बिशेस समाचार

प्रतिक दुलालका दुई कविता

कविता       ,

(१)
म कवि

कविताहरुको भारी बोकेर
कुनै दिन म
यहि शहरका गल्ली चोकहरु
नदि छेउका किनारहरुना
थकित भएर
लामो निश्वासका साथ
सुस्केरा हाल्दै
ललाटबाट बग्दै गरेको
पसिना दाना पुछेर
छेवैको चौतारीमा थकाई मार्दा
शिशीरको सिर्सिरे बतासले
यो मन र मस्तिष्कलाई
ओभानो बनाउथ्यो र
हृदय पुलकित भएर झन्
कविताहरुको भारी चाङ
थप्दै जान्थ्यो
निकै बर्ष पछि आज
ति धुमिल विगतको स्मरणमा
आफ्नो खबटे अनुहार र
भोकले दविएको पेटलाई धान्न
लौरोको भरमा
रित्तै अगाडि बढेको म
एउटा अन्जान झाडिमा ,
बिसाएर कविताको भारी
आईपुगेको छु घना जंगलमा
बाटोमा छरपस्ट छन्
कविताहरु
बटुलेर भारी हाल्ने रहर
मरिसकेको छ
बरु एक पेट भर्न
भौतारीरहेको छु,
जंगली फलवृछ्यको खोजीमा
निरीह म कवि

(२)
मृत्युको मुल्य

हरीयो बाँसमा बाधेर
सेतो कात्रोले बेरेर
एकहुल मलामीहरु
खोलामा झर्छन् र झरेको
मैले देखेको छु
समय परिवर्तन सँगै
संस्कार पनि
परिवर्तन भएर आउदो रहेछ संगै
आज कसैको कालमा
कसैको अकालमा नै मरेकाहरुको
मुल्य खोजीरहेछन्
आजका सन्तती
मृत्युको मुल्य तौलीरहेछन्
विमर्शका तराजुहरुमा
बार्गेनिङ हुने गर्छन्
तिता वियरका चुस्किहरु संगै
पलपल जोखिन्छन् मृत्युका नाममा
जिवित आत्माहरू र
बिकिरहन्छन्  सन्ततीका निम्ती
अब संस्कार र समाज
परिवर्तन भएको छ
हिजो जन्मदा
म पनि मुल्य बोकेर आएको छु ,
बेचिनका निम्ती

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations