बिशेस समाचार

विप्लवले क्रान्तिका लागि चौतर्फी पहल लिइरहनु भएको छ: ओली प्रचण्डलाई सम्मान होइन तिरस्कार गर्नुपर्ने अवस्था छ

अन्तरवार्ता       ,

प्रचण्डसँगको पहिलो भेट

प्रचण्डलाई मैले २०४६ सालमा काठमाडौंको न्युरोड नजिकै भुरुङखेलमा भेटेको थिएँ । २०४६ सालको जनआन्दोलनको प्रकृयामा नै उहाँसंग मेरो पहिलो भेट भएको हो । म त्यतिबेला त्रिभुवन विश्वविद्यालयमा पढिरहेको बिद्यार्थी थिएँ । बिद्यार्थी अवस्थामा नै केन्द्रिय सदस्य भएकाले उहाँसंग भेट भएको हो । पहिलो भेटमा प्रचण्डजीले मलाई असाध्य प्रभाव पनि पार्नुभएको थियो । प्रचण्डजीले पनि मेरो प्रशंसा गर्नुभयो त्यस भेटमा । त्यसबेला पार्टीमा उहाँको भुमिगत नाम विश्वास थियो । पहिलो भेटमा नै मलाई उहाँ डाइनामिक नेता लाग्यो । पार्टीका अन्य नेताको तुलनामा उहाँले नै नेपाली क्रान्तिलाई हाँक्नुहुन्छ भन्ने विश्वास समेत पैदा भएको थियो । जनयुद्धको थालनी गर्न र त्यसलाई अगाडि बढाउन पनि उहाँको महत्वपूर्ण हात रहेको छ । यसको जस उहाँलाई दिनैपर्छ । तर शान्ति प्रकृयामा आइसकेपछि उहाँचाहिँ पुरानै दलाल व्यवस्थाको हिमायति बनिनुभयो । आत्मकेन्द्रित व्यक्तिवाद उहाँको परिचय बन्न पुग्यो । त्यसैले १० बर्षे महान जनयुद्धको प्रचण्ड शान्तिप्रकृयापछि पुष्पकमल दाहालमा रुपान्तरित हुनुभयो ।

प्रचण्डलाई सम्मान होइन तिरस्कार गर्नुपर्ने अवस्था आएको छ

प्रचण्ड जसरी अहिले प्रधानमन्त्री हुनुभएको छ यसलाई मैले अल्लि फरक कोणबाट हेरेको छु । उहाँ अहिले क्रान्तिको प्रकृयाबाट प्रतिक्रान्तिको बाटोमा जानुभएको छ । परिवर्तन नभएको यथास्थितिवादी राज्यसत्ताको एउटा अंग सरकारमा उहाँ जानुभएको हो । नेपालमा क्रान्ति पुरा भएको अवस्थामा उहाँ प्रधानमन्त्री हुनुभएको थियो भने बधाई दिनु जायज हुन्थ्यो । दलाल पुँजिवादको पृष्ठपोषक भएर सरकारमा जानुभएकाले उहाँलाई सम्मान होइन तिरस्कार गर्नुपर्ने अवस्था आएको छ ।
प्रचण्ड व्यवहारवादी बाबुराम बितण्डतावादी

जनयुद्ध सम्पन्न भइसकेपछि सम्पूर्ण राज्यव्यवस्था परिवर्तन हुन्छ भनेर दशौं हजारले कुर्बानी दिएका हुन् । तर शान्तिप्रकृयामा आइसकेपछि करिब ८० प्रतिशत भु–भाग जित्ने हाम्रो जनसेना, जनसत्ता, जनमिलिसिया, प्रशासनलाई हटाएर पुरानै ब्यवस्थालाई स्वीकारियो । पुरानो ब्यवस्थालाई प्रयोग गर्ने होइन की त्यसमा लिप्त भएर लाग्ने काम भयो र दलाल अर्थव्यवस्थालाई नै स्वीकार्ने काम भयो ।

जब हामीले यो कुरा बुझ्यौँ त्यसपछि २०६५ सालबाट माओवादी आन्दोलनमा बिभाजनको क्रम शुरु भयो । प्रचण्डमा उदारवादी प्रवृत्ति देखा पर्न थाल्यो । उहाँ बिचारमै सम्झौता गर्नेगरि परिवर्तित हुनुभयो । हुन्न भन्न छाडेर जब उहाँले सबैकुरालाई हुन्छ भन्न थाल्नुभयो अन्तिममा दलाल पँुजिवादी ब्यवस्थालाई पनि उहाँले हुन्छ भन्नुभयो । त्यतिमात्र होइन उहाँले बिचार संश्लेषणलाई पनि ध्यान दिन सक्नुभएन । एकताका नाममा पार्टीलाई नै कमजोर बनाउने गरि प्रस्तुत हुनुभयो । बिहानदेखि बेलुका सम्म राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोहसंग भेट्न थाल्नुभयो । उहाँ उदारवादबाट अनुभववादमा फस्न पुग्नुभयो । अर्कोतिर बाबुराम भट्टराई चाहिँ बितण्डतावादमा फस्नुभयो । धेरै पढेको भनेर आफ्नो अध्ययनमा गर्व गर्दागर्दै नयाँ शक्ति भनेर बितण्डा मच्याउनुभयो । यो कुनै नयाँ होइन पुरानै शक्ति हो ।

उहाँहरु दुवैजनाले आत्मकेन्द्रित व्यक्तिवादलाई प्रश्रय दिएर माओवादी आन्दोलनलाई बिभाजित गरिदिनुभयो । उहाँहरुकै कारण आन्दोलन नै धराशायी भयो । संसदवादमा भासिनु, कमरेडले कमरेडको घाँटी रेटेर भएपनि सत्तामा पुग्न खोज्नुजस्ता प्रवृत्तिका कारण फुट र विभाजनले माओवादी आन्दोलनलाई क्षतविक्षत पा¥यो ।

हामी बास्तविक माओवादी हौं, उहाँहरु माओवादीको खोलमात्र

कम्युनिष्ट पार्टीभित्र पुरानो सत्ता र साम्राज्यवादका तावेदारहरु हावी भइसकेपछि या त आफु त्यहीँ बसेर कुहिनुप¥यो होइन भने त्यहाँबाट अलग हुनु जरुरी छ । त्यही प्रकृयामा हामी अलग भयौँ र हामीले के पनि बुझ्यौँ भने जो बचेका क्रान्तिकारीहरु छौं नयाँ बिचारको बिकास गर्न एक ठाउँमा जुट्नपनि सक्नुपर्छ । अब क्रान्तिकारीहरुको धु्रविकरणको प्रकृया पनि शुरु भएको छ । हाम्रो पार्टीको नेकपा माओवादी पार्टीसंग हुन लागेको एकता पनि ऐतिहासिक महत्वको छ । यसले हामी फुट्नमात्र होइन जुट्नपनि जान्दछौं भन्ने कुराको दृष्टान्त हो । केहि समयअगाडि प्रचण्डजीहरुले पनि एकता भनेर केहि समुहलाई जुटाउनुभएको थियो । तर हाम्रो र उहाँहरुको एकताबिच आकास जमिनको अन्तर छ । पहिलो फरक त हामी बास्तविक माओवादीहरु हौं उहाँहरुको चाहिँ माओवादी खोलमात्र हो । उहाँहरुमा भित्र संसदवाद, बाहिर माओवाद जो छ त्यो दुनियाँलाई भ्रमित पार्ने खेल हो । अहिले सरकारमा गएपछि उहाँहरुको मुखुण्डो च्यातिएको छ ।

दोश्रो उहाँहरुको शैद्धान्तिक विकास हुन सकेको छैन । आदर्शवाद वा बुर्जवाकरण भइरहेको छ उनीहरुको पार्टीमा । हामीले चाहिँ माक्र्सवादलाई अझ विकास गर्न खोजिरहेका छौँ । माओत्सेतुङको सन् १९७६ मा मृत्यु भइसकेपछि अथवा सन् १९७५ मा भियतनामले अमेरिकालाई नराम्रोसंग परास्त गरेपछि विश्वमा काँहिपनि क्रान्तिकारी आन्दोलनहरु सफल हुन सकेनन् । परास्त हुनुको कारणलाई हामीले कसरी मुल्यांकन ग¥यौं भने हामीले बिचारमा विकास गर्न सकेनौं तर साम्राज्यवादले बिचारमा विकास ग¥यो । साम्राज्यवाद र हाम्रो परेकै कहाँनेर हो भने उसले आफ्नो बचेखुचेको अस्तित्वलाई जोगाउन बिचारको विकास ग¥यो भने हामीले चाहिँ सकेनौं ।

उसले कम्युनिष्टहरुलाई भित्रैबाट फुटाउने र घुसपैठ गर्न थाल्यो । भियतनामबाट उसले के सिक्यो भने प्रत्यक्ष लडाईँले मात्र जित्न नसकिने रहेछ । कम्युनिष्टहरुले चाहिँ के सिके भने भियतनाममा त जितियो अन्त कहीँपनि हामीलाई कसैले हराउन सक्दैन । कम्युनिष्टहरुलाई चाहिँ अमेरिकालाई त जितियो अब कसलाई बाँकि राखिन्छ र जस्तोपनि लाग्न थाल्यो । त्यसैले यसबाट हामीले के सिक्न जरुरी छ भने माक्र्सवाद, लेनिनवाद र माओवादको बिकास गर्न आवश्यक छ । दोश्रोचाहिँ विश्वमा विज्ञान, प्रविधिको जो विकास भएको छ यसको प्रत्यक्ष सम्बन्ध उत्पादक शक्तिसंग जोडिएको छ । यतिबेला उत्पादक शक्ति तिब्र बनेको छ । त्यसैले हामीचाहिँ विचारको बिकास गर्न गइरहेका छौँ भने प्रचण्ड हरुचाहिँ बुर्जुवावाद मा भासिइसकेका छन् ।

संगठनात्मक रुपमा हामी क्रान्तिकारी पार्टी निर्माण गर्न चाहन्छौँ । लेनिनले १९१७ मा बोल्सेभिक क्रान्ति गर्दा दश जनाको केन्द्रिय कमिटी थियो । चिनमा माओत्सेतुङले क्रान्ति गर्दापनि सानो कमिटी नै थियो । यता प्रचण्डले पाँच हजारको केन्द्रिय कमिटी बनाउँदै छन् । त्यो कम्युनिष्ट पार्टी हो त ? उनले त ठूलो आमसभा गर्न खोज्दैछन् । उनीहरुले जनवादी केन्द्रियताका मुल्यमान्यता, विधानहरुलाई धोती लाएका छन् । यतापट्टि हामीले चाहिँ कम्युनिष्ट पार्टीलाई कसरी चुस्तदुरुस्त र क्रान्तिकारी बनाउने भनेर छलफल र अभ्यास गर्दैछौँ ।

राज्यसत्ता नै पल्टाउने प्रकृतिको क्रान्तितर्फ जाँदैछौं

नेपालमा निकट भविष्यमा नै ठूलो क्रान्तिको उभार आउनेवाला छ । पुरानो राज्यसत्ताका सिमाहरु छन् । जनताका समस्याहरु भयावह छन् । सुकुम्बासीलाई सरकारले हटाउन खोजिरहेको छ । प्रधानमन्त्रीदेखि मन्त्रीसंग राज्यको ढुकुटीमाथि ब्रह्मलुट गरिरहेका छन् । शासकहरु जनताको जिवनस्तरमा परिवर्तन गर्न चाहँदैछैनन् । सेना, प्रहरी र कर्मचारीहरुमा मनपरितन्त्र चलिरहेको छ । यी सारा कुराहरुले जनतालाई उकुसमुकुस भएको अवस्था छ । आम जनता कंगाल हुने र मुट्ठीभरका व्यक्तिहरु मालामाल हुने अवस्था छ । युवाहरु बेरोजगार भएर प्रतिदिन १५ सय  को हाराहारीमा विदेश जान बाध्य छन् । देशमा दलालहरु बढिरहेका छन् । यो अवस्थामा हामी के मा केन्द्रित हुन जरुरी छ भने दलाल पुँजिको अन्त्य गरेर राष्ट्रिय पुँजीको कसरी विकास गर्ने ? दलाल पुँजिवादी ब्यवस्था पल्टाएर जनसत्ता कसरी स्थापना गर्ने ? त्यसैले हाल राज्यसत्तामा बस्नेहरुको चरित्रले संकट निम्त्याएको छ । साम्राज्यवादका पनि तिनथरी एजेन्टहरु नेपालमा सक्रिय छन् । एकथरी अमेरिकाका एजेन्टहरु छन्, अर्को भारतका एजेन्टहरु र तेश्रो चाहिँ युरोपियन युनियनका एजेन्टहरु । यिनैको स्वार्थ नमिलेका कारण नेपालमा बारम्वार सरकार परिवर्तनको खेल भइरहन्छ । अहिले मोदी गुट नेपालमा हावी छ उसैका एजेन्टहरु सरकारमा हावी हुन खोजिरहेका छन् । यस्तो किसिमको अवस्थामा क्रान्ति सम्भव छ । किनभने यो दलाल पुँजिवादका मठाधिशहरुले हल गर्ने समस्या होइन यो त कम्युनिष्टहरुले हल गर्ने समस्या हो । त्यसका लागि सुधारात्मक तरिकाले हुँदैन बरु राज्यसत्ता नै पल्टाउने प्रकृतिको क्रान्तिको आवश्यकता हुन्छ । हामी त्यतैपट्टि जाँदैछौं ।

जिते संसार हारे गोली

यहि राजनीति गर्ने हो भने तपाईँसंग धन चाहिन्छ । क्रान्तिकारीसंग जिते संसार हारे हतकडी न हो । हामीले हारे पाउने गोली न हो । जिते फेरि संसार हुन्छ । ठूलो उभारसहितको क्रान्ति गर्न नेपाली जनता बाध्य हुँदैछन् । दुनियाँको मुक्तिका लागि बलिदान जबर्जस्ति दिने कुरा होइन बरु बलिदान दिन रहर लाखौँमा जागृत हुन्छ । कमरेड बिप्लवले अहिले जसरी साहस गरिराख्नु भएको छ, उहाँले सबैतिर पहल गरिरहनुभएको छ । बिचारधारात्मक रुपमा पनि अर्थतन्त्रलाई बुझ्ने र बदल्ने हिसाबमा पनि र संघर्षको विकास गर्ने हिसाबले पनि चौतर्फी रुपमा उहाँले पहलकदमी लिइराख्नुभएको छ । त्यसमा हामी सबैले सहयोग गर्नुपर्छ र धु्रविकरणको प्रकृया तिब्र हुनुपर्छ भनेर महशुस गरेर नै हामी पनि उहाँहरुसंगै मिसिएका छौं । मुक्ती आन्दोलनमा लाग्ने बिषय रहर नभइ बाध्यतापनि हुँदोरहेछ ।

बुर्जुवा किसिमले नै प्रतिस्पर्धा गर्ने हो भने त प्रचण्ड नै हुनुहुन्छ नि वा कांग्रेसमै गए भइहाल्यो नि । त्यसैले हामी जिवनशिल प्रकृयामा छौं । मानिसहरु यो प्रकृयामा लाग्न अन्तत्वगत्वा बाध्य हुन्छन् । एउटा उदाहरण दिउँ तपाईँलाई रुकुम रोल्पामा मान्छेहरु शुरुमा कांग्रेस थिए । पन्ध्र जनालाई रुकुमको खारामा लाइन लगाउँदा सबैले कांग्रेसको कार्ड देखाएका थिए । तर पन्ध्रै जनालाई कांग्रेसको कार्ड देखाउँदापनि सुताइयो । कार्डको मतलब नै भएन । उनीहरु त जनता थिए, उत्पीडित मान्छे थिए । यसको अर्थ के हो भने हामीले हाम्रो बर्गको रक्षा गर्न हामी आफैं तम्तयार भएर अगाडि लाग्नुपर्छ । हिजो माओवादीमा लामबद्ध भएका प्रशिक्षित युवाहरु विदेश पलायन भएका छन् । तीनले आफ्नो वर्ग सम्झनेवाला छन् र ती फेरि क्रान्तिका लागि फर्केर आउनेवाला छन् ।

(हेमन्तप्रकाश ओली ‘सुदर्शन’ कम्युनिष्ट न्युक्लियसका अध्यक्ष हुन् । मंगलबार ओली नेतृत्वको पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी पार्टीसंग औपचारिक रुपमा एकता हुँदैछ । यहि विषयमा केन्द्रित रहि नमस्ते पोस्टका लागि सन्तोष भट्टराईले गरेको कुराकानीमा आधारित)

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations