बिशेस समाचार

सत्ताको आडमा दमन गरे सिंहदरबारमै बम पड्किन्छ: भरत बम

HOT NEWS       ,

२५ कात्तिक, कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणबीर’ले राज्यले सत्ताको आडमा आफुहरुमाथि दमन गरे त्यसको जवाफमा सिंहदरबारमै बम पड्काउने चेतावनी दिएका छन् । कालिकोटको रास्कोटमा नेकपाले गरेको आमसभालाई सम्बोधन गर्दै नेता बमले अबको क्रान्ति गाउँभन्दा बढी सहर र काठमाडौमा केन्दृत हुने बताए । “राज्यले थोपरिरहेको युद्धका विरुद्ध हामीले क्रान्तिको नयाँ मोडेल अगाडि सारेका छौं,” उनले भने, “अब जनताको घर आँगनमा हैन, दलालहरुको केन्द्र काठमाडौ र सिंहदरबारमा लडाइ हुन्छ ।” देश र जनताको जीवनमा परिवर्तन ल्याउने कुरा प्रधान भएको भन्दै बमले मंसिरमा घोषणा गरिएको चुनावले वास्तविक शान्ति र समृद्धि स्थापना गर्न नसक्ने बताए । प्रचण्ड-बाबुरामले संसदबादी दलसँग आत्मसमर्पण गर्दै सहिदका सपनालाई बिक्री गरेको आरोप लगाउदै उनले स्वविवेकले चल्न माओवादी कार्यकर्तालाई आग्रह गरे ।
केही दिनअघि मात्रै गृह मन्त्रालयले चुनाव बिरोधि गतिविधिमा संलग्न रहेको भन्दै विप्लवका नेताकार्यकर्तालाई नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिहहरुलाई निर्देशन दिएको थियो । सरकारको उक्त निर्णयको बिरोध स्वरुप विप्लवको पार्टीले कालिकोटमा शक्ति प्रदर्शनसहित खुल्ला आमसभा गरेको हो । स्थानीय प्रहरी प्रशासनकै अगाडि चुनाव बिरोधि सामग्रीसहित र्‍याली निकालिएको थियो ।
सोही कार्यक्रममा बोल्दै पुर्व सभासद तथा अनेमसंघ(क्रान्तिकारी)का केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ले सिंहदरबारले किसान, मजदुर, दलित, महिला, श्रमिक जनताको शान्तिपुर्ण आवाज नसुनेकाले आफू फर्किएर जनताको बिचमा आइपुगेको बताइन् । जिल्ला पार्टी इन्चार्ज लोकजंङ्ग शाही ‘समर’ले कालिकोट सधैं क्रान्ति र परिवर्तनको पक्षमा उभिएको स्मरण गर्दै आगामी मंसिरको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव बहिस्कार गर्न जनतालाई आग्रह गरे । कार्यक्रममा नेकपा सेती ब्युरो सदस्य हिमशिखर, अखिल(क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य सुनिता बम ‘कामना’, राष्ट्रिय युवा जनस्वंयमसेबकका कर्णाली ब्युरो संयोजक दिनेश लगायतले आगामी चुवाबमा मतदान नगर्न अपिल गरेका थिए ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations