बिशेस समाचार

केपिमा पिकेको विलय

देश       गुणराज लोहनि ,

दसैँलगत्तै १७ असोजमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालका बीचमा ६ बुँदे सहमति भयो । यो सहमतिको मुख्य केन्द्र आगामी प्रदेश र संसद्को चुनावमा तालमेल गर्ने र त्यसपछि पार्टी एकता गर्ने रहेको छ । एकाएकजस्तो भएको यो एकतालाई धेरैले विभिन्न अर्थमा लिएका छन् । यसअघिसम्म पुष्पकमल (पीके) दाहाल नेतृत्वको माओवादी पार्टी र केपी ओली नेतृत्वको एमालेका बीचमा खासै राम्रो सम्बन्ध थिएन । अझ विसं ०५२ मा ‘जनयुद्ध’ सुरु गर्दै गर्दा रत्नपार्कमा भित्ताकाण्ड भएको थियो । त्यही घटनापछि तत्कालीन माओवादीले एमालेलाई प्रतिक्रियावाद उन्मुखको आरोप लगाएको थियो । यसरी प्रतिक्रियावाद उन्मुखको आरोप फिर्ता नलिईकन एकाएक एकतामा जानु वास्तवमै रहस्यमय छ ।

माओवादी र एमालेबीचको यो तिक्तता त्यसपछिका दिनमा झनै बढेर गएको थियो । यसै प्रसंगलाई लिएर १ पुस ०५४ मा पीकेले जनादेश साप्ताहिकमा एमालेको चरित्र चित्रण गर्दै ‘एमाले गुट र संशोधनवादी फोहोरको डंगुर चलाउने प्रश्न’ शीर्षकको एउटा लेख नै लेखेका थिए । त्यसको सुरुआतमै उनले लेखेका छन्, ‘नेपालमा निम्न पुँजीवादी अवसरवाद कसरी दक्षिणपन्थी संशोधनवादमा पतन भयो र त्यसले आज कसरी सामन्तवादको सेवा गरिरहेको छ भन्ने कुरा एमाले गुटको चरित्रले स्पष्ट गर्दछ । माक्र्सवादको नाम लिएर माक्र्सवादको मुटुमा चुपी धस्नु, वर्गसंघर्षको कुरा गरेर वर्ग समन्वयको व्यवहार गर्नु, जनताको नाम लिएर जनताकै छातीमा बुट बजार्नु, त्यहाँबाट पनि अगाडि बढेर राष्ट्रघात र जनहत्याद्वारा सामन्तवाद र साम्राज्यवादको प्रत्यक्ष सेवा गरी जनता र क्रान्तिविरुद्ध प्रतिकारको अपिल गर्दै प्रतिक्रियावादसम्मको अभ्यास गर्नु आज एमाले गुटको मूल चरित्र बन्न गएको छ ।’

पीकेले यो लेख लेख्दै गर्दा एमालेको विशेष पहल र सहयोगमा एकीकृत महाकाली सन्धि संसद्बाट पारित भएको थियो । अर्कोतिर वामदेव गौतम गृहमन्त्री भएका समयमा प्रेमसिंह धामीको नेतृत्वमा माओवादी ‘जनयुद्ध’ दबाउने आयोग गठन भएको थियो र वामदेवले आतंककारी तथा विध्वंश ऐन ल्याएका थिए । जसले गर्दा राष्ट्रियता र जनतन्त्र दुवै एमालेका कारण एकदमै संकटमा परेका थिए । जबकि, पीके महासचिव रहेको तत्कालीन माओवादीले राष्ट्रियता र जनतन्त्रका मुद्दा लिएर ‘जनयुद्ध’ गरेको थियो ।

त्यो लेख लेखेको २० वर्षपछि पीकेहरू एमालेसँग एकता गर्ने निर्णयमा पुगिरहेका छन् । यसअघि पनि बेलामौकामा एकताका कुरा नआएका होइनन् । तर, तिनीहरू पानीको फोकासरी हराएर जाने गरेका थिए । तर, यसपालि कुनै हल्लाबिना नै एकाएक एकता गर्ने निर्णय भएको छ । यसले सबैलाई आश्चर्यचकित बनाएको छ । चुनावी एकतापछि सहज बहुमत मात्र होइन कि दुईतिहाइ बहुमत ल्याउने अपेक्षा राखेको कुरा उनीहरूले आफ्ना भाषणमा व्यक्त गरेका छन ।

माके–एमाले सम्बन्ध 
यी दुई पार्टीको स्थापनाकालदेखि नै सम्बन्ध राम्रो थिएन । पञ्चायतकालमा मालेको नामबाट एमाले चिनिन्थ्यो भने माओवादी चौथो महाधिवेशन हुँदै मशालसम्म पुग्दा तीव्र वैचारिक विवाद थियो । पञ्चायतविरुद्धको आन्दोलनमा एमाले नौ वामसहित कांग्रेससँग मिल्न गएको थियो भने तत्कालीन मशालको मुख्य पहलकदमी र बाबुराम भट्टराईको नेतृत्वमा संयुक्त राष्ट्रिय जनआन्दोलन निर्माण भएको थियो । पञ्चायत ढलेसँगै यिनीहरूका बीचमा वैचारिक संघर्ष तीव्र बन्दै गएको थियो । महाकाली सन्धिपछि र मदन भण्डारी–जीवराज आश्रितको रहस्यमयी दुर्घटनामा निधनसँगै राष्ट्रियताको मुद्दा लिएर एमालेले गरेको आन्दोलनप्रति मशालसहित बनेको नेकपा (एकता केन्द्र)को एकदमै छोटो समयलाई कार्यगत एकता भएको थियो । एमालेले आन्दोलनबाट हात झिकेपछि उनीहरूबीचको वैचारिक लडाइँ बढ्दै गयो । ०५२ सालमा बागबजारमा रहेको भित्तालाई लिएर माओवादी र एमालेबीच सडक संघर्ष नै भयो । त्यतिबेला एमाले सरकारमा थियो । एमालेका रूपनारायण श्रेष्ठहरूले बाबुरामहरूमाथि खुकुरी, चिर्पटसम्म प्रयोग गरेका थिए । त्यस समयमा पीके भूमिगत जीवन बिताइरहेका थिए । रोल्पा, रुकुमजस्ता जिल्लामा एमाले सरकारले दमन गर्न थालेको थियो । तर, त्यसको केही समयपछि नै एमालेको सरकार ढलेर शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस–राप्रपाको सरकार बनेपछि एमाले बलियो प्रतिपक्षमा थियो ।

‘जनयुद्ध’ सुरु भयो । माओवादीको एउटा मान्यता थियो– दक्षिणपन्थी संशोधनवादलाई परास्त गरेर मात्र नयाँ जनवादी क्रान्ति पूरा गरी समाजवादमा जान सकिन्छ । रुसमा पहिला निखिता ख्रुस्चेव र पछि आएर मिखाइल गोर्वाचोभले लिएको पाँच ‘स’ अर्थात् शान्तिपूर्ण सहअस्तित्व, शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण प्रतिस्पर्धा (आर्थिक), सम्पूर्ण जनताको राज्यसत्ता, सम्पूर्ण जनताको पार्टी नीति एमालेले लिएकाले डटेर विरोध गर्ने नीति माओवादीले अपनाएको थियो ।

उता एमालेका लागि पनि जनमोर्चा नेपाल टाउको दुखाइ बनेको थियो । एकातिर वैचारिक संघर्षका नाममा एमालेले लिएको संशोधनवादी नीतिको भण्डाफोर गरिरहेको थियो । माओवादीले सशस्त्र ‘जनयुद्ध’ गर्ने भनेको थियो । एमालेलाई थाहा थियो, उनीहरू पनि सशस्त्र संघर्षबाट नै अस्तित्वमा आएका हुन् । माओवादी पनि सशस्त्र संघर्षमा गयो भने उसको विकल्प हुन पुग्छ भन्ने एक किसिमको त्रासमा रहेकाले प्रारम्भिक चरणमा निमिट्यान्न होस् भन्ने एमालेको सोच थियो । त्यसैले एमाले र माओवादीका बीचमा कहिल्यै राम्रो सम्बन्ध कायम हुन सकेन ।

झन् ‘जनयुद्ध’मा गएपछि त भौतिक दुस्मनी बढ्दै गएको थियो । एमालेका नेता/कार्यकर्ताको सुराकीका कारण माओवादीका कैयौँ नेता/कार्यकर्ताको हत्या र गिरफ्तारी भएको माओवादीले आधिकारिक रूपमा नै आरोप लगाएको थियो । ‘जनयुद्ध’को रापताप बढ्दै गएपछि एमालेका तल्लोस्तरका नेता/कार्यकर्ताहरू माओवादीमा प्रवेश गरेर युद्धको मोर्चासम्म सम्हाल्न पुगेका थिए । यति मात्र होइन, यसरी प्रवेश गर्नेहरूमध्ये दोलखाका रीतबहादुर खड्का, धादिङका भरत ढुङ्गानाहरूलाई तत्कालीन शाही सेनाले दोहोरो भीडन्तका नाममा हत्यासम्म गरेको थियो ।

त्यसैले संकटकाल सुरु हुनुअघि रोल्पामा हारजङ र रुकुममा यदु गौतम काण्ड भएको थियो । यी दुवै काण्ड एमाले र माओवादीबीचका भौतिक भिडन्तका उदाहरण हुन् ।

यति मात्र होइन, एमालेनिकट कैयौँ साहित्यकारहरूले ‘जनयुद्ध’लाई आपराधिक गतिविधिका रूपमा चित्रणसम्म गर्न पुगेका थिए । एमालेका तत्कालीन स्थायी समिति सदस्य तथा साहित्यकार सञ्जय थापा भनेर चिनिने प्रदीप नेपालले ‘जनयुद्ध’लाई कुरूपतामा प्रस्तुत गर्दै ०५७ मा आकाश गंगाको तीरैतीर उपन्यास नै लेखेका थिए ।

०५२ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा रोल्पा र रुकुममा रोमियो अप्रेसन चलाइएको थियो । त्यस समयमा सामान्य प्रतिपक्षीको धर्म निर्वाह गर्नसमेत एमालेले चाहेन । त्यसै गरी ०५५ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा ‘किलो सेरा टू’जस्तो नरसंहारकारी अप्रेसन गर्दा पनि एमालेले विरोध गरेन ।

दरबार हत्याकाण्डपछिको पहिलो वार्ताकालमा सिलगुडीमा एमालेसहितका वामपन्थीहरूबीचको वार्ताका क्रममा गरिएका खास–खास कुरा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्रलाई जस्ताको त्यस्तै सुनाएको माओवादीको आरोप छ, जसको खण्डन अहिलेसम्म भएको छैन । माओवादीका भनाइमा माधव नेपालले त्यहाँ भएका कुरा राजालाई नसुनाएको भए त्यही समयमा नै राजतन्त्रको अन्त्य भइसक्ने थियो । तर, त्यस समयमा न वार्ता सफल भयो, न राजतन्त्रको अन्त्य नै भयो । बरू, युद्धविराम नै भंग भयो, माओवादीका विरुद्ध सेना परिचालन भयो । देशैभरि संकटकाल घोषणा गरियो । माओवादी नेता/कार्यकर्ताको टाउकोको मोलसम्म तोकियो । त्यही क्रममा सबैभन्दा बढी जनताले ज्यान गुमाए । तर, एमालेले संकटकाल र सेना परिचालनको विरोधसम्म गरेन । उल्टै पहिलो चरणको संकटकाल र सेना परिचालनमा त संसद्मा त्यसको पक्षमा मतदान नै गरेको थियो ।

शाहीकालको चरम संकटकालमा प्रतिगमन आधा सच्चिएको भन्दै एमाले ०६१ मा सरकारमा सामेल भयो । एउटा कम्युनिस्ट पार्टीका नाममा भएको यस्ता गतिविधिले गर्दा एमाले विगतमा बदनाम भएको त थियो नै, साथै माओवादीले दुस्मनको कित्तामा पनि राखेको थियो । राजाद्वारा १९ माघ ०६१ मा सबै संसदीय पार्टीमाथि प्रतिबन्ध लगाइएपछि संदीय पार्टी र माओवादीहरूका बीच कार्यगत एकता हुन पुगेको थियो । माओवादी राजतन्त्रको अन्त्य चाहन्थ्यो । तर, एमालेका नेता र अहिलेका अध्यक्ष केपी ‘नेपालमा गणतन्त्र ल्याउनु भनेको गाडा चढेर वासिङ्टन गएजस्तो हो’ भनिरहेका थिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पनि उनीहरूका बीचमा सम्बन्ध सुध्रिन सकेन । पहिलो संविधानसभाको चुनापछि बनेको माओवादी नेतृत्वको सरकार, जसमा एमाले पनि थियो– राष्ट्रपति, सेनापति र पशुपति यी तीन पतिको मुद्दामा एमालेले माओवादीलाई साथ मात्र नदिएको होइन कि विरोधमा उत्रिएपछि सरकार ढलेको थियो । दुवै क्षेत्रमा माओवादी कार्यकर्ताद्वारा हराइएका तर सभासद्मा à ल्याएर गुन लगाइएका माधव नेपालले नै माओवादी सरकारलाई च्यूत गरेका थिए ।

यस्ता असंख्य घटना छन्, जसले एमाले र माओवादीको मिलनविन्दुलाई टाढा बनाइरहेको थियो । उनीहरूका बीचमा कहिल्यै पनि आत्मीयता रहेन । १५ असोज ०७४ सम्म मुलुकवासीले उनीहरूका बीचमा सौहार्दता रहला भन्ने चिताएका थिएनन् । तर, एकाएक कायापलट भयो ।

कसरी सम्भव भयो एकता ? 
एमाले र माके एकताको सैद्धान्तिक पक्षचाहिँ के हो भने एउटा देशमा एउटा मात्र क्रान्तिकारी कम्युनिस्ट पार्टी अस्तित्वमा रहन सक्छ भनेजस्तै एउटा देशमा एउटा मात्र शक्तिशाली संशोधनवादी पार्टी रहन सक्छ । त्यसैले एमाले र माकेका बीचमा अहिलेसम्म खच्याकखुचुक भइरहेको हो । यही कारणले पनि उनीहरूका बीचमा एकता अनिवार्य थियो । अथवा, एकले अर्कालाई निल्न जरुरी थियो । माके बलियो भइन्जेल एमालेले उसको अस्तित्व स्वीकार गर्न सकेन । त्यसैले उनीहरूका बीचमा असमझदारी देखा पर्‍यो । अहिले माके राजनीतिक र सांगठनिक दुवै पक्षमा कमजोर भइसकेपछि एमालेमा विलय हुन तयार भएको हो ।

नेपालको संसदीय राजनीतिक परिघटनामा विदेशी प्रभाव रहेन भन्न सकिँदैन । यो एकतामा पनि वैदेशिक प्रभाव स्पष्ट देखिन्छ । तर, यो प्रभाव अचम्मको भयो । विगतमा जस्तो दक्षिणको एकलौटी मात्र नभएर उत्तरको पनि जबर्जस्त प्रभाव देखा पर्‍यो । यसमा दिल्लीमा देखा परेको अन्तरविरोध सतहमा आएको छ । इन्दिरा गान्धीले स्थापना गरेको खुफिया संस्था ‘र’ र नरेन्द्र मोदी सरकारका बीचमा रहँदै आएको अन्तरविरोध यहाँ छताछुल्ल भएको छ । यही अन्तरविरोधको फाइदा उठाएर उत्तरले बाजी मारेको अवस्थामा यहाँका वामपन्थीहरूको एकता सम्भव हुँदैछ ।

खैर † केही समयसम्म जीवनमरणको लडाइँ लड्दै आएका दुई वामपन्थी विचार, राजनीति र सांगठनिक रूपमा नै माक्र्सवादलाई पूर्ण रूपमा परित्याग गरी एकतामा आएका छन् । तर, यिनीहरूबीचका धेरै प्रश्न अनुत्तरित छन् । ‘जनयुद्ध’लाई आतंककारी गतिविधि, सहिदहरूलाई द्वन्द्वका क्रममा मारिएका, नेताहरूलाई हत्यारा र लुटेरा भन्दै आएको एमाले र प्रतिक्रियावाद उन्मुख भन्दै आएको माकेको एकता कसरी अगाडि बढ्छ, त्यो भने हेर्न बाँकी नै छ । दुवै पार्टीका इमानदार, वैचारिक–राजनीतिक नेता र कार्यकर्ताका दिमागमा तुफान उठिरहेको छ । त्यो तुफानको पैमानाको परिमाण पनि हेर्न बाँकी नै छ । उनीहरूका अगाडि अब एकताभन्दा अर्को विकल्प पनि छैन । सारमा, यसले बहुदलीय संसदीय व्यवस्था भनिए पनि दुईदलीय तानाशाही व्यवस्थाको आधार खडा गरेको छ ।

(नेपाल साप्ताहिकबाट साभार गरिएको)

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations