बिशेस समाचार

प्रचण्डलाई भेटेपछि निशानीलाई लाग्यो— मिल्ने भए सबै आलोचना फिर्ता लिउँ

नयाँ बसपार्कबाट दाहिने लाग्ने बाटो केहिबेर हिँडेर एउटा गेष्टहाउसमा भेट्यौं हामीले दिल निशानी मगरलाई । भदौरे झरीले गर्दा बाहिर मन्द बतास चलेको थियो । आकासबाट बर्सिएको सिमसिमे झरीले हामी करिब करिब भिजिसकेका थियौं उनलाई भेट्दा । अघिल्लो दिनको फोन सम्पर्कमा निशानीले हामीलाई गोंगबु चोकमा बोलाएका थिए । गोंगबु पुगेर सम्पर्क गरेपछि मात्र आफु बसेको गेष्टहाउसबारे विस्तृतमा बताएका थिए उनले ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराईले नयाँ दिल्लीको नामुद विश्वविद्यालय जवहारलाल नेहरु विश्वविद्यालय (जे.एन.यु) मा पिएचडि गर्ने समाचार सार्वजनिक भएपछि निशानी नेपाली अनलाइन मिडीयामा एकाएक छाएका हुन् । भावना र उत्तेजनाको सघनताले भरिएको खुल्लापत्र लेखे निशानीले डा. बाबुराम भट्टराईलाई– छोरीको पिएचडी प्रकरणमा विरोध जनाउँदै ।

पत्र अप्रत्याशित रुपमा ‘भाइरल’ भयो । निशानी रातारात हाइहाइ भए । त्यसपछि शुरु भयो माओवादीका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रहार गर्ने निशानीको साइबर यात्रा । आफ्नो दिलछुने लेखनीमार्फत निशानीले माओवादी र प्रचण्डलाई भित्तामा पु¥याए । आफ्नो फेसबुक ‘टाइमलाइन’ मा कुनै भिडन्तमा मारिएका माओवादी लडाकुको तस्बिर हालेर निशानीले प्रचण्डसंग तिनको जिवन फिर्ता ल्याइदिनुपर्ने ‘अन्टसन्ट’ माग राखे फेसबुकबाटै । त्यस समय यस्तो लाग्थ्यो मानौं यो साइबर सहरमा द्वन्द्व दुईबिचमा छ—प्रचण्ड र निशानी ।

एकदिन आफ्ना बुवालाई गाली नगर्न भन्दै प्रचण्ड पुत्र प्रकाश दाहालले निशानीलाई फेसबुक म्यासेज छाडे । निशानीले प्रकाशको म्यासेजको स्क्रीनसट नै हालिदिए फेसबुकमा । उनले प्रचण्ड पुत्र प्रकाशसंग पनि खुल्लमखुल्ला ‘निउँ’ खोजे फेसबुकबाटै । त्यसपछि उनले एक अनलाइन मार्फत माओवादी विरुद्ध जे–जे लेखे त्यो लगालग ‘हिट’ भयो सामाजिक सञ्जालमा ।

माओवादी पार्टीसंग विरत्तिएर विदेश भासिएको पूर्व लडाकु अरबको मरुभुमीमा जोतिँदा जोतिँदै नेपालमा भने ‘राजनीतिक विश्लेषक’ भइसकेको थियो । अरबबाट घर फर्किएको केहि महिना टेलिभिजनमा राजनीतिक विश्लेषक भएर अन्तर्वाता दिँदादिँदै बिते दिल निशानी मगरका दिनहरु । त्यसपछि भने ‘निशानी कथा’ को प्रारुप नै बदलिएको छ ।

फेरिएको कथा

एकदिन निशानीले पुनः अर्को लेख लेखे– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिनुपर्छ भनेर । उनको फेसबुक वालपनि प्रचण्डको महिमामण्डनले भरिन थालिसकेको थियो । निशानीले नोबेल शान्ति पुरस्कार दिनुपर्छ भनेर लेख लेख्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भइसकेका थिए ।14079765_1181578021914009_6004191662305729208_n

तीनदिनपछि प्रचण्ड पुत्र प्रकाश दाहालले निशानीलाई बालुवाटारमा बोलाए । प्रचण्डसंग मसक्क मस्किएको तस्बिर हाले निशानीले आफ्नो फेसबुकमा । प्रकाशसंग टाँसिएर खिचिएको तस्विरको क्याप्सन लेखे– ‘के यो माया हो ?’ भनेर ।

आफ्ना स्टाटसमा धमाधम ‘माओवादी विरोधी’ लाई तिखा जवाफ दिन थाले निशानीले । हामीले उनलाई जिज्ञासा राख्यौँ– प्रचण्ड र माओवादीको विरोध गरेर चर्चा कमाउन थाल्नुभएको तपाईँ आजभोली किन खुब प्रशंसा गर्नुहुन्छ माओवादी र प्रचण्डको ?’

एकछिन भावुक हुँदै निशानि बोले,‘मैले पछिल्लो समय के महशुस गरें भनें यो देशमा माओवादी आन्दोलनसंग जोडिएका कसैलाई पनि नछाड्ने संसदवादीहरुको ठूलो षड्यन्त्र छ । तीनले न प्रचण्डलाई छाड्नेवाला छन्, न वैद्यलाई न विप्लव र बाबुरामलाई नै छाड्नेवाला छन् । र मलाई के लाग्यो भने तिनले त सामान्य पूर्वमाओवादी कार्यकर्ता दिल निशानी मगरसमेतलाई बाँकी राख्दैनन् । त्यसैले आफु जोडिएको आन्दोलनलाई अबचाहिँ सहयोग गर्नुपर्छ भनेर मेरो वैचारिक धरातलमा केहि परिवर्तन भएको साँचो हो ।’

आठ कक्षामा पढ्दापढ्दै निशानी माओवादीले संचालन गरेको ‘जनयुद्ध’ मा होमिए । जीवन मरणका अनेकौं दोसाँधबाट गुज्रिएको क्षण सम्झिए उनले । ‘ प्रचण्डले हतियार उठाउँदैन थिए भने म कुनै पण्डितको घरमा गोठालो बसेको हुन्थें । आम गरिब र सर्वहाराको मुक्तिका लागि हतियार बोक्नैपर्छ भन्ने लागेर जनयुद्ध शुरु भएको आठ बर्षपछि आठै कक्षामा पढ्दापढ्दै मैले पनि बन्दुक बोकें । मैले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक जीवन शुरु गरेको हो । त्यतिबेला म संगै भुमिगत भएको साथी पदम खत्री हाल अखिल(क्रान्तिकारी) को केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ ।’, जनयुद्ध स्मरण गर्दै निशानीले भने,‘ नेपालका धेरै दुर्गम गाउँमा पुगें म जनयुद्धको मुक्ति सेना भएर । ती गाउँहरुमा पुग्दा अब नेपालमा हतियारबाटै मुक्ति सम्भव छ भन्ने गहिरो अनुभुती भयो ।’

निशानीले प्रत्यक्ष रुपमा बेनीको फौजी मोर्चामा भाग लिएका थिए । अनेकौंपटक सरकारी सेना र प्रहरीसंग जम्काभेट भएको सम्झना आजपनि निशानीका आँखामा बल्झिरहन्छ । युद्ध अनुभवबारे निशानीले सुनाए— युद्धको खबर रेडियो टेलिभिजनबाट सुनेकाहरुले त युद्ध भयावह होला भनेर कल्पना गरेका हुन्छन् तर प्रत्यक्ष युद्धमा संलग्नहरुको अनुभव भने भिन्न हुन्छ । लडाईँ हामीलाई ठूलो पर्वजस्तो लाग्थ्यो । तपाईँको चारैतिर सबैभन्दा प्रिय कमरेडहरु हुन्छन् । हजारौं साथीहरु लामबद्ध छन् अनि दुश्मनको प्रतिरोध गर्ने प्रशस्त हतियार तपाईँसंग छन् भने त्यो भन्दा सुन्दर अनुभुति अरु केहि हुनै सक्दैन । लडाईँमा आफु नमरेसम्म या प्रतिकार गर्नै नसक्ने अस्थामा नपुगेसम्म मृत्युको कुनै भय नै हुँदैनथ्यो । लडाईमा जानुअघिको नाचगान अझ अजिव र तरंगमय हुन्थ्यो । युद्धमा शहिद हुनलाई तँछाडमछाड हुन्थ्यो हामीबिच । त्यसैले बाहिर मान्छेले अनुमान गरेभन्दा विल्कुलै फरक हुन्थ्यो युद्धको शौन्दर्य ।

माओवादी युद्धले नै आफुलाई ‘पढ्न, लेख्न र बोल्न सिकाएको’ ठान्ने निशानी आफुलाई युद्ध लडेकोप्रति कत्ति पनि पश्चाताप नभएको बताउँछन् । उनी भन्छन्,‘ माओवादी युद्धले नै हामीलाई बोल्न, लेख्न र पढ्न सिकायो । युद्ध लडेकोमा आज फर्किएर हेर्दा मलाई रत्तिभर पश्चाताप छैन । बरु के चाहिँ हो भने हिजो सारा जीवन यही लडाईँ मात्र हो जस्तो लाग्थ्यो तर आज जीवन यति सुन्दर पनि हुँदोरहेछ भन्ने लाग्न थालेको छ । बरु जब म त्यो बेलाका घाइते र शहीदहरुका परिवारको जीवन देख्छु त्यसबेला चाहिँ म खुब भावुक हुने गर्छु । उहाँहरुको जीवन यति बेहाल र कारुणिक छ की यदि म मरेको भए मेरा बालबच्चा र परिवारले यहि नियति भोग्नेथियो भनेर भित्र कता कता दुखेझैं हुन्छ । शहिदका श्रीमतिहरु विदेश जानुपरेको, बेश्यावृत्तिमा समेत लाग्नुपरेको, दुईछाक खानै नपाएको र छोराछोरीले सामान्य सरकारी स्कुलमा समेत पढ्न नपाएको देख्दा युद्ध लड्ने को पो सन्तुष्ट होला र यो नियतिप्रति ?’

अझै नेपालमा एक चरण ‘हतियार उठाउनुपर्छ’ भन्ने लाग्छ उनलाई । विगतको जस्तो दश बर्षे लामो नभइ छोटो समयका लागि सशस्त्र युद्धको खाँचो रहेको विश्लेषण गर्ने निशानीले नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई बधाई दिन बालुवाटार पुगेकै समय विप्लवलाई सहयोग गर्न सुझाए । उनको सुझाव सुनेर प्रचण्ड मुसुक्क मुस्काए मात्र । प्रचण्डलाई मात्र होइन निशानीले विप्लवलाई समेत प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्न सुझाव दिएका छन् । प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाएमात्र सबै माओवादीको जित हुन्छ भन्दै आफुले बारम्बार विप्लवलाई वर्तमान सरकारलाई सम्पूर्ण रुपले सहयोग गर्न ‘दबाब’ दिएको बताउँछन् ।

निशानी प्रत्येक भेटमा विप्लवलाई हतियार उठाइहाल्न उचाल्छन् रे । उनलाई सशस्त्र क्रान्ति सम्भव छ भन्नेमा पुरापुर विश्वास छ । नेपालमा जस्ले हतियार उठाउँछ उसैलाई आफ्नो साथ रहने बताए निशानीले । तर ‘राष्ट्रियता, जनजिविका र गरिवको शासन’ का लागि भएका पहललाई मात्र सहयोग रहने प्रष्टिकरण दिन पनि भुलेनन् । विप्लवले भने निशानीको हतियार उठाउने दबाबलाई बारम्बार टारिरहेका छन् रे । ‘क्रान्तिमा हतियार आवश्यक पनि पर्न सक्छ’ भन्दै विप्लवले तत्काल नेपालमा हतियारै उठाउनुपर्ने अवस्था आइनसकेको बताउने गरेको निशानीले सुनाए ।
आजभोली निशानी प्रचण्डको सरकारलाई सफल बनाउन दौडधुप गरिरहेका छन् । आफुले प्रचण्डलाई बारम्बार सल्लाह दिएको बताउँछन् निशानी । भर्खरको भेटमा भुकम्पपिडीतलाई हेलिकप्टरबाट पैसा बाँड्नुपर्ने सुझाव दिएका थिए रे निशानीले । ‘प्रधानमन्त्रीसंगको सिधा कुरा’ कार्यक्रममा प्रधानमन्त्री दाहालले हेलिकप्टरबाट पैसा बाँडिने बताएका थिए । त्यो आफ्नो ‘कन्सेप्ट’ भएको दावी गरे निशानीले ।

‘प्रचण्डलाई खुब आलोचना गर्नुहुन्थ्यो तर आज किन यसरी सफल बनाउन मरिहत्ते गर्नुभएको त ?’ भन्ने हाम्रो प्रश्नमा एकछिन घोरिएर निशानीले भने,‘मलाई कुनैबेला यो सबै प्रचण्डले नै विगारेको हो भन्ने लाग्थ्यो । तर जब म अरबबाट नेपाल फर्किएँ त्यसपछि के लाग्न थाल्यो भने प्रचण्ड व्यक्तिमात्र होइन विचार रहेछन् । विद्रोहको सिंगै युग रहेछन् प्रचण्ड । अब हामीले प्रचण्डबाट धेरै आशा गर्नु नै बेकार छ । उनले यस युग र पुस्तालाई दिनुसम्म दिइसके । अब बाँकी यात्रा तय गर्ने पालो हाम्रो पुस्ताको हो ।

दोश्रो कारणचाहिँ जब मैले प्रचण्डलाई भेटें, उनीभित्र अरुलाई प्रभाव पार्न सक्ने अद्भुत गुण रहेको महशुस गरें । तपाईँ जतिसुकै तथानाम गर्छु भनेर उनको अगाडि जानुस्, प्रचण्डले तीनचार मिनेट बोलेपछि तपाईँ शिथिल भइहाल्नुहुन्छ । मलाई पनि त्यस्तै भयो । प्रचण्डलाई भेटेपछि मिल्ने भए यसअघि उनलाई गरेका सबै आलोचना फिर्ता लिइदिउँजस्तो पो लाग्न थाल्यो ।’ यति भनिसकेपछि एकछिन रोकिएका निशानीले प्रचण्डसंग आफ्नो ‘बैचारिक र राजनीतिक’ असहमति समेत रहेको बताउन भने बिर्सेनन् ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations