बिशेस समाचार

कुनै समय प्रचण्डको सर्टिफिकेट चेकजाँच गरेका थिए कट्टेलले

देश       —मनोज खतिवडा— , काठमाडौं,२४ भदौं ।

२०३४ सालको एकदिन गोरखाको भिमोदय मा.वि मा एकजना युवक जागीर खोज्दै आए । अन्तर्वार्ताका लागि उनलाई जिल्ला शिक्षा कार्यालय पठाइयो । त्यसबेला शिक्षा आयोगमा प्रजिअ, जिशिअ, र एकजना शिक्षक रहने ब्यवस्था थियो । त्यस दिन प्रजिअ अनुपस्थित थिए । उनको सर्टिफिगेट हेर्ने, अन्तर्वार्ता लिने जिम्मा चुँडामणी कट्टेलको थियो ।

उनी शिक्षा सेवा आयोगको सदस्य थिए । शिक्षकका लागि खुलेको दरखास्तमा निवेदन दिएकाहरुको अन्तर्वार्ता लिन बसे कट्टेल । अन्तर्वार्ता दिन एकजना हँसिलो युवक हातमा सर्टिफिकेट बोकेर आइपुगे । कृषि क्याम्पस रामपुरबाट वि.एस्सी गरेका उनी हेर्दा शालिन र भद्र देखिन्थे ।

त्यस समय रामपुर क्याम्पसबाट बि.एस्सी गरेकाहरुको ठूलो माग हुन्थ्यो गोरखाका ग्रामिण विद्यालयहरुमा । अझ त्यस युवकको सर्टिफिकेट हेरेर कट्टेल प्रभावित भए । कट्टेलले हातमा बि.एस्सी. को सर्टिफिकेट बोकेको त्यस युवकलाई भिमोदय मा.वि. मा शिक्षक राख्न मञ्जुरी दिए ।

२०३४ सालमा जागिर खोज्दै गोरखाको ग्रामिण विद्यालयमा पुगेका तिनै युवक आज देशको प्रधानमन्त्री छन् । हातमा कृषी क्याम्पसको वि.एस्सी. उर्तिर्ण गरेको सर्टिफिकेट बोकेर जागिर खोज्दै हिँड्ने पुष्पकमल दाहाल आज हजारौं बेरोजगार युवाहरुलाई जागिर दिने निती बनाउने घोषणा गर्छन् सिंहदरबारबाट ।

आइ.एड पढ्दा नै छोएको हो कट्टेललाई राजनीतिको हावाले । तर उनले कुनै पनि पार्टीको सदस्यता भने लिएका थिएनन् । पछि गोरखाकै चर्चित र स्थापित बाबुराम भट्टराईको ब्यक्तित्व र बौद्धिकता देखेर उनी राजनीतिमा होमिए । २०४६ सालको जनआन्दोलनमा उनी बाबुरामले नेतृत्व गरेको संयुक्त जनमोर्चाको ब्यानरमुनी बसेर प्रत्यक्ष मैदानमा उत्रिए । २०४८ सालदेखि २०५४ माघसम्म राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष भए । २०५२ सालमा तत्कालिन नेकपा (माओवादी) ले शंखनाद गरेको जनयुद्धमा होमिन भने तयार भएनन् ।

२०५० सालको कुनै एकदिन गोरखामा ठूलो हल्ला चल्यो जिल्ला स्तरका पार्टी नेताहरुका माझमा । त्यो हल्लालाई चुँडामणी सम्झिन्छन्, ‘गोरखामा पार्टीको नेता प्रचण्ड आउँदै हुनुहुन्छ भनेर साथीहरु उत्साहित हुनुहुन्थ्यो । यत्रो हल्ला मच्चिने उचाइको नेताको होला भनेर मलाई पनि कौतुहलता लागिरहेको थियो । म त्यसबेला संयुक्त जनमोर्चाको जिल्ला नेता थिएँ । हामीले निक्कैबेर प्रचण्डको प्रतिक्षा गरेका थियौं । अन्तिममा पुष्पकमलजी पो आउनुभयो । म त जिल्ल परें । को होला प्रचण्ड भनेको त पुष्पकमल दाहालजी हुनुहुँदोरहेछ ।’

२०३४ सालमा जागीर खोज्दै भिमोदय मा.वि. पुगेका पुष्पकमल जिन्दगीको थुप्रै घुम्ती र मोड घुमेर प्रचण्ड भइसकेका थिए । बिचका बर्षहरुमा पुष्पकमललाई गोरखाको भिमोदय मा.वि. का पुराना हाजिरीहरुमा छाडेर दाहाल राजनीतिमा सम्पूर्णरुपले होमिएको प्रचण्ड भएर जन्मिसकेका थिए । कट्टेललाई त्यसबेला के थाहा पुष्पकमलबाट प्रचण्डमा फेरिएको त्यही ब्यक्तिले नेपालको इतिहासलाई समेत फेरिदिनेछ भनेर !

२०५० सालमा गोरखामा भएको रमाइलो भेटपछि कट्टेलले एकैचोटि २०५७ सालमा भेटे प्रचण्डलाई । युद्धकालिन सतर्कता अपनाइरहेका कारण प्रचण्डसंग धेरैबेर गफगाफ गर्ने मौका पाएनन् कट्टेलले । शान्तिप्रकृयापछि भने उनले थुप्रैपटक भेटेका छन् प्रचण्डलाई । अनेकौं लामाछोटा भेट भइ रहन्छन् आजभोलि पनि । प्रचण्ड पहिलोचोटी प्रधानमन्त्री भएपछि पनि कट्टेलले पटकपटक उनलाई भेटिसकेका छन् ।

‘प्रधानमन्त्री भएपछि पनि उहाँ सँग पटकपटक भेट भइरह्यो’, प्रचण्डसँगको भेटलाई स्मरण गर्दै कट्टेल भन्छन,‘हरेक भेटमा उहाँले मसंग सम्मानजनक ब्यवहार देखाउनुभयो, कहिल्यै अपरिचित हुनुभएन । मलाई के लाग्छ भने हरेक संग हार्दिकतापूर्वक भेट गर्ने उहाँको बानी नै सबैभन्दा सबल पक्ष हो ।’ राजनीतिमा चतुर खेलाडी मानिने प्रचण्डले चुँडामणीलाई पनि प्रधानमन्त्री भए पछिका भेटमा ‘सहयोग गर्ने तिब्र इच्छा हुँदाहुँदैपनि सहयोग गर्न सकिन’ भनेर चतुर जवाफ दिइरहन्थे । प्रत्यक्ष सहयोग भने खासै कहिल्यैपनि नगरेको बताउँछन् कट्टेल ।

‘म पनि एकदमै आशा लिएरै जान्थें प्रचण्डकोमा, आफैं युद्धपिडीत थिएँ’, चुँडामणी चित्त बुझाउँछन् ,‘शायद उहाँले भ्याउनुभएन होला, प्रधानमन्त्रीकाल पनि छोटै रह्यो ।’ यद्यपी प्रचण्डको अप्र्रत्यक्ष सहयोग भने आफुलाई सँधै रहेको बताउँछन् उनी । सहयोगको मामिलामा ठूलो उद्धेश्य लिएर हिँडेको मान्छेलाई सानोतिनो कुराले तगारो बन्छ की भनेर आफु सँधै सतर्क रहने गरेकोसमेत खुलाए चुँडामणीले ।

केहि महिनाअघि चुँडामणीकी श्रीमति बितिन् । जीवनका हरेक कष्ट र दुःखमा साथ दिने श्रीमतिको निधनले वियोगमा छन् उनी । श्रीमतिको वियोगमा रहेका कट्टेलले बरखीको अवधिमा कसैसंग राजनीतिक भेटघाट नगर्ने प्रण गरेका छन् । त्यसैले यतिबेला उनी आफुलाई सामान्य अवस्थामा फर्काउनै प्रयत्नरत छन् । ‘जिवनसंगीनीसंगको विछोड कल्पना गरे भन्दा बढि नै कष्टदायक छ’, उनले भने,‘ उनको श्रद्धास्वरुप मैले कुनैपनि राजनीतिक भेटघाट र कार्यक्रममा सामेल नहुने अठोट गरेको छु । यो मेरो मौलिक पाराको सोच हो । कसैसंग नमिल्न सक्छ ।’

प्रचण्ड सँधै दृढ र महत्वाकांक्षी नेता लाग्छ उनलाई । कट्टेल देशको परिस्थिती र अवस्था हेरेर आफुलाई तुरुन्त परिवर्तन गर्न सक्ने अनौठो खुबी भएको ‘डाइनामिक’ नेता ठान्छन् प्रचण्डलाई ।‘ प्रचण्डजीले जसरी युद्धकालमा आफुलाई अब्बल सावित गर्नुभयो शान्तिप्रकृयापछि भने उहाँले त्यो नेतृत्वकला देखाउन सक्नुभएन’, प्रचण्डको मुल्यांकन गर्दै कट्टेल भन्छन्,‘आफ्नो शैद्धान्तिक धारलाई ब्यवहारिक रुप दिन उहाँलाई कठिन भयो ।’

प्रचण्डमात्र नभएर नेपालका हरेक नेता असफल हुनुको कारण शिद्धान्तलाई ब्यवहारसंग जोड्न नसक्नु ठान्छन् उनी । आगामी दिनमा सिद्धान्तलाई ब्यवहारमा जोड्न सकेमात्र प्रचण्ड पुनः युद्धकालको प्रचण्डजस्तै सफल हुने तर्क सुनाए कट्टेलले ।

२०५५ सालको मंसिर १५ गते कट्टेलमाथि गोरखाको बीच बजारमा आक्रमण भयो । लाठी र चेन बोकेका पचास, साठीजनाले उनलाई आक्रमण गरे । आक्रमणको भोलिपल्ट विर हस्पिटलको बेडमा ब्युँझिँदा कट्टेल रक्ताम्मे थिए । लाठी र चेनको प्रहारले उनका दुईवटा करङ टुक्राटुक्रा भए । त्यसैदिन बुझे उनले— ‘बिकासविरोधीहरु कति खतरनाक हुँदारहेछन्’ भनेर । स्थिती कतिसम्म भयावह भयो भने विच बजारमा भएको त्यस रक्तपातपछि कट्टेल आफुले जन्माएको क्याम्पसमा फर्कनै पाएनन् बर्षौसम्म ।

आफुमाथि भएको आक्रमण आजसम्म पनि बिर्सिएका छैनन् कट्टेलले । विर्सिन अनेक थरी कोशिस गरे उनले । तर शरिरदेखि हृदयसम्म परेको गहिरो घाउका कारण आजपनि २०५५ साल मंसिर १५ गतेको घटना झल्झली आँखामा बल्झिन्छ । त्यसैले एकदिन आफुमाथि भएको त्यस निर्मम घटनाको उजुरी बोकेर कट्टेल सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय बबरमहल पुगे ।

उनलाई आक्रमणकारीमाथि कारबाही होला भन्ने त विश्वास छैन । त्यहि पनि सचेत नागरिकको हिसाबले कानुन हातमा लिनेहरुलाई उन्मुक्ति दिन उनको मनले मानेन । एकमन त उनलाई लागेकै हो पुराना घाउ किन कोट्याउनु भनेर । तर उनका समकालिन राजनीतिक सामाजिक अगुवाहरुले उजुरी हाल्न धेरै पटक कर गरेपछि उनी पनि उजुरी हाल्न राजी भए ।

गोरखादेखि आफ्नो शिक्षण पेसा प्रारम्भ गरेका कट्टेलले आफ्नो दशकौं लामो शिक्षण यात्रामा गनिनसक्नु विद्यार्थीहरु उत्पादन गरेका छन् । विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहेका कट्टेलकै पहलमा गोरखामा द्रब्य बहुमुखी क्याम्पसको स्थापना भयो । हाल कट्टेल ‘नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम)’ का कार्यकारी निर्देशकसमेत हुन् । दुर्गम गाउँदेखि विकसित सहरहरुसम्मको यात्राले उनलाई जीवनसम्बन्धि एउटा निष्कर्षमा पु¥याएको छ— जीवन भनेकै गतिशीलताको अर्को नाम रहेछ । नयाँ सोच र नयाँ खोजले नै मान्छेलाई उन्नत र सार्थक बनाउँछ भन्ने उनको मान्यता छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations