बिशेस समाचार

माओवादी आन्दोलन र नयाँ शक्ति नेपाल एकै सिक्काका दुई पाटा हुन्ः देवेन्द्र पौडेल

अन्तरवार्ता       सन्तोष भट्टराई , काठमाडाैँ

नयाँ शक्ति नेपालका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख देवेन्द्र पौडेलसँग समसामयीक राजनीतिक विषयमा केन्द्रित रहेर नमस्तेपाेष्टले गरेकाे कुराकानी

नयाँ शक्तिको आधारभुत राजनीतिक दर्शन के हो ?

खासगरी विचारमा वाम लोकतान्त्रिक चरित्रको एउटा वैकल्पिक धाराकोरुपमा हामीले नयाँ शक्तिलाई विकास गर्न खोजिरहेका छौं । संगठनमा प्रत्यक्ष निर्वाचित कार्यकारी सहितको निर्वाचित पदाधिकारीहरु । संस्कार र संस्कृतिमा पनि हामीले ‘सिफ्ट’ गर्न खोजेका छौं । समग्रमा चलिरहेको पार्टी, परिस्थिति र अवस्थालाई विकल्प प्रस्तुत गर्न खोजिरहेका छौ । र अबको बाटो भनेको सुशासन र समृद्धिको बाटो नै हो । मुलतः यिनै विषयहरुलाई केन्द्रविन्दुमा राखेर देशको समृद्धि र विकासको बाटोमा आफूलाई अगाडि बढाउनका लागि हामीले पहलकदमी लिइरहेका छौं ।

वर्तमान मुलधारका पार्टीहरुभन्दा तपाईँहरुले देखाउन खोजेको फरक संस्कार के हो ?

हाल नेपाली राजनीतिमा खिचातानीको अपसंस्कृति जो देखा परेको छ त्यसलाई हामीले इन्कार गरेका छौं । ९—९ महिनामा सरकार परिवर्तन गरेर सबैलाई कोटा पु¥याउने, भाग पु¥याउने गरेर जसरी नेपाली राजनीतिलाई विकृत बनाउन खोजिएको छ, हामीले यसको जोडदार विरोध गरेका छौं । नेपाललाई राजनीतिक रुपले स्थिर राख्न र देशलाई विकास र समृद्धिको बाटोमा उन्मुख गराउन हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डालाई उच्च प्राथमिकताका साथ अगाडि सारेका छौं । पूर्ण समानुपातिक सदनको परिकल्पनासहित पाँच ‘स’ का सिद्धान्तको अभिव्यक्तिसहित सुशासन र समृद्धिको बाटो लिएको हुनाले हामी अन्य पार्टीहरु भन्दा विल्कुलै फरक छौं ।

सामान्य नागरिकले बुझ्ने गरी पार्टीको आन्तरिक जीवनमा तपाईहरुले बिकास गरेको नयाँ सस्कार के हो ?

जनताले बुझ्न अझै बाँकी नै छ । हामी हाल प्रारम्भिक रुपमा संगठन निर्माण, विस्तार र त्यसको परिचालनको क्रममा छौं । पार्टी घोषणापछि हामीले पचहत्तरै जिल्लामा जिल्ला संरचना निर्माण गरेका छौं । हामीले हालसम्म कहीँ कतै पनि केन्द्रबाट तोकेर जिल्ला नेतृत्व तय गरेका छैनौं । स्थानीय स्तरमा साथीहरुको सल्लाह र समझदारीबाट स्थानीय नेतृत्व चयन गर्ने संस्कृतिको विकास गरेका छौं । अहिले हामीले आंशिक रुपमा भए पनि आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै भिन्न संस्कार र संस्कृतिको परिपाटी बसाउने प्रयत्न गरेका छौं । बाहिर कार्यक्रमको हिसाबले खाली आलोचना र अरुप्रति विमति राखेर आफ्नो पुष्ट्याँई गर्ने प्रचलनको हामीले अन्त्य गरेका छौं । हामी कसैको पनि टिकाटिप्पणी गर्दैनौं । ‘ग्रिन सिटी’ लगायत केहि मौलिक कार्यक्रमको प्रारम्भ समेत गरेका छौं । अन्य पार्टीहरुभन्दा सांगठनीक, वैचारिक हिसाबले पनि भिन्न पार्टी निर्माण गर्ने अभियानमा छौं ।

नयाँ शक्तिले कोर्न खोजेको नेपालको चित्र कस्तो हो ?

हामीले २५ वर्षे कार्ययोजना बनाएका छौं । अहिलेबाट नै सुरु गरेर २५ वर्षको आवधिक चरणहरुमा देशलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने हाम्रो लक्ष्य रहेको छ । अब हामीले मात्रै भनेर यो सबै पुग्दैन । जनताले बुझ्नु पर्छ र हामीले प्रस्तुत गरेको समुन्नत नेपालको खाकालाई समर्थन गनुपर्छ । हामीलाई लाग्छ नयाँ शक्तिको ‘भिजन’ लाई आत्मसात गरेर जाने हो भने केहि दशकमा नै नेपाललाई विकसित देशको हाराहारीमा पु¥याउने योजना असम्भव छैन । संविधान निर्माणपछि राजनीतिक अधिकार प्राप्तीको चरण हामीले पार गरेका छौं । अव नेपाल आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको हाम्रो निष्कर्ष रहेको छ ।

विगत संविधानसभा निर्वाचनताका डा. बाबुराम भट्टराईको नेतृत्वमा तत्कालिन माओवादी पार्टीले प्रतिबद्धता पत्र मार्फत अघि सारेको र आज नयाँ शक्तिले अघि सारेको विकासको मोडेलमा के तादम्यता पाउनुहुन्छ ?

तत्कालिन माओवादी पार्टीको प्रतिबद्धता पत्रमा बाबुरामजीले विशेष अग्रसरता लिएर प्रस्तुत गरेको विकासको ‘मोडल’ र हाल नयाँ शक्तिले अघि सारेको विकासको ‘मोडल’ मा कहिँ न कहिँ तादाम्यता छ । हिजो हामीले जनयुद्धको प्रक्रियामा उठाएको मुख्य तीन वटा मुद्धा थिए । पहिलो राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना । दोस्रो, आंशिकरुपमा भएपनि समाबेशी—समानुपातिक सहभागिता साथै पहुच र प्रतिनिधित्वको सिद्धान्त । र तेस्रो संविधानसभाबाट संविधान निर्माणको सुनिश्चितता । यी सबै राजनीतिक मुद्धा थिए । त्यो अध्याय करिब—करिब पुरा भएको हाम्रो निष्कर्ष छ । यससंगै जोडिएको अर्को पाटो चाहिँ जनताको जीवनस्तरमा नै परिवर्तन ल्याउने विषय हो । जुन छुटेको हामीले पनि महशुस गरेका छौ्र । त्यसलै अब त्यही पुरानै कुराको निरन्तरता होइन । प्राप्त उपलव्धिको रक्षा गरी विगतका कमिकमजोरीलाई आत्मसाथ गर्दै र सच्याउदै अपूर्ण कुरा प्राप्तिका लागि अगाडि बढ्ने भनेका छौं । त्यो भनेको सुशासन र आर्थिक समृद्धिको पाटो हो । हिजो र आजको परिस्थिति फेरिएको हुँदा नयाँ बाटो तय गरेका हौं । यसमा कुनै प्रकारको भ्रम सृजना नहोस् ।

माओवादी आन्दोलन र नयाँ शक्ति गठन अन्तरसम्वन्धित राजनीतिक घटनाक्रम हुन् की असम्वन्धित ?

माओवादी आन्दोलन र नयाँ शक्ति एउटै सिक्काका दुई पाटा हुन् । राणा शासनको विरुद्धमा आन्दोलन भएको थियो । पञ्चायती व्यवस्थाका विरुद्धमा पनि आन्दोलन भएका थिए । लोकतन्त्र प्राप्तिका लागि विभिन्न समयमा विभिन्न प्रकृतिका आन्दोलनहरु यो देशमा भए । ती सबैको उच्चतमरुप भनेको जनयुद्ध नै थियो । त्यसैले, माओवादी आन्दोलन वा जनयुद्ध त्यो समयमा उचित र आवश्यक थियो । तर आज वदलिएको सन्दर्भमा पुरानै शैली र संस्कारले जनताका समस्या निराकरण गर्न सकिदैन । जनताको जायज मुद्धाहरुको सम्वोधन हुन सक्दैन । त्यसैले हामीले शैली, संस्कार र प्रणालीलाई सिफ्ट गरेर जाने भनेका छौं । हिजो त्यो विषय ठिकै थियो । आज सममयानुसार बदलिन जरुरी थियो । वदलिन नसकेपछि हामीले अर्को वाटो रोजेका हौं ।

हिजो जनयुद्धकालमा भोलि हामीले प्रचण्ड नेतृत्वको पार्टीवाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नु पर्ला भन्ने कुरा लागेको थियो तपाईलाई ?

प्रचण्ड नेतृत्वको माओवादीबाट बिद्रोह नै गर्नुपर्ला भनेर चाहिँ हामीले सोचेका थिएनौ । पार्टीको जीवनमा ३५—४० वर्षको अनुभव मैले पनि लिएको छु । जनयुद्धकालदेखि नै आन्तरिक पार्टी राजनीतिका विषयमा विभिन्न खालका बहसहरु चल्दै आएका थिए । खासगरी, शान्तिप्रक्रियामा आइसकेपछि हामीले जुन लक्ष्यसहित पार्टीको रुपान्तरणको अपेक्षा गरेका थिर्यौ । त्यसमा अलिकति आशंका पैदा हुँदै गएको थियो । हामीले गरेको आशा र अपेक्षाको विषयमा सम्वोधन नभइसकेपछि विकल्पको बारेमा आशिंकरुपमा सोच्नुपर्ने ठाउँसम्म भने पुगेका थियौं । तर भइरहेको बहालवाला पार्टीलाई छाडेर यसरी बैकल्पिकसहितको नयाँ पार्टी बनाउँने अवस्थासम्म पुग्छौं जस्तो लागेको थिएन । आवस्यकता, समय र परिस्थितिले हामीलाई यो ठाउँसम्म पु¥यायो जस्तो लाग्छ । तथापी, हिजो जनयुद्धमा सहभागी भएको विषयमा म आफुलेचाहिँ गर्व गर्ने गरेको छु ।

हिजोसँगै लडेका, सँगै कामगरेका साथीहरुलाई चटक्कै बिर्सिएर नयाँ पार्टी अभियानका लाग्दै गर्दा भावनात्मक हिसावले तपाईलाई अप्ठ्यारो महशुस भएको छैन ?

त्यस्तो अप्ठ्यारो महशुस भएको छैन । हिजोका थुप्रै साथीहरु एकैठाउँमा छौं । सँगै छलफल चलाइरहेका छौ । बाँकी केही साथीहरुसँग सांगठनीक सम्वन्ध टुटेपनि व्यक्तिगत र भावनात्मक सम्वन्ध पुरानै तहमा छ । प्रायः साथीहरुसँग आजपनि हार्दिकतापूर्णे भेटघाट, कुराकानी, अन्तरक्रिया, छलफल भई नै रहन्छ । राजनीतिमा त्यस्तो कुनैपनि प्रकारको आग्रह—पूर्वाग्रह राख्नु हुदैन भन्ने मान्यतालाई स्थापित गर्न खोजेका छौं । कांग्रेस, एमालेका शिर्षस्थ नेताहरुसँग पनि विभिन्न सन्दर्भमा भेट भइरहेको हुन्छ । राष्ट्र निर्माणप्रति हामी सबै इमान्दार छौ भने कुनै दिनसँगै पनि हुनसक्छौं । त्यसैले साथीहरुलाई छाडेर भरै टाढा गएजस्तो अनुभुति भएको छैन ।

तपाईहरुको कुनैबेलाको सुप्रिम कमान्डर प्रचण्ड प्रधानमन्त्री बन्नु भएको छ । उहाँबाट के अपेक्षा राख्नु भएको छ ?

एउटा आन्दोलनबाट आउनुभएको हुँदाखेरी उहाँको कार्यकाल सफल रहोस् भन्ने कामना गर्न चाहन्छु । छोटो समयका लागि किस्तावन्दीमा लिएको उहाँको कार्यकाल रहेको छ । त्यो आवधिक समयमा देश र जनताको पक्षमा जतिसक्दो राम्रो काम गर्नुहास् । त्यसकालागि विशेष शुभकामना दिन पनि चाहन्छु ।

तपाईहरुको हिजोको एक जना सहयात्री नेत्रविक्रम चन्द विप्लवले अर्को क्रन्तिको कुरा गरिरहनुभएको छ । नेपालमा यसको आवश्यकता र सम्भावना तपाईले कत्तिको देख्नुहुन्छ ?

विप्लवजी हिजो हामीसँगै सहकार्य गरेको एकजना उर्जाशील साथी हुनुहुन्छ । उहासँग अहिलेपनि बेलावखत भेटघाट र कुराकानी भई नै रहन्छ । उहाँले जुन प्रकारको वाटो रोज्नु भएको छ त्यो परम्परागत र पुरानै ढर्राको पुनरावृत्ति होे जस्तो लाग्छ मलाई । व्यक्तिगतरुपमा उहाँलाई सम्मान गर्दागर्दै पनि उहाँले बोकेको राजनीतिक विचारले देशलाई उचित निकास देलाजस्तो मलाई लाग्दैन । फेरी क्रान्ति, फेरी क्रान्ति वा निरन्तर क्रन्तिको प्रक्रियाले हामीलाई कहीँ पनि लाँदैन । क्रान्ति र निर्माणको प्रक्रियालाई एकसाथ लिएर जानुपर्छ । उहाँले उठान गर्नुभएको मध्यम वर्गसँग सहकार्य गर्ने विषयलाई भनें मैले सकारात्मकरुपमा लिएको छु ।

एकथरी मान्छेले भन्छन् की बाबुराम र विप्लवको बीचमा केही अघोषित साँठगाँठ भएको छ । तपाईलाई त्यस्तो लाग्छ ?

मैले बुझेअनुसार उहाँहरुको बीचमा बेलावखत संवाद र कुराकानी हुनेगर्छ । तर पनि सोचाइमा त्यति धेरै नजिक भएको म ठान्दिन । बाबुरामजीले राजनीतिक आन्दोलनको एक अध्याय सकियो भन्ने निष्कर्ष निकाल्नु भएको छ । तर विप्लवजीको धारणा अलि फरक छ । राजनीतिक हिसावले धोका भयो भन्ने विचार उहाँमा प्रवल रुपले देखा परेको छ । अहिले तत्काल त्यस्तो सम्भावना नभए पनि भोलि नयाँ खालको ध्रुविकरण हुन सक्छ ।

डा. बाबुराम भट्टराईलाई ‘नयाँ पद सृजनाका लागि नयाँ शक्ति स्थापना गरेको’ आरोप छ नी ?

यो निरन्तर साथीहरुले ३५—३६ वर्षदेखि लगाउदै आएको आरोपको पुनरावृत्ति मात्रै हो । बाबुरामजीलाई साथीहरुले यस्ता प्रकृतिका आरोपहरु धेरै पटक लगाउदै आइरहनु भएको छ । अध्यक्षकै कुरो गर्ने हो भने सायद जुन पार्टीमा उहाँ हुनुहुन्थ्यो त्यही पार्टीमा रहनुभएको भए पनि एकपटक अध्यक्ष बन्नु हुन्थ्यो । तर त्यही संस्कार र शैलीमा अध्यक्ष भएर पनि केही गर्न सकिदैन भनेर नै बैकल्पिक धारको पार्टी निर्माणमा जुट्नुभएको हो ।

नयाँ शक्ति नेपाल स्वचालित भन्दा पनि कतैबाट परिचालित शक्ति हो भन्नेहरुको कसरी खण्डन गर्नुहुन्छ ?

यो विल्कुल गलत आरोप हो । कहाँ को बाट परिचालित छ र ? हिजो हामी नजिकै रहेका केही मान्छेहरुले आरोप लगाए । तर आज योे पर्दा पटाक्षेप भएको छ । हिजो जस्ले जुन विषय लिएर हामीलाई आरोप लगाएका थिए आज तिनै व्यक्तिहरु अघोषित साँठगाँठमा लिप्त भएका छन् । म नाम उल्लेख गर्न आवश्यक ठान्दिन । सबै कुरा स्पष्ट भएको छ । बरु बाबुरामजीले अरु जस्तो पिपलपाते ब्यवहार प्रस्तुत नगरि देश, जनता र राष्ट्रियताको सवालमा सधै एकै प्रकृतिको धारणा राख्दै आउनु भएको छ । युद्धको क्रममा होस् या शान्तिप्रक्रियामा आउदा होस् , प्रधानमन्त्री हुदाँ होस् या आज कुनै सार्वजनिक पदमा नहुँदा पनि एउटै श्रृङ्खलामा आफ्नो स्पष्ट विचार राख्दै आउनु भएको छ । बरु अन्य साथीहरु नै पिपलपाते तरिकाले ‘यु टर्न’ हुनुभयो ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations