बिशेस समाचार

यसरी स्थापना भएको थियो नेपाल कम्युनिष्ट पार्टी

इतिहास       ,

नेपाली राष्ट्रिय कांग्रेसबाट राजिनामा दिइ माक्र्सवादी अध्ययनमा जुट्न थालेपछि नै पुष्पलाल नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने दिशामा एकाग्र भएर लागे । यस दिशाको थालनी कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवादबाट भयो । साथै ‘माक्र्सवादी अध्ययन मण्डल’ को गठन पनि यसको पृष्ठभुमी हो । त्यसबखत भारतका विभिन्न सहरहरुमा अवस्थित कलेजहरुमा प्रशस्त नेपाली विद्यार्थीहरु अध्ययनरत थिए ।

वि.सं १९९२(सन् १९३५) तिर बनारसमा ‘नेपाली छात्र संघ’ र वि.सं २००२(सन् १९४५) मा कलकत्तामा ‘हिमाञ्चल विद्यार्थी संघ’ का रुपमा उनीहरु संगठित समेत थिए । कलकत्तामा अध्ययनरतमध्ये केशरजंग रायमाझी वि.सं २००२ र बनारसमा अध्ययनरतमध्ये मनमोहन अधिकारी वि.सं १९९९ देखि भारतीय कम्युनिष्ट पार्टी(भाकपा) को सम्पर्कमा रहँदै आएका थिए ।

केशरजंग रायमाझी भाकपाको भातृसंगठन विद्यार्थी फेडेरेसनका सदस्य र उल्लेखित हिमाञ्चल विद्यार्थी संघको मेडिकल कमिटीका सचिवसमेत थिए । त्यसैले उनी अध्ययनरत क्याम्पवेल मेडिकल स्कुलको छात्रवास( जहाँ उनी बस्थे) मा माक्र्सिस्ट स्टडी सर्कलको गठन गर्ने प्रकृयाको थालनी गरियो ।

तर रायमाझीले त्यस बर्ष चिकित्साशास्त्रको बार्षिक परीक्षा दिनुपर्ने भएकाले उक्त कार्य क्याम्पवेल मेडिकल स्कुलबाट कलकत्ताको हरिशचन्द्र रोडमा सारियो । साथै भारतकै विभिन्न क्षेत्रहरुबाट नेपालतर्फ पनि सम्पर्क बढाइयो । वनारसबाट पाल्पा, कलकत्ताबाट काठमाडौं, दार्जिलिङबाट झापा, मोरङ र इलाम तथा बर्मासम्म पनि सम्पर्क बढाइयो ।

स्टडी सर्कलसंग सम्बद्ध एक ब्यक्तिका अनुसार– ‘‘उल्लेखित रुपमा स्टडी सर्कलहरुको गठन भइरहेकै अवस्थामा पुष्पलालले अप्रत्याशीत ढंगबाट उक्त सर्कलमा आवद्ध नरहेका मानिसलाई साथ लिएर कम्युनिष्ट पार्टी गठन गरेको खबरले हामी सबैलाई चकित पा¥यो ।’’

‘‘कुनैपनि कम्युनिष्ट पार्टीको गठन गर्नुभन्दा पहिला माक्र्सवादी अध्ययन मण्डलको गठन गरि त्यसबाट प्रशिक्षण प्राप्त ब्यक्तिहरुलाई लिएर नै कम्युनिष्ट पार्टीको स्थापना गरिन्छ । तर यहाँ त्यसो नभइ, मेरा अतिरिक्त डिपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, एबी प्रधान र रामबाबुजस्ता स्टडी सर्कलका सक्रिय ब्यक्तिहरुलाई पन्छाएर मोतिदेवी, निरञ्जन गोविन्द बैद्य, नरबहादुर कर्माचार्य र नारायण बिलास जोशीजस्ता स्टडी सर्कलमा सम्बद्धसम्म भइनसकेका ब्यक्तिलाई लिएर हामीलार्ई खबरसम्म नगरी पुष्पलालले नेकपाको स्थापना गरेको कुराको प्रचार लगभग यसै सन्दर्भमा वि.सं २००६ बैशाख १२(अप्रिल २४, १९४९) मा पुष्पलालद्वारा एउटा अपिल प्रकासमा ल्याएपछि मात्र हामीले त्यसको आभास पायौं ’’— भनेर केशरजंग रायमाझीले एक अन्तर्वातामा बताएका थिए ।

तर नेकपा स्थापना सम्बन्धि प्रकृयाका बिषयमा पुष्पलालले आफ्नो एक ग्रन्थमा अत्यन्त मर्मस्पर्शी विवरण दिएका छन् । त्यहाँ उल्लेख गरे अनुसार उनले नेपाली राष्ट्रिय कांग्रेसको परित्याग पश्चात माक्र्सवादी पुस्तकहरु कमिसनमा बेचबिखन गर्न थालेको र बचेको समयमा कम्युनिष्ट घोषणापत्र लगायतका चारवटा पुस्तकहरुको नेपालीमा अनुवाद तयार पारियो । तत्पश्चात उनले ती अनुवाद गरिएका पुस्तकहरुको प्रकाशनका लागि कलकत्ता जानुप¥यो ।

त्यहाँको कलेज स्क्वायर अवस्थित नेशनल बुक एजेन्सी मार्फत पुष्पलालले भारतीय कम्युनिष्ट पार्टीसंग सम्पर्क गर्ने प्रयास थाले । पुष्पलालको सम्पर्क भारतका प्रसिद्ध कम्युनिष्ट नेता नृपेन्द्र चक्रवर्तीसंग कायम भयो । त्यस सम्पर्कपश्चात पुष्पलाल भारतीय कम्युनिष्ट पार्टी मार्फत माक्र्सवादी शिक्षाको कक्षा लिने कार्यमा जुटे । उनको कार्यक्षेत्र नेपाली भाषाभाषी क्षेत्र अर्थात दार्जिलिङ तोकियो । यसबिच उनको चक्रवर्तीसंग नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने बिषयमा बिचार बिमर्श हुँदै रह्यो ।

लामो बिचार बिमर्श पश्चात सन् १९४९ को अप्रिलमा गुप्त रुपमा नेपाल कम्युनिष्ट पार्टी स्थापनार्थ एक बैठक बस्यो । त्यस बैठकमा पुष्पलाल लगायत पाँच जना उपस्थित थिए । पुष्पलालका अनुसार तिनीहरुमा मोतिदेवी श्रेष्ठ, निरञ्जन गोविन्द बैद्य, नरबहादुर कर्माचार्य, नारायणबिलास जोशी र स्वयम् पुष्पलाल थिए ।

तर संस्थापक मध्येका निरञ्जन गोविन्द बैद्यसमेतका तीनजनाले मोतीदेवीलाई पार्टी संस्थापकका रुपमा अस्विकार गरेका छन् । उनीहरुका अनुसार वि.सं २००६ बैशाख १०(अप्रिल २२,१९४९) का दिन निरञ्जन गोविन्द बैद्य, नारायण बिलास जोशी, नरबहादुर कर्माचार्यलाई मिलाएर पुष्पलालले कलकत्ताको सरकारी टोललेनास्थित एकजना बंगालीको घरमा गुप्तढंगबाट नेकपाको स्थापना गरे । सोहि दिन एक केन्दिय संगठन समितीको निर्माण पनि गरियो ।

तर यसको चार महिनापश्चात वि.सं २००६ भाद्र ३०(सेप्टेम्बर १५,१९४९) मा मात्र नेकपाको औपचारिक रुपमा विधिवत घोषणा गरियो । घोषणा पार्टीको घोषणापत्रका साथ प्रकाशनमा आयो र पार्टीको केन्द्रिय नेतृत्वको पनि चयन गरियो । पार्टीको केन्द्रिय संगठन समिति भनिएको उक्त समितिमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, तुलसिलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डिपी अधिकारी र भाइसाहेब भन्ने अयोध्या सिंह(भाकपाका प्रतिनिधी) सदस्यका रुपमा रहे ।

उक्त घोषणापत्रले सम्पूर्ण नेपाललाई तीन भागमा विभाजन गर्यो । जसअनुसार कोसी क्षेत्रका लागि मनमोहन अधिकारी तथा डिपी अधिकारी, गण्डक क्षेत्रका लागि तुलसिलाल अमात्य र कर्णाली क्षेत्रका लागि शैलेन्द्रकुमार उपाध्याय तोकिए । पार्टी हेडक्वार्टर कलकत्तामै रहने भयो र त्यसका संस्थापक महासचिवमा पुष्पलाल श्रेष्ठ निर्वाचित भए । चारजनाको पोलिटब्युरो बन्यो । जसमा पुष्पलाल, शैलेन्द्रकुमार उपाध्याय, अयोध्यासिंह र मनमोहन अधिकारी थिए ।

(श्रोतः पुष्पलाल श्रेष्ठ, नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास,
डा. सुरेन्द्र केसी, नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास )

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations