बिशेस समाचार

‘दिल्लि सम्झौता’ प्रति असन्तुष्टी व्यक्त गर्दै – डा. के. आई. सिंहले २००८ माघ ८ गते मंगलबार राती १ १ः ३० बजे यसरी कब्जा गरेका थिए सिंहदरबार (अभुतपुर्ब )

इतिहास       ,

‘दिल्लि सम्झौता’ प्रतिको असन्तुष्टि

‘दिल्लि सम्झौता’ बाट नेपाली जनतालाई धोका भएको ठानी आफ्नो पार्टीले जारी गरेको युद्धविरामको घोषणालाई अस्विकार गरि युद्ध जारी राख्ने प्रमुख कांग्रेसी नेता डा.कुँवर इन्द्रजित सिंह पनि एक थिए । तर राणा कांग्रेस संयुक्त सरकारले भारतीय सेनाको सहयोग लिइ वि.सं २००७ फागुन ९ मा डा.के.आई.सिंहलाई पक्राउ गरि भैरहवा जेलमा राख्यो । २००८ असार २७ गते उनी जेलबाट भाग्न सफल भए । डा.सिंह पुन एक महिनापछि साउन २६ मा पक्राउ परे । पाल्पाबाट हिँडाएर डा.सिंह र खड्गबहादुर गुरुङलाई सिंहदरबारमा र उनका साथीहरुलाई भारत हुँदै राजधानीको भद्रगोल र केहि दिनपछि नख्खुमा बन्दी बनाइएको थियो । यसबखत सिंहदरबारमा बन्दी बनाइएका डा.सिंह र गुरुङलाई खाना खर्चका निम्ति प्रतिव्यक्ति दैनिक रु ६ दिइन्थ्यो । केहि समयपछि भने डा. सिंहका निम्ति आवश्यक खाना मन्त्री गणेशमान सिंहले आफ्नो घरबाट पठाउने गर्थे ।

भारतीय संलग्नताको कांग्रेस भित्रैबाट बिरोध

राणा कांग्रेस संयुक्त सरकारले दुईपटक भारतीय सैनिक बोलाएको तथा डा.सिंहलाई गिरफ्तार गर्ने र बन्दी बनाउने गरेकोमा नेपाली कांग्रेसकै कतिपय नेताले विरोध जनाएका थिए । डा.सिंहलाई सरकारले कुनै उच्च पद दिँदै छ भन्नेजस्ता हल्लासमेत नेपालको राजनीतिक क्षितिजमा नफैलिएका होइनन् । संयुक्त सरकारमा नेपाली कांग्रेसकै हालिमुहाली भएका बखत गृहमन्त्रीले डा.सिंह र उनका साथीहरुप्रति गरेको अन्यायका सम्बन्धमा आफ्नै दलका पश्चिम नेपालका प्रभावशाली नेताहरुले विरोध गरेका थिए ।

दुई पृष्ठ लामो एउटा पर्चामा ‘‘डा.सिंह जिन्दावाद’’ भन्ने नारासमेत राखेर ‘नेपाली कांग्रेसः पश्चिम नेपाल माझखण्ड’का नाममा नेपालमा एउटा पर्चा छापिएको थियो । कतिपय अखबारहरुले पनि डा.सिंहको समर्थनमा जनमत बनाउने प्रयास गरेको पाइन्छ । डा.सिंहको समर्थन र सरकारको विरोधमा खुल्ला रुपमा प्रचार गर्ने पत्रिकामध्ये ‘युगवाणी’ प्रमुख थियो । भुतपूर्व गृहमन्त्रीले डा.सिंहलाई मुक्त गर्न चाहेर पनि अनेक कारणले मुक्त गर्न नसकेको अभिव्यक्तिमाथि प्रश्न गर्दै हाम्रो स्वतन्त्र भनिएको मुलुकका गृहमन्त्रीले देशका राजनैतिक बन्दीलाई मुक्त गर्नुमा परतन्त्र छन् र यदि छन् भने कस्को भन्ने सान्दर्भिक जिज्ञासा उठाइएको थियो ।

राणा र कांग्रेसबिच आन्तरिक शक्तिसंघर्ष

राणा कांग्रेस संयुक्त मन्त्रीमण्डल गठन भएदेखि नै ती दुवै समुहबिच आन्तरिक शक्तिसंघर्ष चलेको थियो । राणाहरुले सम्भवत आफ्नो अनुकुल राजनीतिक वातावरण तयार गर्न तथा सम्पत्तिको सुरक्षाका निम्ति दिल्लि सम्झौता स्वीकारेका थिए । मन्त्रीमण्डल गठन भएको पाँच हप्तामै प्रभावशाली मानिने रक्षामन्त्री बबर समशेर समेतको अप्रत्यक्ष संलग्नतामा राणा समुहले शक्ति हत्याउने प्रयास स्वरुप एउटा गुटको गठन गरि नेपाली कांग्रेस विरुद्ध षड्यन्त्रात्मक अभियान संचालन गर्ने प्रयास ग¥यो ।

तथापी भरत समशेरलाई अगाडी सारेर चालिएको यो कदमलाई सरकारी सेना र मुक्तीसेनाले असफल पारिदिए । दुई समुहबिचको बेमेलकै कारण गठन भएको नौ महिनामै वि.सं २००८ कात्तिक २६ गते मोहन समशेरले राजिनामा दिनुपर्ने स्थिती सिर्जना भयो । राजा त्रिभुवनले नेपाली कांग्रेसका तत्कालिन अध्यक्ष मातृकाप्रसाद कोइरालाको नेतृत्वमा अर्को मन्त्रीमण्डल गठन गरे । यहि कदमबाट १०४ बर्षे जहानियाँ शासन चलाउँदै आएको राणाबर्गको राजनीतिक अस्तित्व समाप्त हुन गयो ।

मध्यरातमा जेल कब्जा !

२००८ माघ ८ गते मंगलबार राती ११ः३० बजे रक्षादलका केहि जवानहरुले डा.के.आई. सिंहसंग मिलि निज डाक्टरलाई बन्दी घरबाट मुक्त गराई सहरका केहि भागमा बिजुली बन्द गरि रक्षादलमा विद्रोह गर्ने कोशिस गरे । डा. सिंहले मुक्त हुनासाथ स्थानीय जेलमा गई सबै कैदीहरुलाई छाडी सिंहदरबार फर्केर कब्जा गरे…….(गोरखापत्र २००८, माघ ११ शुक्रबार)

उनका समर्थकहरुले सिंहदरबार सचिवालय लगायत बारुदखाना, तोपखाना, बन्दुकखाना, मुलुकीखाना, नेपालको एकमात्र हवाई अड्डा, टेलिफोन अड्डा आदिसमेत नियन्त्रणमा लिन सफल भए । मुक्त गरेपछि रक्षादलका जवानले डा.सिंहलाई आफ्ना नेता तथा अग्नीप्रसाद खरेल र टेकबहादुर मल्लालाई उनका साथीका रुपमा स्वीकार गरि उनीहरुको जयघोष गरेका थिए । मुक्त हुनासाथ हातहतियारसहित राजधानीलाई नै नियन्त्रणमा राखेतापनि डा.सिंह सिंहदरबारको सुरक्षामा बढि संवेदनशील थिए ।

यसै क्रममा उनले विश्वासिला चार पाँचजना सहयोगीको नेतृत्वमा सबैलाई आधुनीक हतियार एवं कम्तिमा सय–सय राउण्ड गोलीसहित सिंहदरबारको मुल ढोका अगाडीको चौरमा तयारीका साथ तैनाथ गराए । सिंहदरबार काण्डको रातमा नै रक्षादलका कतिपयले सबै मन्त्रीहरुलाई बन्दी बनाइ नारायणहिटी दरबारलाई पनि तोपले उडाउने योजना बनाएतापनि रक्तपातका विरोधी सिंहले सबैलाई अहिंसात्मक ढंगबाट काम गर्न निर्देशन दिएकाले अप्रिय घटना हुन पाएन ।

सिंहदरबार काण्डका बारेमा जानकारी पाउनासाथ विभिन्न राजनीतिक दल र नेताले स्थीतिलाई आफ्नो पक्षमा पार्ने कोशिस गरेको पाइन्छ । त्यसै क्रममा उनीहरुले विद्यमान नेपाली कांग्रेसको सरकारलाई अपदस्थ गरि डा.सिंहको नेतृत्वमा नयाँ सरकार गठन गरि अग्नीप्रसाद खरेललाई गृहमन्त्री र टेकबहादुर मल्ललाई आइजिपी बनाइएको घोषणा समेत गरियो । नेपाल कम्युनिष्ट पार्टी र अखिल नेपाल राष्ट्रिय महासभाका कार्यकर्तालाई बखतरबन्द जिपमा लिएर रक्षादलले क्रान्तिको नारा लगाउँदै रातभरी काठमाडौं उपत्यका घुमेका थिए ।
उता यो घटना हुनुभन्दा केहि दिन अगाडी नै राजधानीमा एउटा राजनीतिक विद्रोह हुँदैछ भन्ने हल्ला फैलिएको थियो ।

डा.सिंह भाग्ने सुरमा छन् भन्ने हल्लाका कारण कडा सुरक्षाको व्यवस्था मिलाइएको थियो । यही आशंकाले व्रिगेडियर मेजरलाई त्यही दिन दिउँसो दुईबजे त्यस्तो केहि गडबडी भएमा ‘‘विद्रोह गर्नेलाई गोली हानी मारिदिनु’’ भन्ने आदेशपनि दिइएको थियो । सोहि राती नौ बजे सिंहदरबारमा चेवा गर्न जाँदा सबै ड्युटीमा टम्म बसेको देखि ब्रिगेडियरले एआइजीलाई सबै ठिक छ भन्ने रिपोर्ट गरेका थिए । सुरक्षा व्यवस्थाप्रति सरकारी टोली आश्वस्त भएको देखिन्छ । यहाँसम्म की मध्यरात तिर काठमाडौं उपत्यकामा बिजुली निभाइ सिंह लगायत बन्दी मुक्त भइ राजधानीलाई नियन्त्रणमा लिइसक्दापनि सरकारी निकायले थाहा नपाएको देखिन्छ ।

वार्ताका लागि नारायणहिटी जान अस्विकार

सिंहदरबार काण्डका बारेमा सबैभन्दा पहिला प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र अर्थमन्त्री सुवर्णसमशेर राणालाई सुचना दिइएकाले उनीहरु जिवन रक्षार्थ नारायणहिटी राजदरबारको शरणमा गएको पाइन्छ । डा.सिंहले टंकप्रसाद आचार्यका अतिरिक्त शिवराज पन्तहरुलाई पनि सिंहदरबार ल्याएका थिए । टंकप्रसादलाई आफ्ना मागसहित नारायणहिटी पठाए । पहिलोपटक पठाउँदा उनले ‘श्री ५ सित हाम्रो कुनै द्वेषभाव छैन हामी उहाँलाई मान्छौं’ भन्ने सन्देश पठाएका थिए ।

यसको उत्तरमा श्री ५ ले ‘डाक्टरलाई यहाँ बोलाएर ल्याउ उसैसंग भेटेर कुरा गरौँला’ भनि टंकप्रसादलाई सिंहदरबार फिर्ता पठाएका थिए । अर्कोतर्फ सिंहदरबार र नारायणहिटी राजनीतिक सम्झौताका निम्ति विहानैदेखि दुवै पक्षबाट प्रयासहरु गरिएतापनि दुवै पक्षहरु आ–आफ्नो सुरक्षाका निम्ति प्रयास गर्दै रहे । यसपटक पनि धोका दिइने आशंकाका कारण डा.सिंहले राजदरबार जान अस्विकार गरे ।

माघ ९ गते अपराह्न सम्म बार्ता जारी रहेतापनि टुंगोमा पुग्न नसकेकाले एकातिर डा.सिंहलाई माफी मगाउने प्रयास भएको थियो भने अर्कोतिर सरकारी सेना सिंहदरबार कब्जाका निम्ति अघि बढ्दै गरेका थिए । यहि बिचमा रक्षादलका केहि अफिसर र जवानहरु सरकारी सेनासंग मिलिसकेका थिए । सरकारी सेना सिंहदरबारमाथि आक्रमणका निम्ति अगाडि बढेपछि युद्ध अवश्यम्भावी थियो ।

दुवै पक्षबिच गोली चलेका खण्डमा राजधानीमा हजारौँ निर्दोष जनताको ज्यान जान सक्थ्यो । त्यस्तो स्थितीको कारकतत्व डा.सिंह नै बन्नु पथ्र्यो । राष्ट्रियताको जगेर्ना गर्दै प्रजातन्त्रको स्थापना गर्ने जस्ता बहुजनहिताय कार्यमा बाहेक सामान्य कारणका निम्ति सिंहले रगत बगाउन चाहँदैनथे । नेपाली कांग्रेस, राजा त्रिभुवन र डा.सिंहबिचको राजनीतिक बेमेलका कारण निर्दोष जनताको हत्या हुनुहुँदैन भन्नेमा उनको दृढता थियो ।

सम्भावित रक्तपातबाट जोगिने उपायको खोजी

सिंहदरबारमा एकत्रित भइ बसेका रक्षादललाई मध्याह्न १२ बजेतिर डा. सिंहले सरकारी सेनाका विरुद्ध लड्न थापाथलीमा जान निर्देसन दिँदै आफुपनि त्यसतर्फ गए । आधा घण्टापछि थापाथलीमा बसेपछि उनीहरुलाई लिएर सिंह त्रिपुरेश्वरमा गए । त्यस बखत सरकारी सेना नआएकाले कुनै अप्रिय घटना भएन । यहाँ बसिरहेका खण्डमा सरकारी सेनासंग लडाई हुन सक्छ जसको परिणाम दुःखद हुनेछ भन्दै अब उपत्यका छाड्नुनै उपयुक्त कदम हुने ठानेर आफ्ना अनुयायीलाई साथमा लिइ डा. सिंह बागमतिको किनारै किनार टेकु दोभानतर्फ गए । उनले त्यहाँबाट सबैलाई तिब्बततर्फ जाने जानकारी गराए । त्यस बखत डा. सिंहका साथमा नख्खुबाट मुक्त गरिएका लगायत ११६ जना अनुयायी थिए । डा.सिंह सो रात चोभार क्षेत्रमा बास बसे ।

जिवनको सुरक्षाका लागि तिब्बतको शरणमा

सिंहदरबार पछिको पहिलो बासमा डा.सिंहले आफ्ना अनुयायीलाई परिस्थितीको यथार्थ जानकारी गराएका थिए । भारतीय राजदुतकै कारण राजा त्रिभुवनसंग सम्झौता हुन नसकेको, सम्झौता नभएपछि उपत्यका बसिरहेका खण्डमा सरकारी फौजसंग लडाई गर्नुपर्ने, लडाइ भएमा उपत्यका रगतले भरिने भएकाले भाग्नु नै उत्तम विकल्प भएको र अबको लक्ष्य राजनीतिक शरणका निम्ति तिब्बत प्रवेश गर्नुु हुने बताए ।

त्यसैले अहिलेसम्म साथ दिएर त्यहाँसम्म जाने सबैलाई धन्यवाद दिँदै अबको बाटो झन गाह्रो, माघ महिनाको जाडो, खानपान एवं लत्ताकपडा र जुत्तासमेतको अभावमा हिमालय पार गर्नु सजिलो नभएको, तिब्बत पुग्नु अगावै खान नपाएर वा हिउँको कारण कतिपयको मृत्युपनि हुनसक्ने कुरा सम्झाउँदै चिन पुग्न सकिएपनि चाहेका दिनमा नेपाल फर्कन समेत नपाउने कुराको जानकारी गराएका थिए ।

उनले यस्तो अवस्थामा जो जसलाई आफ्नो साथ दिन मन लाग्दैन खुसीसाथ फर्केर जान आग्रह गर्दै निक्कै विचार गरेर मात्रै आफ्नो पछि लाग्न सबैलाई सम्झाएका थिए । ‘सबैका घरपरिवार, बालबच्चा होलान्, उनीहरुको माया ममताका कारण चिन्तित हुनुपर्ला, त्यसैले फर्कन चाहने फर्किहाल र जो आफ्नो स्वार्थभन्दा मातृभुमी कल्याणका निम्ति मर्न तयार छौ त्यस्ता मात्र मेरापछि लाग’ भनि उनले सबैलाई राम्रोसंग सम्झाउने काम गरे ।

त्यसपछि उनका साथमा चोभारसम्म आएका मध्ये पाँचजनाले तत्कालै स्पष्ट रुपमा अबभने साथ दिन नसक्ने बताएकाले उनीहरुलाई सो रात त्यहिँ राखेर अर्को दिन डा.सिंहले बिदा गरि बाँकी अनुयायीका साथ हिमालय पारिको यात्राका लागि काठमाडौं उपत्यका बाट अगाडि बढेका थिए ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations