बिशेस समाचार

नाजिर हुसेनलाई जीवन जीउन सिकाएका बसन्तपुरका तीन दिन

अन्तरवार्ता       ,

(नाजिर हुसेन रंगमञ्चका स्थापित कलाकार हुन् । चलचित्र ‘होस्टल रिटन्र्स’ बाट तारिफ र चर्चा बटुलेका हुसेनले हालसम्म एक दर्जन भन्दा बढि नाटक र करिब आधादर्जन फिल्ममा अभिनय गरिसकेका छन् । हुसेन अभिनित चलचित्र ‘गाँठो’ प्रदर्शनको तयारिमा छ भने उनी हाल नयाँ चलचित्र ‘ब्लाइन्ड रक्स’ को तयारीमा छन् । हुसेनसंग कला क्षेत्रमा उनले गरेको संघर्ष, उपलब्धी र उनको ब्यक्तिगत जीवनमा केन्द्रित रहेर नमस्ते पोस्टका लागि सरोज गुरागाईँमनोज खतिवडाले गरेको कुराकानीमा आधारित)

……र म यसरी आएँ नाटकमा

गाउँमा छँदा रेडियोमा बज्ने फिल्महरुले मलाई आकर्षित गर्थे । म दिन नबिराइ रेडियोमा बज्ने फिल्महरु सुन्ने गर्थेँ । मेरो गाउँमा एउटा नेपाली चलचित्र लाग्ने फिल्म हल थियो । त्यही हलमा मैले पहिलोपल्ट हेरेको नेपाली फिल्म थियो– दुई थोपा आँशु । ६ कक्षामा पढ्दाखेरी हामीलाई नाट्यकर्मी राजन खतिवडाले थियटरको ‘वर्कसप’ दिनुभएको थियो । त्यो वर्कसपले मलाई झनै भित्रैबाट उद्वेलित बनायो । आफुभित्र नयाँ उर्जा उत्पन्न भएको अनुभुति भएको थियो मलाई राजन दाईको ‘वर्कसप’ मा बसेपछि । वर्कसपपछि मैले थुप्रै सडक नाटकहरु गरें । त्यसपछि वरिपरीका गाउँमा मेरो लोकप्रियता एकाएक चुलियो ।

त्यसभन्दा अगाडि मलाई मिना दिदीको छोरा भनेर गाउँमा चिन्थे मान्छेहरुले तर सडक नाटक पछाडि चाहिँ मेरी आमालाई समेत ‘नाजिरको आमा’ भनेर चिन्न थाले । गाउँलेहरुले नाटकपछि त आफ्ना छोराछोरीलाई ‘नाजिर जस्तै हुनुपर्छ’ भन्न थाले । मलाई पनि ओहो ! म त ठूलै मान्छे भएँछु जस्तो लाग्न थाल्यो । मेरो सडक नाटक हेरेपछि मान्छेहरुले ‘नाजिरले खत्रा ग¥यो, हामीलाई तुरुक्कै रुवायो, पेट मिच्नेगरी हँसायो’ भन्न थाले । सबैको आकर्षणको केन्द्र हुन थालें म ।
मेरो बुवाले कविता लेख्नुहुन्थ्यो । मेरो भित्र कतै अवचेतनमा बुवाको कविताले गहिरो प्रभाव पारेको थियो जस्तो लाग्छ । त्यही कविता नै पो हो कि मलाई कला क्षेत्रमा ल्याउने पनि ? बुवा त्यो क्षेत्रको नामुद जादुगर समेत हुनुहुन्छ । बुवाले जादु देखाउन शुरु गरेपछि गाउँभरिका मान्छे ओर्लिन्थे जादु हेर्न । म बुवाको जादु शुरु हुनुभन्दा अगाडि नाच्ने गर्थेँ । तराईका गाउँमा जादुका कार्यक्रम हुँदा ६, ७ सय मान्छे भेला भइहाल्छन् । जादु अगाडी मैले नाचिसकेपछि मान्छेले गड्गडाहट ताली बजाउँथे । त्यसले पनि मलाई प्रेरणा दियो ।

मेरी दिदी स्कुलका कार्यक्रमहरुमा खुब नाच्नुहुन्थ्यो । उहाँकै सिको गरेर म पनि  स्कुलका कार्यक्रमहरुमा नाच्ने गर्थें । त्यही  नाच्ने हुटहुटीले तानेर मलाई काठमाडौं ल्याइपु¥यायो । म नाच सिक्नकै लागि काठमाडौं आएको थिएँ । काठमाडौं आएर मैले राजन खतिवडालाई भेटें । राजन सर मेरो बुवाको ठूलो फ्यान हुनुहुन्थ्यो । उहाँलाई मैले मण्डलामा नै भेटेको हो । मण्डलामा राजन सरसंगै सिर्जना सुब्बा, दयाहाङ राई पनि हुनुहुँदोरहेछ । उहाँहरुलाई मैले चिनेको थिइन । उहाँहरु भर्खरै लुटको सुटिङ सकेर बस्नुभएको रहेछ । ‘तिम्रो इच्छा के हो ?’– दया दाइले मलाई पहिलो प्रश्न सोध्नुभयो । मैले नाटक खेल्ने भनें । उहाँले केहि सोचेजस्तो गरेर, ‘नाटक त खेल्ने भन्छ यो केटो, तिम्रो इच्छा चाहिँ के हो’ भनेर फेरि सोध्नुभयो । मैले फेरिपनि नाटक खेल्ने हो दाइ भनेर उत्तर दिएँ । त्यसपछि राजन सरले दया दाइहरुकै अगाडि मलाई एउटा स्क्रीप्ट पढ्न दिनुभयो । मैले सर्रर स्क्रीप्ट पढें ।

त्यसपछि उहाँहरुले खासखुस गर्नुभयो । स्क्रीप्ट पढेपछि उहाँहरुले ‘दुई दिनपछि अभि सुवेदीको बुक लञ्च छ त्यसैदिन यो डायलग पढ्नु’ भनेर भन्नुभयो । त्यस कार्यक्रममा ‘पवनकली’ समेत कलाकार रहेको सुन्दा मलाई एकदमै खुसी लाग्यो । ‘बा ! मैले पनि पवनकलीलाई भेट्ने’ जस्तो भयो । उहाँको कार्यक्रम हामीले टिभीमा हेर्ने गथ्र्यौँ । त्यस लगत्तै नाटक ‘चरनदास चोर गरिने भइयो । झन् खुसी लाग्यो के के न हुने भयो भनेर । मेरो भुमिका गेटपालेको थियो त्यो नाटकमा । जम्माजम्मी एउटा डायलग थियो मेरो भागमा नाटक अवधिभर ।

त्यो तीनदिन जसले मलाई ज्युन सिकायो

नाटकमा आउन मेरो परिवारबाट मलाई कहिँ न कहिँ गाह्रो र चुनौति नै थियो । मैले पहिलो पल्ट यो कुरा भन्दैछु । संघर्षका दिनमा मैले तीन रात बसन्तपुरको मन्दिरमा बिताउनुपरेको थियो । भुकम्पले त्यो मन्दिर भत्कायो । मलाई एकदमै जान मन हुँदाहुँदै पनि कामको चापले मैले संघर्षका कठोर दिनमा तीनदिन बिताएको त्यो मन्दिर हेर्न पाइन ।  त्यो तीन रातले मलाई जिवन सिकायो । बाँच्नु र जिउनु फरक कुरा रहेछ । त्यो तिनदिनमा मैले बाँच्न होइन जिउन सिकें । त्यो बेला मैले मेरो परिवारबाट साथ पाइन । मेरो काठमाडौंमा आफ्नो कोहि पनि थिएन । मेरा लागि अलि बिरानो सहर थियो काठमाडौं । बसन्तपुरमा भौंतारिएर हिँडेका साँझ धरहरा नजिकको आकासे पुलबाट सडक हेर्न खुब मज्जा लाग्थ्यो । एकदुई घण्टा गाडीहरु जाममा परुन् र म मनलाग्दी त्यो आकाशेपुलबाट बाटोमा हिँडेका गाडीका बत्ति  हेरिरहुँ जस्तो लाग्थ्यो । गाडीका बत्तिमा खै कुन आकर्षण थियो तर त्यसले मलाई खुब तान्यो । त्यसो गर्न मलाई खुब आनन्द आउँथ्यो । बसन्तपुरको त्यो मन्दिरमा बास बस्न जानु अगाडि गाडीका बत्तिहरु हेरेर आफुलाई ‘फ्रेस बनाउँथे । म यहि कारणले त्यो तिनदिन बसन्तपुरमा बसें भनेर त सार्वजनिक रुपमा भन्न चाहन्न । त्यो म भित्र नै रहोस् । तर त्यही तीनदिनले मलाई अहिलेसम्म टिकाइरहेको छ ।

कला क्षेत्रमा आफुतिर तानिरहने अदृश्य शक्ति छ

म बिचमा नाटक, फिल्म सबै छाडेर बस्ने अवस्थामा पनि पुगें । तैपनि के ले तानेर ल्यायो ल्यायो । यो क्षेत्र छाड्नै सकिन । मेरो आमा बितेको केहि समयपछि परिवारबाट आएको केहि कुराले म करिब करिब यो क्षेत्र छाड्नै लागेको थिएँ । यो क्षेत्रसंगको धागो चुँडिनै लागेको थियो । छुट्टिसकेपछि पनि त्यहाँ के थियो कुन्नि म फेरि काठमाडौं आएँ र नाटकमा नै हराउन थालें । त्यो तानेर ल्याउने तागत के थियो मैले थाहा पाउनै सकेको छैन । यो कलामा एउटा त्यस्तो रहस्यमय जादुयी आकर्षण छ जस्ले टाढा हुनै दिँदैन यसमा छिरेकाहरुलाई । मृग विनाको सुगन्धमा भौंतारिएजस्तै हामी कलाकर्मीहरु पनि यसको भित्री सुगन्धले तानेर कलाबाट टाढा हुनै सक्दारहेनछौं । कस्तो भनें नाटक गर्दा हामी भित्रैबाट एकदमै खुसी भइरहेका हुन्छौं । नाटकको गहिराइमा डुबेपछि हामीलाई दुनियाँको मतलबै हुँदैन । ‘बाँकी संसार सबै तिम्रो लैजाउ हामी यसैमा हराउँछौं’ भन्ने टाइपको फिलिङ आउँछ । तपाईँसंग कुरा गर्दा म त्यो आनन्दलाई बर्णन गर्न सकिरहेको छैन । नाटक शुरु हुनु आधिघण्टा अगाडि थियटरमा बसेर गरिने दर्शकको पर्खाइ, साथीहरुसंगको ‘केमिष्ट्रि’ । त्यो जति आनन्द मलाई अरु केहि गर्दापनि आउँदैन ।

आमालाई सम्झिँदा

आमाको अभाव खड्किरहन्छ । मैले अभिभावकमा एकजना हुनुहुन्थ्यो जसलाई पनि गुमाएँ । आमा बित्दा म ‘सुनकेशरी’ नाटकको ‘रिर्हसल’ मा थिएँ । उहाँ जिवित हुँदा म यो क्षेत्रमा संघर्षकै क्रममा थिएँ । जम्माजम्मी दुईवटा नाटक मात्र गरेको थिएँ । मेरो गहिरो इच्छा थियो आमालाई मण्डलामा ल्याएर मैले गरेको नाटक देखाउने । आमाले मेरो सडक नाटकचाहिँ हेर्नुभएको थियो । नाटक हेरेपछि, ‘बाबु तेरो नाटक हेरेर एकदमै आनन्द आयो’ भनेर उहाँले भनेका शब्दहरु आजपनि मेरा कानमा गुञ्जिरहेका छन् ।

आमा बितेपछि पहिला म जसरी बाँच्थें आज अलि फरक भएको छ आमाबिनाको जिवन । आमाको यादले कहिलेकाँही अति सताउँछ पनि । ……ला ! अब के भनुँ मलाई भन्नै आएन  (यति भनेपछि नाजिरका गह भरिए ) । (उनी एकछिन बोल्नै सकेनन्)……आफुसंगै काम गर्ने कति सहकर्मी साथीले राम्रो काम गरेको देख्दा आमा भएरै त यति राम्रो काम गर्न सकेको होला जस्तोपनि लाग्छ । आमा भएको भए अझ राम्रो काम गर्न सक्थेंहोला जस्तो सधैं लागिरहन्छ ।  कहिलेकाँही उहाँको याद सम्हाल्नै नसक्ने गरि आइदिन्छ । (यत्ति भनेपछि भक्कानिएका नाजिर बोल्नै सकेनन् र हामीले पनि यसबारे कुनै कुरा गरेनौं ।

काममा कहिले काँहि धर्म आइदिन्छ

मैले गर्ने हरेक चरित्रमा कहीँ न कहीँ नाजिर हुसेन हुन्छ । चरित्र निर्माण गर्दा मैले भोगेको,  देखेको र सुनेको चरित्र नै बनाउने हो । चरित्र बनाउँदा म आफु सन्तुष्ट हुनुपर्छ । सन्तुष्ट नहुँदासम्म म कामै गर्दिन । होला म असामाजिक र अव्यवहारिक पनि बन्छु होला कहिले कहिले । समाजकै विरुद्धमा त होइन तर समाज संगसंगै पनि हिँड्न सक्दैनौं हामी कलाकर्मीहरु । कहिले कहिले हामीलाई अलि फरक गर्ने लहड चल्छ तर समाजले त्यो अस्विकार गरिदिन्छ । कहिलेकाँहि अराजक पनि बन्न पुगिन्छ । अलि लहड चलेको बेला, अराजक भएको बेला कामको सिलसिलामा आफ्नो छेउमा जतिसुकै ‘लिजेन्ड’ मान्छे भएपनि म बालै दिन्न । यहि अराजकताले मलाई अहिलेसम्म टिकाएको होला सायद । होइन भने धार्मिक रुपमा पनि यो क्षेत्र छाड्न दबाब आइरहेको हुन्छ ।

मलाई मेरो धर्म, संस्कृति र परम्परा एकदमै मनपर्छ । तर धर्मकै कारण तँ कला क्षेत्रमा हुनुहुन्न यदि कसैले भन्छ भने म त्यसलाई कुनै हालतमा पनि मान्दिन । मेरो परिवार धर्मप्रति अलि कट्टर नै छ । हजुरआमा, काका, काकीहरुले यो क्षेत्र छाडिदिए पनि हुन्थ्यो भन्नुहुन्छ । पैसा पनि आउँदैन, घरि टिका लाउँछ, घरि टुप्पी पाल्छ, घरी जनै लाउँछ भनेर विरोध जनाइरहनुहुन्छ । तर म यो क्षेत्र छाड्ने पक्षमा छैन । परिवर्तनका लागि समय चाहिन्छ । म त्यही समयको पर्खाइमा छु ।

फ्यान थरिथरिका

मेरा फ्यानचाहिँ अल्लि बढि पाका मान्छेहरु छन् । मेरो अनुहार, जिउडाल, स्टारडम भन्दापनि कामलाई हेरेर बनेका फ्यानहरु नै बढि हुनुहुन्छ । अलि पाका उमेरका बुवाआमा, गृहिणीहरु, कवि, लेखकहरु मेरा फ्यान हुनुहुन्छ । मेरा केटी ‘फ्यान’ पनि प्रशस्तै छन् । केटीहरुका म्यासेजहरु सामाजिक सञ्जालमा विशेष गरि फेसबुकमा आइरहन्छन् । प्रेम प्रस्तावपनि प्रशस्तै आउँछन् । अब त यससँग बानी परिसकें । आजसम्म मेरा फ्यानहरुले म प्रति देखाएको र मैले पनि एकदमै सम्झिरहने घटनाहरुमध्ये एकजनाले मलाई ‘पब्लिक किस’ गरेको घटना छ । ‘फ्यान’ हरुप्रति मेरो उच्च सम्मान छ । उहाँहरुकै कारण त आज म यो ठाउँमा छु ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations