बिशेस समाचार

बाबुराम भट्टराईलाई खुलापत्र- ‘पुजीवादमा रगतको मुल्य’बारे नयाँ पिएचडी गर्नुहोस्

प्रिय पुर्व कमरेड डा. बाबुराम भट्टराई,

एउटा पत्र लेख्न सुरु गर्दैगर्दा म अलमलमा छु सम्बोधन कसरी गर्ने भनेर । लालसलाम सुन्दा- तपाईलाई अनौठो लाग्छ होला आजकाल, जय नेपाल भनौं- मलाई अनौठो लाग्छ, रामराम भन्नलाई- म नयाँ शक्तिको कर्याकर्ता हैन । तथापि तपाईलाई बधाई दिन मन लागेको छ । मान्छेहरूले जे जसरी ब्याख्या गरेपनि प्रचण्ड घुमिफिरी आज तपाइको लाइनमा आइपुग्नुभएको छ । गठबन्धनको नेता केपि ओलि भएपनी, प्रमुख हिस्सेदार प्रचण्ड भएपनि राजनीतिक हिसाबले यो तपाइको बिजय हो । ब्यबहारिक रुपमा पनि एमाले र माके बिचमा बैचारिक दुरि समाप्त भएको छ । चुनवाङ-खरिपाटी-पालुङटार-हेटौंडा-बिराटनगर-दशरथ रंगशाला-राष्ट्रिय सभागृहको रुटमा माओवादी आन्दोलन, पार्टी र नेताकार्यकर्तालाई जुन गन्तव्यमा लैजाने मिसनमा हुनुहुन्थ्यो आंशिक रुपले सफलता हासिल गर्नुभएको छ ।

आज तपाई माकेमा भएपनि नभए पनि, गठबन्धनमा रहेपनि नरहे पनि प्रचण्डहरु एमालेमा प्रबेश गर्न तयार हुनु भनेको तपाइको लाइनले बैधानिकता पाउनु सरह हो । किरण, गौरव र बिप्लब बाहेक नेतृत्वपंक्तिमा रहेका अधिकांश नेताहरु, एकथरी कार्यकर्ताहरु र एकथरी समर्थकहरु पनि तपाइले खनेको बाटोमा सवार हुन आइपुगेका छन् । तपाई र प्रचण्ड भने कुनै बेलाको आफ्नै कार्यकर्ता रबिन्द्र श्रेष्ठको बाटोमा जाँदै हुनुहुन्छ । यस अर्थमा बधाईको प्रसंग हो । तर बधाईहरु सधैं सकारात्मक परिणामस्वरूप मात्रै प्रदान गर्ने गरिदैन भन्ने कुरा ख्याल गर्नुहोला । थवाङमा पुगेर बधाईसंगै प्रकट हुने आक्रोशको सामना गर्नुहोला, कृष्ण सेन इच्छुकको घरमा गएर बधाईसंगै मिसिने पिडाको मापन गर्नुहोला, मास्टर साबको गाउँमा बधाईसंगै अभिव्यक्त हुने जनमतको हिसाब गर्नुहोला ।

तपाईको जिवनमा एउटा समय त्यागको थियो । काठमाडौमा या बिदेशी भुमिमा लाखौंको जागीर उपलब्ध हुन सक्थ्यो । लोकसेवाको छनोटमा सजिलै नाम अटाउने अवस्था थियो । जुनकुनै देशले सहजरूपमा प्रबेशआज्ञा दिने संभावना थियो । तथापि ब्यक्तिगत जीवन भन्दा सार्वजनिक जीवन जिउने निर्णय गर्नुभयो । त्यसमा पनि क्रान्तिकारी राजनीतिको भुमिगत अध्यायमा नेतृत्वदायी उपस्थिती जनाउने कुरा अवश्य पनि महत्त्वपूर्ण थियो । साथै उक्त कुरा जनयुद्धमा त्यागको एउटा उच्च नमुना पनि थियो । पार्टी भित्र एक हिसाबले प्रचण्डको देबत्वकरण गरिएपनि राष्ट्रिय एवं अन्तरास्ट्रिय स्तरमा सार्वजनिक ब्यक्तित्व तपाइको एकेडेमीक डिग्रीका वरिपरि केन्दृत थियो । त्यसैको उपज स्वरुप कैयौं युवाहरू ‘डा. बाबुराम भट्टराई’ को बिद्धताबाट प्रभावित भएर माओवादी पार्टीमा आबद्ध भएका थिए । तपाइको बौद्धिकताका बारेमा ‘हिरोइक तथ्य’ सुन्दा कार्यकर्ताहरू आफूलाई माओवादी कार्यकर्ता हुनुमा गर्ब गर्ने खालको माहोल सिर्जित थियो ।

तर आज समयले उल्टो दिशामा कोल्टे फेरेको छ । तपाइको मार्गदर्शनमा, प्रचण्डको नेतृत्वमा तय गरिएको पथमा माओवादी आन्दोलनले असामान्य बिचलनको स्टेशन हुँदै रक्षात्मक चरणतर्फ धकेलिनुपर्यो । नेपाली कम्युनिस्ट आन्दोलनको मुल प्रबाह दक्षिणपन्थी अवसरबादमा विलीन हुनपुग्यो । जनयुद्धबाट स्थापित मुल्य मान्यता किंवदन्तीमा परिणत भए । राजनीतिक एजेन्डाहरु सत्ता र सम्पतिका लागि लिलाम गरिए । कार्यकर्ताहरु वैदेशिक रोजगारीको नाममा मान्छे बेच्ने म्यानपावर धाउनुपर्ने स्थिति बन्यो । सहिदको मूल्य दस लाख निर्धारण गरियो । बेपत्ता योद्धाहरु सदाका लागि बेपत्ता घोषित ठहरिए । आधार इलाकाहरु द्वन्द्व प्रभावित क्षेत्रमा रुपान्तरण भए ।

तपाई प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा रहेको बेला ‘माओवादी ट्याग’ले अफ्ट्यारो पारेको कुरा बताउनुभएको थियो । तपाइले यो कुरा भुल्नु भयो कि- ‘माओवादी ट्याग’ले नै हो बौद्धिक बाबुराम भट्टराईलाई राजनीतिक बाबुराम भट्टराईको रुपमा नेपाली समाजमा स्थापित गराएको । यदि जनयुद्ध हुन्थेन र सत्र हजार नेपाली जनताका छोराछोरी मर्न तयार हुन्थेनन् भने सिंहदरबारको ढोका तपाईका लागि सधैं बन्द हुन्थ्यो । बालुवाटार उक्लिने भर्याङ कुनै पिएचडीको उपाधी र बिश्वविद्यालयको गोल्ड मेडलले निर्माण हुन सम्भव थिएन र हुदैन पनि । कहिले ‘आजको माक्र्सवाद’, कहिले ‘तीन स’ त कहिले नयाँ शक्तिको ब्यानरमा पार्टीभित्र भिन्न धारको निर्माण गर्दै माओवादी आन्दोलनलाई दक्षिणपंथी कित्तामा पुर्याउने अभियानमा निरन्तर जुटिरहनु भयो । कहिले पार्टीमा राजीनामा दिएर, कहिले पार्टी फुटाएर, कहिले गठबन्धन जुटाएर, कहिले गठबन्धन टुटाएर क्रान्तिकारी धारलाई तितरबितर गर्ने प्रयत्नमा एकाग्र भएर लाग्नुभयो । दुनियाँले देख्नेगरि माओवादी केन्द्रलाई एमालेको बैचारिक-राजनैतिक सहकर्मीका रुपमा झल्काउन्जेल १० दिनको लागि पुनः एकपटक कम्युनिस्ट बन्नुभो । अपेक्षित चुनावी लाभ नपाउने देखिएपछि कम्युनिस्ट गठबन्धन तोडेर पछाडि फर्किनुभयो । १० दिन नटिक्ने गठबन्धन कसरी बन्छन् ? आफूलाई बाम लोकतान्त्रिक भन्ने तपाईले ‘एउटै कम्युनिस्ट पार्टी’ निर्माण गर्ने सहमति पत्रमा कसरी हस्ताक्षर गर्नुभो ?

२०५२ सालमा बुझएको ४० बुदे ज्ञापनपत्र एकपटक दोहोर्‍याएर अध्ययन गर्नुहोस्, उक्त पत्रमा गरिएको हस्ताक्षर निहालेर हेर्नुहोस् । गत असोज १७ गते एमाले र माकेसंग गरिएको सहमति पत्रमा गरिएकोमा हस्ताक्षर छेउमा राख्नुहोस । दुईवटा हस्ताक्षरलाई जोड्ने सोसियो पोलिटिकल इन्जिनियरिङ नक्सा कोर्नुहोस । र एउटा निष्कर्ष निकाल्नुहोस- जनयुद्ध गर्नु सहि थियो कि अपराध ? जनयुद्ध गर्नु अपराधिक कार्य थियो भन्ने लाग्छ भने जेल जान तयार हुनुहोस् । जनयुद्ध आवश्यक र सत्य थियो भन्ने निष्कर्षमा पुग्नुहुन्छ भने आज ब्यक्तिगत जिन्दगीमा फर्किन पाउनुहुन्न । सहिदको रगतले लत्पतिएको झण्डालाई बिक्री गर्न या अलपत्र छोड्न पाइदैन । १० लाख रुपैयाँ दिएर कुनै सहिदको सपना पूरा हुँदैन । दिलबहादुर रम्तेलको घरमा पुगेर सोध्नुहोस, सुरेश वाग्लेको घरको अवस्था बुझ्नुहोस, किमबहादुर थापाको छोराको अनुहार निहाल्नुहोस- कसैको बलिदान पैसाका लागि थिएन । १० लाखलाई बढाएर २० लाख पुर्याएपनि कुनै सहिद परिवारको घरमा खुसियाली छाउने छैन किनकी भौतिक शरिरको आर्थिक मुल्य हुँदैन । बैज्ञानिक समाजवादका लागि उठान गरिएको जनयुद्ध र त्यसले सिर्जना गरेका नेतालाई दलाल पुजीवादले किन्ने कोसिस गरिरहेको छ । अमुक नेताकार्यकर्ता बिक्री भएपनि क्रान्तिकारी बिचार बिक्री हुन सक्दैन । यदि तपाई कम्युनिस्ट आन्दोलनबाट युटर्न हुँदै जनयुद्धको स्कुल विरुद्ध उभिने मनस्थितिमा पुग्नुभएको हो भने पुजीवादमा रगतको मुल्यबारे नयाँ पिएचडी गर्नुहोस् । रगतको मूल्य निर्धारण गर्न सक्नुभयो भने सहिद परिवारलाई त्यसको मूल्य तिरेर जानुहोस । हैन भने बैज्ञानिक समाजवादको लागि सुरु हुने नयाँ आन्दोलनले बिचलन र धोकाधडिको मूल्य अवश्य तय गर्नेछ जसको भुक्तानीबिना तपाईको ब्यक्तिगत तथा राजनीतिक जीवन स्वतन्त्र र सुरक्षीत हुनेछैन ।
धन्यवाद !

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations