बिशेस समाचार

प्रचण्डले रुखमा मतदान गरेको राती आकाशमा चम्किने ताराहरु

देश       ,

उमाकान्त शर्मा

रुसमा अक्टोबर क्रान्ति भइरहेको समयमा एकजना रुसि लेखकले लेखेका थिए, देशमा यसरी उथलपुथल भइराखेको छ कि प्रत्येक बिहान समाचार पढ्दा म आफैंलाई सम्हाल्न असमर्थ हुन्छु । आज नेपालमा त्यति ठूलो क्रान्ति, बिद्रोह वा युद्ध केही भइरहेको छैन । तर पनि घटनाक्रम निहाल्दा अनौठो र अचम्म लाग्छ । पाठकले नसोचेका समाचारहरु प्रकाशित भइरहेका छन् । नागरिकले अनुमान गरेभन्दा बिपरित दिशामा राजनीतिक गतिविधि अघि बढिरहेका छन । कार्यकर्ताले अपेक्षा गरेको भन्दा उल्टा निर्णय, निर्देशन र सर्कुलर आइरहेका छन् नेतृत्वबाट । जसरी इन्द्रेणीमा एकैपटक सातवटा रङ्ग देख्न पाइन्छ, त्यसरी एउटै शासनप्रणालीका सातवटा रुपहरु प्रकट भइराखेका छन् । एउटै पार्टीका सातवटा नीति अभिब्यक्त भइरहेका छन् । एउटै कानुन र वाक्यका सात कोणबाट भिन्न सातवटा ब्याख्या भइरहेका छन् । एउटै नेताका सातवटा बिम्ब र आकृति देख्नु र झेल्नुपरेको छ । प्रकृतिमा जति विविधता भयो त्यति नै सुन्दरता बढ्छ । तर राजनीति र राजनीतिक नेतृत्व बहुरुपी पात्रको अभिनयमा पुगेपछि देश अस्थिरताको भुमरीमा फस्छ, जनता निराश हुन्छन् र युवाहरू पलायन हुन्छन् ।

लोकमानसिंह कार्किको अख्तियार प्रमुखमा नियुक्ति देखि उनिमाथी महाभियोग प्रस्ताव ल्याउनेसम्मका शृङ्खला हेर्ने हो भने उनको नियुक्तिमा जुन पार्टी र नेता लागिपरेका थिए, उनलाई हटाउन पनि तिनै पार्टी र नेता सत्तापक्ष प्रतिपक्ष नभनी रातारात एक ठाउँमा उभिए । यो कुनै ब्यक्ति वा पार्टी बिशेषको कुरा मात्रै हैन । यसले बिद्यमान समग्र व्यवस्था, त्यसभित्रका कप्तानहरुको कार्यशैली, नियत र मनोदशाको समेत चित्रण गर्दछ । एकजना संबैधानिक आयोग प्रमुखलाई हटाउनका लागि आफ्नै पार्टिका सांसदको हस्ताक्षर झुक्याएर गराउनुपर्ने अवस्थामा नेताहरु किन पुग्छन् भन्ने प्रश्न सामान्य छैन ।

कानुनी राज्यमा अदालतलाई सद्बिबेक,अधिकार र न्यायको सर्बोच्च एवं अन्तिम स्रोतका रुपमा लिइन्छ । अदालतको फैसला न्यायपुर्ण हुने अपेक्षा गरिन्छ । तर नेपालको अदालत र यसका फैसलाको बारे बेलाबखत प्रश्न उठ्ने गरेका छन् । गिरिजाप्रसाद कोइरालाले संसद विघटन गर्दा बैधानिक हुने तर मनमोहन अधिकारीले सोही काम गर्दा असंवैधानिक ठहरिने, पार्बती थापाको बरियता मिचिदा बर्षौसम्म मुद्दा पेन्डिङमा राखिने अनि नवराज सिलवालको बरियता मिचिने अनुमानको भरमा केही घन्टामै निर्णय सुनाउने जस्ता बिषयले स्पष्ट हुन्छ कि अदालतबाट न्याय मात्रै मिल्छ कि अन्याय पनि, अदालतमा राजनीति हुन्छ कि अरु केही पनि । यति हुँदा पनि नेतालाई विधि, प्रक्रिया, कानुनी शासन, न्यायसंग कुनै सरोकार छैन । केबल आफू अनुकुल भयो कि भएन भन्ने कुराले सबै चिजको निर्धारण गर्दछ । अन्य प्रयोजनका निम्ति संकलित हस्ताक्षरको दुरुपयोग गरेर महाभियोग प्रस्ताव दर्ता गर्ने अनि आफ्नै बारेमा आफै अन्तरिम आदेश दिने कुराले संसदिय व्यवस्था र कानुनी शासनको समेत खिल्ली उडाएको छ।

शुशिला कार्की र लोकमानसिंह प्रकरण त प्रतिनिधि घटना र उदाहरण मात्र हुन् समग्र, राजनैतिक पार्टी र तिनका नेताहरूलाई प्रतिबिम्बित गर्न । बैशाख ३१ र जेठ ३१ मा स्थानीय तहको निर्वाचन हुदैछ । आफैले बनाएका बिधि, बिधान, आचारसंहिता र नैतिकताको मतलब छैन । लोकतन्त्रको सामान्य मान्यता बिपरित निर्वाचनको बिचमा सरकार परिवर्तन गरिदैंछ । कोहि उल्टो दिन गन्ती गर्दै नयाँ दौरा सुरुवाल सिलाएर बसेका छन् भने कोहि दर्जनौंपटक मन्त्री बनेर कीर्तिमान रच्न केही सय घन्टाका लागी सपथ खान्छन् देश र जनताको नाममा । यी शृङ्खलाले देखाइरहेका छन् लोकतान्त्रिक, बहुदलीय, गणतान्त्रिक, संसदीय प्रणालीभित्रका अनैतिक, कुरुप र बिकृत दृश्यहरु ।
अझ चुनावी तालमेलहरु नपत्याइने प्रकृतिका छन् । पार्टी दस्तावेजमा जसलाई बर्ग दुश्मनका रुपमा ब्याख्या गरिएको छ उसैसंग तालमेल गरिएको छ । चुनावी घोषणापत्रमा जसका कुराहरू बिरोधाभाष देखिन्छन् उनिहरुकै बिचमा तालमेल गरेर दलहरूले लोक हँसाउने काम गरेकै छन् ।

कुनै समय थियो प्रचण्ड र शेरबहादुर देउवा नेपाली राजनीतिको बिपरित ध्रुबमा थिए । तत्कालीन नेकपा (माओवादी)ले राखेको ४० सुत्रीय माग देउवाले बेवास्ता गर्दा १७ हजार नेपालीले ज्यान गुमाउनुपर्यो । केन्द्रमा देउवा सरकारले माओवादीलाई आतंककारी घोषणा गर्दै माओवादी नेताकार्यकर्ताको टाउकोको मूल्य तोकेको थियो । स्थानीय स्तरमा पनि कांग्रेसि सुराकिमा माओवादी, नेताकार्यकर्ता र समर्थकको हत्या भएको थियो । उसो त विचार र राजनीतिका आधारमा आज पनि देउवा र प्रचण्डले बिपरित ध्रुवको प्रतिनिधित्व गरिराखेका छन् । तर सत्ता गठबन्धन र निर्वाचनले कांग्रेस र माओवादीलाई एउटै कित्तामा पुर्याइदिएको छ । कतिसम्म भने चितवन, पोखरासहित कैयौं ठाउँमा कांग्रेस-माओवादी सयुक्त प्यानल बनेका छन् ।चितवनमा भएको तालमेल अनुसार प्रचण्डसहित उनका परिवारका सबै सदस्यले रुख चिन्हमा समेत भोट हाल्नेछन् ।

रुखमा मतदान गर्ने कुरा संसदमा देउवालाई प्रधानमन्त्रीका लागि भोट हालेजस्तो हैन । चुनाव चिन्हसंग जनताको भावना जोडिएको हुन्छ, पुस्तौंदेखिको सम्बन्ध जोडिएको हुन्छ । प्रचण्डले कुन उद्देश्यका लागि रुखमा भोट हाल्न फर्मान जारी गर्दैछन् रु जनयुद्ध र सहिदका सपना पूरा गर्न हो या जनयुद्ध गेरेकोमा माफी माग्न रु बेपत्ता योद्धाहरुलाई खोज्नका लागि हो कि सदाका निम्ति बेपत्ता घोषणा गर्न रु कुनै सहिद वा गरिब किसानकी छोरीलाई राज्यका निकायमा पुर्याउन कि आफ्नी छोरीलाई अघोषित राजकुमारीको मान्यता दिलाउन रु स्टालिनले जर्मनद्वारा बन्दी बनाइएको आफ्नो छोराको हत्या स्वीकार गरे तर जर्मनका सर्तहरु मानेनन् । युद्धका क्रममा कोरियामा श्रीमान बितेपछी माओकी बुहारीले अन्तिमपटक आफ्नो श्रीमानको लास हेर्ने इच्छा व्यक्त गरिन । आफ्नो छोराको मात्रै लास चीन ल्याउन माओले मानेनन् किनकी उनको नजरमा सबै सहिद समान थिए । तर आज प्रचण्ड आफ्नो छोरालाई स्वकीय सचीव नियुक्त गरेका छन् । छोरीलाई मेयर बनाउनका लागि सुक्न लागेको चिलाउनेको रुखमा मलजल गरेर हराभरा बनाउने अभियानमा जुटेका छन् ।

स्वरसम्राट नारायणगोपालकी श्रीमतीले भनेको कुरा सम्झना आउँछ, म बेलाबेला चक्रपथको नारायणगोपाल चोकको बाटो हिडिरहेको हुन्छु । जब पानी परेको कुनै दिन शालिक तिर आँखा पर्छन्, म टक्क अडिन्छु । हुनत थाहा छ कि मलाई त्यो निर्जीव शालिक हो । तर पनि मलाई लाग्छ छेउमा उभिएर छाता ओडाइराखौं । स्वर्ग-नर्कको बारेमा जानकारी र बिश्वास त छैन ।यदि त्यसो हुदोरहेछ भने, जनयुद्धका सुप्रीम कमान्डर प्रचण्ड र उनका परिवारले रुखमा मतदान गरेको खबर स्वर्गमा रहेका सहिदले सुनेभने के गर्लान् ? पक्कै पनि उनिहरु आफ्ना प्रीय पुर्ब कमान्डरको अमुल्य पुत्ला दहन गर्नेछन् । बेपत्ता योद्धाहरु फर्किए आए र मेयर बन्ने सपनामा प्रचण्डकि छोरी रेणु दाहालले रुख चिन्हमा छाप लगाउदै गरेको तस्बिर देखे भने पत्याउलान कि नपत्याउलान ? पृथ्वीबाट आकाशतिर हेर्दा संधै सुन्दर, आकर्षक र चम्किला देखिने तर कहिल्यै चिन्न नसकिने ताराहरु चम्किरहनेछन या त्यसको बिरोधमा आकाशमै हडताल गर्नेछन् ? कांग्रेसि सरकारले हजारौं नेताकार्यकर्ता मारेको , सयौंलाई बेपत्ता पारेको अझ प्रचण्डको टाउकोको मुल्य घटनाहरु यो संसारले भुलेको छैन । प्रचण्डले रुखमा भोट हालेको दिन, सायद त्यो कालरात्रीमा कुनै सहिदको चिहानमाथी उभिएर हेर्दा आकाशमा ताराहरु र जुन पनि देखिने छैनन् । केवल चारैतिर कालो बादलको छायाँले उपस्थिति जनाउनेछ । जुनकीरीले पनि आफ्नो मधुरो सानो बत्ती निभाएर अध्यारोमै उदास रात बिताउनेछ । नारायणि नदिले बग्न अनिच्छा व्यक्त गर्दै रोकिने प्रयास गर्नेछ । तर प्राकृतिक आँधी बेहोरीको सिर्जनामा नयाँ बाढी आयो भने कुनै राहुकेतुको गुरुत्वाकर्षणले पनि रोक्न सक्ने छैन ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations