेका छौं,’ क्याम्पस प्रमुख महाजुले भने, ‘त्रिवि केन्द्रबाट पास भयो र विश्वविद्यालय अनुदान आयोगमा पुगेको छ । हामी दाताको खोजीमा छौं ।’ भूकम्पलगत्तै पूर्वविद्यार्थीको एल्मुनाई अस्कल फाउन्डेसन गठन गरेको तर केन्द्रले स्वीकृति नदिएको समेत उनले जनाए ।
‘क्याम्पस प्रमुखलाई हरेक कुरामा बाँधिएको छ, आंशिक शिक्षक भर्ना गर्नेबाहेक अरू अधिकार छैन,’ उनले भने । धेरै वर्षदेखिको विद्युत् प्राधिकरणलाई ५० लाख रुपैयाँ र खानेपानी संस्थानलाई ३० लाख रुपैयाँ तिर्न बाँकी रहेकोसमेत प्रमुख महाजुले बताए ।
छात्रावास पनि जीर्ण
अस्कल क्याम्पस छात्रावासमा देशभरिका विद्यार्थी छानिएर बस्छन् । ५६ वर्षअघि बनाइएको चारतले भवन भूकम्पले आंशिक क्षति पुगेको छ । तैपनि १ सय २० विद्यार्थी र केही कर्मचारी दु:खजिलो बसेको वार्डेन उमाकान्तलाल कर्णले जनाए । विद्यार्थीले छात्रावासमा कोठा, बिजुली, पानी, पत्रपत्रिकाको सुविधा पाउँछन् । त्यसबापत वार्षिक ३ हजार ७ सय ५० रुपैयाँ शुल्क तिर्दैआएको छात्र सुरेश बुढामगरले बताए । उनीहरूले मेसमा खाना प्रतिछाक ५० रुपैयाँ तिर्छन् ।
(कान्तिपुरबाट)

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations