बिशेस समाचार

डान्स र एक्टिङलाई मर्ज गर्दा म्याजिक हुन्छः नम्रता केसी

अन्तरवार्ता       ,

डान्सर तथा कोरियोग्राफरको पहिचान बनाएकी नम्रता केसीले नाटक निर्देशनमासमेत हात हालेकी छन् । सर्लाहीमा जन्मिएकी नम्रताले पहिलो पटक ‘स्वान लेक’ नाटकलाई निर्देशन गरेकी थिइन् । हाल उनले निर्देशन गरेको नाटक ‘ज्यानमाया’ मण्डला नाटकघरमा मञ्चन भइरहेको छ । नम्रताको व्यक्तिगत जीवन, रंगमञ्चमा उनको भुमिका लगायतका विषयमा केन्द्रित रहि नमस्ते पोस्टका लागि सरोज गुरागाईँले गरेको कुराकानीमा आधारितः

निम्नमध्यम वर्गीय मानिसको साधारण प्रेमकथा हो ज्यानमाया । उनीहरुको प्रेममा रहेको उतारचढाव र भोगाइ समेटिएको खण्डकाब्यलाई हामीले नाटक बनाएको हो । मलाई बच्चैदेखि कथा भन्न र सुन्न एकदमै मनपथ्र्यो । म डान्सबाट आएको हो । म डान्सलाई पनि कथा भन्ने माध्यम भन्न रुचाउँछु ।

नाटकलाई पनि म कथा नै भन्छु । कसैले लेखेको, भनेको, सुनेको विषयलाई मञ्चमा प्रस्तुत गरिन्छ । डान्सबाट नाटक देखाउँदापनि त्यो एक प्रकारको शैली नै भयो । त्यसैले डान्सलाई म नाटकको एक शैली भनेर परिभाषित गर्छु ।
मैले नेपालमा डान्समा ब्याचलर्स गरें ।

त्यसपछि इन्डिया गएर डान्सको २ बर्षे मास्टर्स कोर्सपनि गरें । त्यहाँ मैले एउटा गजबको तरिका पाएँ । इन्डियामा के हुंदो रहेछ भने निश्चित समयको डान्स कोर्स सकेपछि एक्टिङ शुरु हुंदो रहेछ । डान्सिङको अन्तिम विन्दु अभिनयलाई बनाइदोरहेछ । यसबाट के निश्कर्ष निकाल्न सकिन्छ भने डान्सलाई एक्टिङबाट अलग गर्नै सकिन्न । डान्स र एक्टिङ एक अर्काका परिपुरक रहेछन् । डान्स र एक्टिङलाई मर्ज गर्दाचाहिँ म्याजिक हुन्छ ।

मैले एसएलसी दिँदा के ट्रेन्ड थियो भने हरेक युवतीले चाहिँ त्यसपछि नर्सिङ पढ्नुपर्ने । म पनि त्यही हुलमुलमा लागेर नर्सिङ पढ्न तयार भएँ । तर मेरो नाम निस्किएन । नर्सिङको इन्ट्रान्स रिजल्ट पर्खिँदा पर्खिँदा कलेजहरुको भर्नापनि बन्द भइसकेको थियो । एकदिन मेरा एकजना आफन्तले पिकेमा भर्ना बाँकी छ भनेर सुचना दिनुभयो ।

डान्सप्रतिको मेरो लगाव बुवालाई पनि राम्रैसंग थाहा थियो । संयोगवश पिकेमा पनि डान्सिङको कोर्स रहेछ । मेरो बुवा आफैंले मलाई पिकेमा डान्सिङमा भर्ना गरिदिनुभयो । कलेजका विभिन्न कार्यक्रमहरुमा मैले नाचें । सरहरु र साथीहरुले पनि तैंले निक्कै नै राम्रो नाच्छेस् भन्न थाल्नुभयो । त्यसले मलाई उर्जा दियो । त्यो उर्जाले मेरो क्षमतामा अझ निखार आउँदै गयो । विभिन्न स्कुलहरुमा नाच सिकाउन थालें । यसले मेरो करियर निर्माणमा ठूलो सहयोगी भुमिका खेल्यो ।

यो क्षेत्रमा लाग्दा मलाई परिवारबाट ठूलो सहयोग प्राप्त भएको छ । इन्डियामा डान्सको कोर्स गर्न मेरो परिवारले नै खर्चको जोहो गरिदियो । यति हुंदाहुंदै पनि मेरो परिवारको चाहनाचाहिँ छोरीको करियर डान्सबाट निर्माण भएपनि रोजगारीचाहिँ पढाइबाटै होस्र भन्ने छ । छोरीले डान्स त गरोस् तर जागीर खावोस् भन्ने चाहनुहुन्छ ।
मेरो अन्तरमनको इच्छालाई पछ्याएर म रंगमञ्चमा निर्देशकका रुपमा आएकी हुं । थियटरमा डान्स र एक्टिङलाई मर्ज गरेर किन प्रयास नगरुँ भन्ने जिज्ञासाको प्रतिफल नै ज्यानमाया हो । अहिले बनेको यो नाटकपनि मेरो आफ्नैमात्र मेहनत र पसिना होइन । बरु मेरो समुहको सामुहिक प्रयत्नको उपज हो ज्यानमाया । जहाँ हामीले सिक्न दिमागलाई खुल्ला राखेका थियौं । साथीहरुले आ–आफ्नो अनुभव बाँड्नुभयो र हामीले सामुहिक रुपमा प्रयत्न ग¥यौं । त्यसले ज्यानमायालाई जन्मायो ।

जीवनमा मलाई डान्सबाहेक अरु केहिपनि आउँदैन । मैले अब बाँकी दिनमा केहि गरेंभने यही डान्स हो । मलाई डान्सको माध्यमले अरु आर्ट फर्मसंग कोलाबरेट भएर काम गर्न मन पर्छ ।
एउटा लिरिकल डान्स प्रोजेक्ट थियो । त्यसका लागि मण्डलामा आएकी थिएँ । त्यतिबेला मण्डला पूर्ण रुपले बनिसकेको थिएन । बुद्धबाणी भन्ने एउटा प्ले थियो यसोधराको कोणबाट कथा भनिएको । नम्रताले यशोधराको भुमिका गर्छ भनेर साथीहरुले भने । नाजिर हुसेनचाहिँ बुद्ध बनेको थियो । मेरो पहिलो अभिनय त्यही थियो । त्यही बेला नै राजन सरले मलाई नोटिस गर्नुभएको रहेछ ।

एकदिन राजन सरले,‘थियटरमा काम गर्नुपर्छ मैले तिमीमा त्यो सम्भावना देखेको छु’ भन्नुभयो । उहाँहरु सुनकेशरी भन्ने प्ले लिएर बंगलादेश जान लाग्नुभएको रहेछ । यस्तैमा एकदिन राजन सरले मेरो मोबाइलमा फोन गरेर बंगलादेश जानुपर्छ सुनकेशरी लिएर भन्नुभएको थियो । म अल्लि नर्भस पनि भएँ । कहिल्यै थियटरमा काम गरेको थिएन खासै सम्झिनैपर्ने गरेर । मैले आफ्नो असमर्थता जनाएँ उहाँलाई । तर एकजना मेरो साथीपनि गएकाले अन्तिममा म बंगलादेश गएँ । त्यसले थियटरप्रतिको झुकावलाई अझ बढाइदिएको थियो ।

मैले पहिलो नाटक पनि बंगलादेशमै हेरेकी हुं । त्यो पनि बंगाली भाषामा ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations