बिशेस समाचार

रत्नपार्कमा हात हेर्ने ज्योतिष र सिंहदरबारका नेताहरु

यथार्थमा ज्योतिषी एउटा शास्त्रीय बिज्ञान नै हो । तर काठमाडौको रत्नपार्क छेउछाउको सडकमा बसेर हात हेर्ने ज्योतिषहरु प्रयाप्त ज्ञान नभएका ठगी गर्ने कलासहितका श्रमिक हुन् ।

उनीहरुको एकमात्र उदेश्य आफ्नो दैनिकी गुजारा चलाउने हो । त्यसका लागि सडकमा बसेर दैनिक सयौं बटुवाहरुलाई उल्लु बनाइरहेका हुन्छन् ।

कैयौंको हात हेरेर अरुको भाग्य र भबिस्य बताउने उनिहरु यो पनि भन्न सक्दैनन् कि आफ्नो हातको कुन रेखामा लेखिएको छ – रत्नपार्कमा बसेर अरु मान्छेहरुको हात हेर्नुपर्ने भनेर । तथापि उनीहरु स्वेच्छिक रुपमा त्यहाँ बसिराखेकै छन् ।

ठिक त्यसैगरी संसदबादी नेताहरूले नेपाली जनतालाई प्रत्येक चुनावमा जोकर बनाइरहेका छन् । प्रत्येक भाषणमा भ्रमित पारिरहेका छन् । २०४८ सालदेखि कांग्रेस-एमालेले सारमा उहीँ नारा भट्याइरहेका ।

प्रत्येक निर्वाचनको अवसरमा नेताहरूले आफु निकट बौद्धिक जमातलाई नेपालको बर्तमान अवस्था र बिकासको संभावनाबारे निबन्ध लेख्न लगाउछन् र उत्कृष्ट छानेर चुनावी घोषणापत्र बनाउछन् ।

ती निबन्धहरु छापेर कार्यकर्ताले जनतालाई बाड्छन् र तिनै निबन्धको आधारमा भोट बटुल्ने प्रयत्न गर्छन् । चुनाव जितेपछि नेता सिंहदरबार फर्किन्छन्, अनि देशको ढुङ्गा, माटो, बालुवा, नदि, खोला, जंगल बेचेर आफ्नो लागि सम्पत्तिको जोहो गर्न लाग्छन् ।

उता जनता घोषणापत्रमा चटपटे खाएर डस्बिनमा फ्याक्छन् । ४-५ बर्षपछि त्यसको भाग-२ सुरु हुन्छ, फेरि अर्को ४-५ बर्षमा भाग-३ तीन । र घोषणापत्रमा जे लेखे नि हुन्छ किनकी नयाँ घोषणापत्रमा अघिल्लोबारे केही उल्लेख गर्नुपर्दैन ।

चुनाव जितेपछि घोषणापत्रका के कति काम भए र भएनन् भनेर न संसदमा जवाफ दिनुपर्छ, न सञ्चारमाध्यममा न त जनताको घरदैलोमा नै ।

हरेक कुराको सुचना राख्ने सरकारी गुप्तचर निकायले घोषणापत्रमा उल्लेखित मध्ये कुन दलले कति काम गर्यो भन्ने कुराको हिसाब राख्न जरुरी ठान्दैन ।

उटपट्याङ प्रश्न सोध्ने ऋषि धमालाले घोषणापत्र पढेकै हुदैनन्, तीखो प्रश्न सोध्ने रवीन्द्र मिश्र आफै घोषणापत्र लेख्ने कसरतमा जुटेपछी अरु पत्रकार पनि झण्डा बोक्दै कुद्नु अब कुनै आश्चर्य भएन ।

डोल्पामा सडक पुर्याउने घोषणा गरेको कति भयो, अब पुग्छ कहिले ? यस्ता सरल प्रश्नहरुको उत्तर जटिल बनाउने दल र नेता यिनै हुन् ।

त्यसैले रत्नपार्कका ज्योतिष र सिंहदरबारीय नेताबीच भिन्नता भनेको स्केलको मात्रै हो, अभियान दुइटैको एउटै हो सर्वसाधारणलाई झुक्याएर आफ्नो स्वार्थ पुर्ती गर्ने ।

एउटाले भबिस्य बताइदिने भन्दै हात मागेर १-२ सय कुम्ल्याउने र अर्कोले देशको भबिस्य बनाइदिने भन्दै भोट मागेर लाखौं-करोडौं लुट्ने ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations