बिशेस समाचार

गाउँमा जनताले जसलाई भोट दिएपनि काठमाडौ पुगेपछि होलसेलमै बिक्री हुन्छ: भृकुटी

HOT NEWS       ,

२९ कात्तिक, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट महिला संगठन अनेमसंघ (क्रान्तिकारी)का केन्द्रीय महासचिव धिरेन्द्रा कुमारी उपाध्याय ‘भृकुटी’ले दलाल संसदीय व्यवस्थाको अन्त्य नभएसम्म जनताको घर आँगनमा सुख र शान्तिको प्रकाश बल्न नसक्ने बताएकी छन् ।

नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको मुम्रामा गरेको जनसभालाई सम्बोधन गर्दै नेतृ भृकुटीले बैज्ञानिक समाजवाद स्थापनाको लागि निर्णायक संघर्षको अपरिहार्यता औल्याउँन् । संसदीय पार्टी र तिनका नेताहरू सत्ता र सम्पतिका लागि बिदेशी शक्तिसामु लम्पसार परेको आरोप लगाउदै उनले आगामी मंसिरमा घोषणा गरिएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन खारेजी अभियानमा साथ दिन जनतालाई अपिल गरिन् ।

२०६४ सालको संविधानसभा सदस्य (सभासद) रहेकी भृकुटीले झण्डा र चुनाव चिन्ह भिन्नभिन्न लिएर आएपनि माके, एमाले,कांग्रेसबीच आधारभूत भिन्नता नरहेको प्रष्ट पारिन् । “गाउँमा जनताले आफ्नो राजनीतिक आस्था वा चुनावी आश्वासनको आधारमा भोट दिन्छन्, तर जितेर काठमाडौ पुगेपछि मुख्य नेताको पहलमा देशैभरका जनताको भोट होलसेलमा खरिदबिक्री हुन्छ,” उनले भनिन्, “प्रवृत्ति र प्रणाली नबलिएसम्म दल र नेता जतिसुकै फेरबदल भएपनि राजनीतिक चक्र यसैगरी चलिरहन्छ ।”

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी कालिकोटका इन्चार्ज लोकजङ्ग शाही ‘समर’ले प्रचण्ड-बाबुरामले बेवारिसे बनाएको क्रान्तिको झण्डा बोकेर आफ्नो पार्टी अगाडी आएकोले क्रान्तिलाई निर्णायक बिन्दुमा पुर्याएरै छाड्ने अठोट व्यक्त गरे । सहिदको रगतको अवमूल्यन गर्नेहरूलाई शान्तिपुर्वक निदाउन नदिने चेतावनी दिएका नेता समरले आफ्नो लडाइ राज्यका विरुद्ध भएको स्पष्ट पार्दै अन्य पार्टीलाई बीचमा नआउन समेत आग्रह गरे ।

कार्यक्रम बाजागाजासहितको स्थानीय झाकी पनि प्रस्तुत गरिएको थियो । जनसभामा जिल्ला जनसरकार प्रमुख किरण, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य सुनिता बम ‘कामना’, जिल्लास्तरीय नेताहरु समग्र, आइटम लगायतले धनरुप बटलाको रगत खेर जान नदिने प्रतिबद्धता जाहेर गर्दै आगामी चुनावमा मतदान नगर्न कालिकोटबासीलाई अपिल गरेका थिए ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations