बिशेस समाचार

सातौं राष्ट्रिय खेलकुद : आर्मीको आधिपत्य

HOT NEWS       ekantipur ,

पुस १४, २०७३

नेपाल आर्मीले आफ्नो आधिपत्य कायम राख्दै सातौं राष्ट्रिय खेलकुदअन्तर्गत इटहरी रंगशालाको यात्रालाई टुंग्याएको छ । आर्मीले तेक्वान्दोको १६ मध्ये ११ स्वर्ण जित्यो । ट्रयाक एन्ड फिल्डमा वर्चस्व जमाएको आर्मीले बुधबार पुरुष भलिबलको स्वर्ण पनि जित्यो ।

इटहरीमा कुल ५२ स्वर्णको छिनोफानो भएको थियो । इटहरी रंगशालाभित्र भएका ५० स्वर्णमध्ये आर्मीले ३४ स्वर्ण आफ्नो पक्षमा पार्‍यो । एथलेटिक्समा आर्मीले ३२ मध्ये २२ स्वर्ण जितेको हो । त्यसमा तेक्वान्दोको स्वर्णपदक पनि थपिएको हो । तेक्वान्दोको निर्माणाधीन हलमा सम्पन्न ५ मध्ये ३ स्वर्ण आर्मीको नाममा रह्यो । महदत वेस, मीरा काफ्ले र रामदत्त भट्टले स्वर्ण थपेका हुन् ।

‘धेरै राम्रो प्रदर्शन हो । हामीले यसअघि यति स्वर्ण कहिल्यै जित्न सकेका थिएनौं । यसअघि ८–९ स्वर्ण जित्दै आएका थियौं । त्यसैलाई निरन्तरता दिने हाम्रो लक्ष्य थियो,’ आर्मीकी प्रशिक्षक संगीना वैद्यले भनिन्, ‘टिम च्याम्पियन हुन्छौं भन्ने थियो । सागर गुभाजू, मीरा काफ्लेलगायत नयाँ खेलाडीलाई एक्सपोजर दिएका थियौं, उनीहरूले राम्रो खेले । अर्का नयाँ खेलाडी ज्ञानेन्द्र हमालले स्वर्ण जित्न नसके पनि राम्रो खेले ।’

नेपाल प्रहरीका वीरबहादुर महराले ६३ केजीमुनि स्वर्ण जिते । उनले फाइनलमा आर्मीका नौबालक चौधरीलाई हराए । आर्मीकै हीरामान चौधरीले कांस्य थापे । मीराले ७३ केजीमा स्वर्ण जित्नेक्रममा मध्यमाञ्चलकी अस्मिता रिजाललाई पराजित गरिन् । सशस्त्रकी अप्सरा कार्कीले कांस्य जितिन् ।

पुरुष ७४ केजीमा पुलिसका निश्चलमान श्रेष्ठले स्वर्ण जिते । निर्धारित स्कोर १३–१३ भएपछि सडनडेथमा निश्चलले आर्मीका ज्ञानेन्द्र हमाललाई ‘स्ल्याप किक’ हान्दै पराजित गरे । सुदूरपश्चिमका इन्द्रबहादुर सिंह र सशस्त्रका भरत बोहराले कांस्य जिते । ८० केजीमा आर्मीका रामदत्तले मध्यमाञ्चलका विवेक श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जिते । पूर्वाञ्चलका राजकुमार माझी र मध्यपश्चिमका जयप्रकाशको नाममा कांस्यपदक रह्यो । तेक्वान्दोमा क्षेत्रीय टिमले स्वर्ण जित्न सकेन ।

विभागीय टोलीको वर्चस्व रहँदा आर्मी ११ स्वर्ण, २ रजत र १ कांस्यपदक जित्दै टिम च्याम्पियन भयो । प्रहरीले ४ स्वर्ण, ५ रजत र ९ कांस्य तथा सशस्त्र प्रहरीले १ स्वर्ण र ८ कांस्य जितेका थिए ।
इटहरी रंगशालाभित्र आर्मीले अर्को बहुमूल्य स्वर्ण पुरुष भलिबमा जित्दा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबलाई पराजित गर्‍यो । आर्मीले २५–२१, २५–१६ २६–१६ सेटले नतिजा जित्यो । उल्लेख्य दर्शकबीच सम्पन्न फाइनलमा सशस्त्रले आर्मीलाई खासै चुनौती दिन सकेन ।

कांस्यपदकमा नेपाल प्रहरीले पश्चिमाञ्चलबाट वाकओभर पायो । अघिल्लो दिन रेफ्रीमाथि हातपात गरेपछि पश्चिमाञ्चलका तीन खेलाडी लोकेन्द्र भण्डारी, राजन थापा र रमेश केसीलाई आयोजक समितिले एक वर्ष निलम्बन गर्ने निर्णय गरेको थियो । सोही कारण पश्चिमाञ्चल खेल्नै आएन ।
महिलातर्फको स्वर्ण सशस्त्रले जित्यो । सशस्त्रले मध्यमाञ्चललाई ३–० को सेटमा हरायो । राष्ट्रिय टोलीकी खेलाडी प्रतिभा मालीको नेतृत्वमा रहेको मध्यमाञ्चलमाथि सशस्त्रले २५–२१, २५–२१, २५–२२ को नतिजा निकाल्यो । डिफेन्डिङ च्याम्पियन प्रहरीले कांस्यपदक पनि जित्न सकेन । तेस्रो स्थानमा पश्चिमाञ्चलले पुलिसलाई कठिन प्रतिस्पर्धामा १९–२५, २५–२३, २५–२०, १७–२५, १५–१३ ले पराजित गर्‍यो ।

इटहरीमा थप दुई इभेन्ट महिला फुटबल र महिला क्रिकेट पनि भएका थिए । महिला फुटबलमा सशस्त्रले प्रहरीलाई हराउँदै स्वर्ण जित्यो । महिला क्रिकेटमा चौका विवादपछि एपीएफले फाइनल बहिष्कार गर्दा पूर्वाञ्चलले स्वर्ण जितेको हो ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations