बिशेस समाचार

तेस्रो लिङ्गी भन्छन्ः सम्मानित जीवन चाहन्छौं

जीवनशैली       ,

घर तथा समाजमा अपहेलित भइरहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले जीविकोपार्जन गर्न र समाजमा स्थापित हुन सीप तथा आयमूलक तालिम माग गरेका छन्। झापाको भद्रपुरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा सो माग गरिएको हो।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रति समाजमा रहेको भ्रम हटाउने सम्बन्धमा सरोकारवाला निकायबीच एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।

लिङ्गको अस्पष्टताले गर्दा घर, समाजबाट अवहेलनाको शिकार भइरहेको उनीहरुले बताएका थिए। त्यही भएर घर, परिवारबाट बाहिर आएर आफ्ना सङ्गठन खोज्दै हिंड्नुपरेको उनीहरुको गुनासो थियो। ‘रोजगारीको सुनिश्चिता राज्यले गरिदेओस्, हामी सम्मानित जीवन जिऊन चाहन्छौं,’उनीहरुको साझा माग थियो।

तेस्रो लिङ्गी प्रेम थापाले आफू पुरुष भएर जन्म लिएको तर पछि लिङ्गमा आएको परिवर्तनले आफ्नो जीवनमा नै परिवर्तन ल्याइदिएको बताए। ‘मेरो आवाज महिलाको जस्तो छ, धेरै कुरा महिलासँग मिल्दोजुल्दो भएकोले म आफूलाई महिला भन्न रुचाउँछु,’ उनको भनाइ थियो ।
तेह्रथुमका कमला गुरागाईंले जुङ्गा र दाह्री आएको बताउँदै आफूसँग दुवै लिङ्ग भएकाले समाज र घरबाट एकलिएको जानकारी दिए।

अर्की कमला विमला श्रेष्ठले आफू गरिब भएको घरमा अन्य सदस्यको विवाह भइसक्दा आफ्नो बारेमा चर्चा हुन लाग्दा मात्र समाजका मानिसले तेस्रो लिङ्गी भएको थाहा पाएको बताए।

पारिवारिक तथा सामाजिक अवहेलनाले आफूहरुलाई जीवन जिउन कठिन भएको दुखेसो पोखे। ‘सीप, तालिम र लगानीको स्रोत भइदिए हामी यसरी किन हिंड्थ्यौं र ?’ गुरागाईको माग थियो, ‘हामीलाई सम्मानित भएर आफ्नो खुट्टामा आफैं उभिन मन छ।’

प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले वर्तमान संविधानले सबै किसिमको विभेद अन्त्य गरेकाले सबैको हक अधिकार सुरक्षित रहेको बताए।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations