बिशेस समाचार

नेपाली चलचित्रमा अनमोल भाइबाहेक अरु स्टार देख्दिनः रोज राणा

अन्तरवार्ता       ,

(चर्चा र विवादका पर्यायवाची हुन्– रोज राणा । कहिले काठमाडौंमा चलचित्र निर्माता संघको चुनावमा लड्ने त कहिले प्युठान पुगेर नेपाली कांग्रेसको क्षेत्रिय सभापतिको उमेद्वार बन्ने राणा करिब चार पाँच बर्षको अन्तरालपछि नयाँ फिल्म ‘जय परशुराम’ लिएर आएका छन् । उनै राणासंग बागबजारस्थित उनकै रेष्टुरेन्टमा पुगेर नमस्ते पोष्टका लागि सरोज गुरागाईँले गरेको कुराकानी)

तपाईँको परिचय के हो ?
म एउटा नेपाली नागरिक हुँ । नेपाली नागरिकले कानुनको दायराभित्र रहेर गर्न मिल्ने काम, पेसा, व्यवसाय गर्ने रोज राणा नै मेरो परिचय हो ।

तपाईँ विभिन्न क्षेत्रमा लागेर पनि होला, कुनै एउटा क्षेत्रमा निरन्तरता दिन सक्नुभएन भन्ने आरोप छ नी ?

यो मान्छेले नबुझेको कुरा हो । म २०६२ सालदेखि निरन्तर चलचित्रमा लागेको छु । यसरी हिसाब गर्दा दश बर्ष भइसकेछ । अहिले मेरो सातौँ चलचित्र ‘जय परशुराम’ रिलिज भएर देशैभरका हलहरुमा चलिरहेको छ । राजनीतिको कुरा गर्दा म विद्यार्थी कालदेखि नै ने.वि संघको राजनीति गर्दै आएको व्यक्ति हुँ ।

अहिले पनि नेपाली कांग्रेसको प्युठान क्षेत्र नं २ को क्षेत्रिय सभापति निर्वाचित भएर काम गरिरहेको छु । मेरो व्यवसायको कुरा गर्दा निरन्तर चलिरहेकै छ । कतिपय चिज कस्तो हुन्छ भने कहिलेकाँही मिडीयाले बढि ‘फलो’ गरिदिन्छ । ‘इस्यु’ यस्तो आइदिन्छ कि मिडीयाबाट टाढा रहन्छु भन्दा पनि सकिँदैन । बिचको अवधिमा पारिवारिक योजनामा पनि लागें । त्यसले मिडीयामा कभरेज नहुँदा रोज राणा हरायो की भन्ने आम दर्शकलाई लागेको होला । तर त्यस्तो होइन । अहिले पनि म चलचित्र निर्माता संघको उपाध्यक्ष, नेपाली कांग्रेसको क्षेत्रिय सभापति छु । ब्यापार चलिरहेकै छ । यो ‘फुलको आँखामा फुलै संसार’ भनेजस्तै हो ।

तपाईँको जिवन बढि सार्वजनिक हो कि व्यक्तिगत ?

अरुको तुलनामा मेरो जिवन सार्वजनिक नै हो तर कतिपय कुरा व्यक्तिगत पनि हुन्छ । जुन सार्वजनिक गर्नु नपरे हुन्थ्यो जस्तो लाग्छ । कहिलेकाँही ति पनि सार्वजनिक भइरहेका छन्, हुँदारहेछन् । कलाकार हुनासाथ सबैकुरा सार्वजनिक हुनैपर्छ भन्ने मलाई लाग्दैन ।

रोज राणा भुमिगत व्यक्ति हो भन्छन् नि बजारमा ?

मलाई निर्माता संघको कार्यालयमा भेट्न सक्नुहुन्छ । मेरो रेष्टुरेन्ट यहिँ बागबजारमा छ, आउनुभयो भने यतै भेट्नुहुन्छ । नेपाली कांग्रेसजस्तो ठूलो पार्टीको क्षेत्रिय सभापतिको हैसियतले पार्टीको सबैजसो बैठकहरुमा छु । भनेपछि म कसरी भुमिगत हुन सक्छु र ? एउटा चिज के हो भने पछिल्लो समय चलचित्र सम्बन्धि हरेक कार्यक्रममा म उपस्थित हुने गरेको छैन । यसको आफ्नै कारण छ । म जहाँ उपस्थित हुन्छु त्यहाँ ताली बजाउन मात्र जाँदिन । मेरो अस्तित्व वा उपस्थितिका पछाडि केहि कारण हुनुप¥यो । अरुको जस्तो म पार्टीमा चिया खानकै लागि जाँदिन । यो मेरो आफ्नो स्वभावको कुरा हो । सायद यो गलत पनि हुन सक्ला । जहाँ मेरो उपस्थितिले केहि महत्व राख्छ  त्यहाँ मात्र मेरो उपस्थिति हुन्छ । यसरी हेर्दा मान्छेहरुले भन्लान् की मलाई भुमिगत भयो, तर त्यो सोचको कुरा मात्र हो ।

तपाईँलाई आरोप छ नि कलाकारितालाई प्रयोग गरेर राजनीति गर्न चाहनुहुन्छ भन्ने ?

त्यसलाई यसरी भनौँ न प्रयोग नै त होइन म संग भएको ‘गुडविल’ लाई म सदुपयोग गर्न चाहन्छु । यसलाई मेरो क्षमता भन्नुप¥यो । जुन क्षेत्रले मलाई रोज राणा बनायो त्यसमा म जिवन भर लागिनै रहन्छु । अर्कोतिर म विद्यार्थी कालदेखि नै राजनीतिमा लागेको मान्छे मैले राजनीति नगर्ने भन्ने आउँदैन । अनि मलाई क्षेत्रिय सभापतिमा चलचित्रका साथीहरु गएर भोट हालेको पनि होइन । म त नेपाली कांग्रेसको एउटा योद्धा भनेर जितेर आएको हुँ । आफुसंग भएको क्षमतालाई आवश्यक ठाउँमा सदुपयोग गर्नुपर्छ भन्ने लाग्छ । यो त विश्वव्यापी प्रचलन हो । यसमा म खुसी नै छु ।

तपाईँलाई पैसाको सान देखाउँछ भन्छन् नि ?

मैले निर्माता बनेर चारवटा फिल्म बनाएँ । दुईवटामा मैले नायक बनेर खेलें । एउटा सफल भयो अर्को असफल । केहि समय ग्याप रह्यो । अहिले पछिल्लो समय निर्माता र निर्देशक आफैँ बनेर ‘जय परशुराम’ बनाएको छु । जुन राम्रै चल्ने अपेक्षा गरिएको छ । अरु कसले कहाँ के भन्छ मलाई सबै थाहा हुँदैन । पैसा भन्ने चिजको त म संग उत्तर छैन । मैले टिकट किनेको छैन, भोट किनेको छैन ।

नेपाली चलचित्रमा अघिल्लो पुस्ता र अहिलेको पुस्तामा के फरक पाउनुहुन्छ ?

चलचित्रमा स्टार चाहिन्छ तर पछिल्लो समयमा आएर मैले अनमोल भाइ बाहेक अरुलाई स्टार मान्दिन । यो कुरा कतिलाई पच्ला कतिलाई नपच्ला । हिजोका दिनमा निखिल उप्रेती, विराज भट्ट हुँदाखेरी जब सिनेमामा हस्ताक्षर गरिन्थ्यो हलले फोन गर्थे ‘कति पैसा पठाइदिउँ सर’ भनेर । पहिलो दुईतीन दिन आँखा चिम्लिएर हल भरिन्थ्यो । त्यो स्टारडम हो अहिले जसलाई लिनोस् त्यो सब ‘रिक्स’ मा हो । सिनेमा भनेको ‘लार्जर देन लाइफ’ हो । यो परिकल्पना हो ।

फिल्म ‘लार्जर देन लाइफ’ भन्दा पनि ‘रिफ्लेक्सन अफ लाइफ’ हुनुपर्छ भन्ने लाग्दैन ?

मैले शिक्षा दिनुप¥यो भने विद्यालय खोल्छु । फिल्म भनेको नितान्त ब्यवसाय हो । यो पैसा कमाउनका लागि नै हो । जसरी पैसा कमाउन सकिन्छ त्यस्तै फिल्म बनाउने हो । यो मेरो व्यक्तिगत धारणा हो । कोहि सहमत होलान् कोहि नहोलान् त्यसमा मेरो भन्नु केहि छैन ।

नेपाली चलचित्र जगतमा पहिलेको भन्दा अहिलेको अवस्थामा के सुधार भएको देख्नुहुन्छ ?

अहिले टिकट रेटहरु बढेको छ । देशभरी चल्यो भने राम्रो पैसा आउन सक्ने देखिन्छ । पहिलेको भन्दा आशलाग्दो र सुधारोन्मुख अवस्था छ ।

नेपाली चलचित्र विकासका लागि सरकारले के गरोस् भन्ने चाहनुहुन्छ ?

आज हेर्नुस् चारआना जग्गा किन्नुप¥यो भने एकआनाको पैसा भए बाँकी तीन आनाका लागि बैंकले लगानी गर्छ । तर दुईकरोड लगानीमा फिल्म बनाउँदा कसैले एक रुपैँया लगानी गर्न चाहँदैनन् । चलचित्र उद्योगलाई उद्योगका रुपमा लिइएकै छैन । यसमा राज्यले ध्यान दिनुपर्छ ।

रोज राणालाई जिवनको अन्तिममा के भनेर चिन्न सकिन्छ होला ?

त्यो त मैले भन्न सक्दिन ।  तपाईँले रोज राणा भनेर चिन्न सक्नुहुन्छ अरु त के–के भइन्छ । आज जहाँ छु त्यो मैले सोचेको थिइन । कुनै समय मैले चलचित्रमा लागौँला भनेर सोचेकै थिइन । विदेश जाने योजनामा थिएँ । मान्छे न हो भोली कहाँ के अवरोध आउँछ भन्न सकिन्न ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations